काठमाडौँ । सामाजिक सञ्जाल टिकटक प्रयोग गरी प्रतिष्ठित व्यक्ति तथा संस्थाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले खोटाङ घर भई हाल भक्तपुरमा बस्दै आएकी ३१ वर्षीय रमा बस्नेतलाई आइतबार पक्राउ गरेको हो ।

ब्युरोका अनुसार आरोपित बस्नेतले टिकटकमा नियमित र नियोजित रूपमा जातीय तथा साम्प्रदायिक भावना भड्काउने सामग्री पोस्ट गर्दै आएकी थिइन् । उनले विभिन्न प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषय उठान गरेर समाजमा नकारात्मक धारणा फैलाउने र चरित्र हत्या गर्ने गरेको ब्युरोको आरोप छ ।
सामाजिक सञ्जालमा भ्रामक र द्वेषपूर्ण सामग्रीबारे उजुरी परेपछि ब्युरोले प्राविधिक विश्लेषण र अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा बस्नेतको संलग्नता खुलेपछि ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई भक्तपुरबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी बस्नेत विरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा हिरासतमा राखी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ । रमा बस्नेतको टिकटकम प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल विरुद्ध तथा रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेनको पक्षमा बनाएका भिडिओहरू देख्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार १, २०८२ १८:२१
सामाग्री श्रोत :
टेक पाना