काठमाडौँ । नेपाली टाइपोग्राफर तथा डिजाइनर प्रशान्त पन्तले बनाएको ‘माताङ्गी’ फन्ट गुगल फन्ट्समा उपलब्ध भएको छ । शुक्रबारदेखि सो फन्ट औपचारिक रूपमा गुगल फन्ट्समा उपलब्ध भएको हो ।

यो नै गुगल फन्ट्समा सूचीकृत हुने नेपालबाट डिजाइन तथा निर्माण गरिएको पहिलो भेरिएबल फन्ट भएको पन्तको दाबी छ । “यो नेपालबाट गुगल फन्ट्समा उपलब्ध भएको पहिलो भेरिएबल फन्ट हो,” पन्तले टेकपानासँग कुरा गर्दै भने, “यसलाई आवश्यकता अनुसार विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ ।”
भेरिएबल फन्ट भनेको एउटै फन्ट फाइलभित्र धेरै स्टाइल (जस्तै पातलो, मोटो, फराकिलो, साँघुरो, इटालिक आदि) राख्न मिल्ने फन्ट हो । यसले गर्दा फरक-फरक स्टाइलका लागि छुट्टाछुट्टै फन्ट फाइल राख्नु नपर्ने हुन्छ । एउटै फन्ट फाइल प्रयोग गरेर आवश्यकता अनुसार मोटोपना, चौडाइ वा झुकाव सजिलै मिलाउन सकिन्छ ।
यस फन्टलाई विश्वभरका प्रयोगकर्ताले निःशुल्क डाउनलोड तथा प्रयोग गर्न सक्नेछन् । सार्वजनिक भएको दुई दिनमै यो फन्टले विश्वव्यापी चर्चा कमाएको छ । हालसम्म २ लाख ७२ हजार पटकभन्दा बढी डाउनलोड भइसकेको यो फन्ट गुगल फन्ट्सको ट्रेन्डिङको दोस्रो नम्बरमा परेको छ ।

फन्ट डिजाइनर पन्तका अनुसार उनले सन् २०१९ देखि यो फन्ट निर्माणको यात्रा सुरु गरेका थिए । गुगल फन्ट्सको कडा मापदण्ड पूरा गर्न लामो समय लागेको उनले बताए । “गुगल फन्ट्समा सूचीकृत हुन नेपाली (देवनागरी) लिपि मात्र भएर पुग्दैनथ्यो,” पन्तले भने, “यसमा संस्कृत, मराठी लगायत ४०० भन्दा बढी अन्य भाषाहरूलाई पनि सपोर्ट गर्ने बनाउनु पर्यो । यसका लागि करिब १,७०० भन्दा बढी क्यारेक्टर डिजाइन गर्नु पर्यो ।” यो सबै प्रक्रिया पूरा गरिसकेपछि हालै मात्र फन्ट औपचारिक रूपमा उपलब्ध भएको हो ।
गुगलको कपीराइट नीति निकै कडा हुने भएकाले फन्ट सूचीकृत हुनका लागि पृथक् नाम हुनुपर्छ । हिन्दु धर्ममा आस्था राख्ने पन्तले ‘माताङ्गी’ देवीलाई समर्पण गर्दै फन्टको नाम राखेको बताए । हिन्दु धर्म अनुसार गाढा हरियो वा नील वर्णकी माताङ्गी देवी उग्र वा रहस्यमय स्वरूपकी मानिन्छिन् ।
पन्त ‘द ग्राफिक एन्ट’ नामक आफ्नो स्टुडियोमार्फत फ्रिल्यान्स डिजाइनरको रूपमा काम गर्छन् । “कुनै बेला हामी नेपालीहरू देवनागरी फन्टका लागि अन्य देश, विशेषगरी भारतको गुगल फन्टमा भएको योगदानको प्रशंसा गर्थ्यौँ,” उनले भने, “आज हाम्रो पनि एउटा सानो फन्ट उनीहरूको छेउमा उभिन पाएकोमा निकै खुसी लागेको छ ।”
ओपन फन्ट लाइसेन्स अन्तर्गत उपलब्ध यो फन्ट जोकोहीले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि निःशुल्क प्रयोग गर्न सक्नेछन् । पन्तले यस सफलताले नेपालमा टाइपोग्राफी र टाइप डिजाइनको क्षेत्रमा थप ऊर्जा मिल्ने र भविष्यमा नेपालबाट अझ धेरै फन्टहरू गुगलमा सूचीकृत हुने आशा व्यक्त गरेका छन् । फन्ट डाउनलोड गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । यसअघि पन्तले वैदेही, षोडशी, ऐक्य, कामाक्षी, उग्रतारा, त्रिपुरा, पूर्णागिरि, कात्यायनी लगायतका फन्ट ल्याइसकेका छन् । यी फन्ट भने पन्तको वेबसाइटमा उपलब्ध छन् ।
पछिल्लो अध्यावधिक: असार १, २०८२ १९:१६
सामाग्री श्रोत :
टेक पाना