काठमाडौँ । ५५ वर्षअघि चीनको हुबेई प्रान्तमा जन्मिएका लेई जुनको पारिवारिक अवस्था निकै कमजोर थियो । शिक्षक रहेका उनका बुबाले त्यतिबेला महिनामा १७.२२ युआन अर्थात् अहिलेको बजार अनुसार नेपाली १० हजार हाराहारी) कमाउँथे । यो तलबले उनको घरखर्च मुस्किलले चल्थ्यो । त्यही बेलादेखि इलेक्ट्रोनिक्स काममा रुचि भएका लेईले विभिन्न सामग्री जम्मा गरेर बल्ब बनाए । उनैले बनाएको बल्बले पहिलो पटक घरमा उज्यालो छायो ।

आज तिनै लेईले निर्माण गरेको कम्पनी साओमीले विश्वलाई नै उज्यालोतर्फ लम्काइ रहेको छ । एक समय विश्वमा मोबाइल बजार केही स्थापित कम्पनीको कब्जामा थियो । त्यहाँ नयाँ खेलाडी सायदै जन्मिन्छ भन्ने ठानिन्थ्यो । तर, यिनै दूरदर्शी लेई जुनले प्रविधिको दुनियाँमा एउटा नयाँ क्रान्तिको जग बसाले । उनले स्थापना गरेको साओमी (Xiaomi) आज विश्वको ठुलो र सफल स्मार्टफोन निर्माता कम्पनीमध्ये एक हो । एप्पलले स्मार्टफोन क्रान्तिको सुरुवात गरे पनि प्रयोगकर्तामैत्री सुविधा र सर्वसुलभ मूल्यका कारण साओमीले करोडौंको मन जितेको छ । यो कथा शून्यबाट अर्बौं डलरको साम्राज्य खडा गर्ने एक व्यक्तिको सङ्घर्ष, कडा परिश्रम र सफलताको प्रेरणादायी यात्रा हो । उनै लेईलाई आज ‘चीनका स्टिभ जब्स’ भनेर चिनिन्छ ।
लेई जुनको जन्म १६ डिसेम्बर १९६९ मा चीनको सियान्ताओ सहरमा भएको थियो । उनको बाल्यकाल औद्योगिक सहर वुहान नजिकै कठिनाइमा बित्यो । बुबामात्रै होइन कुनैबेला आमा पनि शिक्षक थिइन् । चीनको सांस्कृतिक क्रान्तिपछि शिक्षक पेसालाई एक अपमानित पेसा मानिन्थ्यो । बुबाको मासिक तलब जम्मा ७ डलर भए पनि उनले लेईको इलेक्ट्रोनिक्सप्रतिको रुचिलाई सधैं प्रोत्साहन गरे । बाल्यकालदेखि नै लेईलाई रेडियो जस्ता उपकरण खोल्ने र जोड्ने काममा गहिरो लगाव थियो । उनले केवल दुई ओटा ब्याट्री, एउटा बल्ब, केही तार र आफैँले बनाएको काठको बक्स प्रयोग गरेर आफ्नो समुदायमा पहिलो बिजुली बत्ती बनाएका थिए ।
यही असाधारण प्रतिभा भएका लेईले सन् १९९१ अर्थात् २२ वर्षको उमेरमा वुहान विश्वविद्यालयबाट चार वर्षको कम्प्युटर विज्ञानको डिग्री प्राप्त गरे । चार वर्षको यो डिग्री उनले केवल दुई वर्षमै पूरा गरेको बताइन्छ ।

कलेज पढ्दादेखि नै उनी एप्पलका सह-संस्थापक स्टिभ जब्सबाट अत्यन्तै प्रभावित थिए र विश्वस्तरको कम्पनी बनाउने सपना देख्थे । उनलाई उद्यम र स्टिभ जब्सको व्यक्तित्वप्रति रुचि बढाउने पुस्तक हो ‘फायर इन द भ्याली’ ।
न्युयोर्क टाइम्ससँग कुरा गर्दै लेईले खुला रूपमा आफू ‘फायर इन द भ्याली’ पुस्तक, त्यसमा पनि स्टिभ जब्सबाट निकै प्रभावित भएको बताएका छन् । यो पुस्तक मुख्यगरी पीसी (पर्सनल कम्युटर) उदयसँग सम्बन्धित छ । कसरी पीसी युग सुरु भयो, अनि त्यसमा एप्पल र माइक्रोसफ्टको भूमिका के छ भन्ने विषयमा यसमा उल्लेख छ । साथै बिल गेट्स र स्टिभ जब्स जस्ता प्रविधि क्षेत्रका दिग्गज व्यक्तिको रणनीति खुलाइएको छ । लेई यी दुई व्यक्तित्व त्यसमा पनि बढी स्टिभ जब्सबाट प्रभावित भएका थिए । यतिसम्म कि उनी साओमीको कुनै फोन सार्वजनिक गर्दा प्रायः स्टिभ जब्सकै शैलीमा सार्वजनिक गर्छन् ।
आफ्नो करियरको सुरुवात उनले सन् १९९२ मा चिनियाँ सफ्टवेयर कम्पनी किङ्गसफ्टमा इन्जिनियरको रूपमा गरे । कडा परिश्रम र क्षमताका कारण उनी त्यहाँ आवद्ध भएको झन्डै छ वर्ष अर्थात् सन् १९९८ मा कम्पनीको सीईओ बन्न सफल भए । कम्पनीको नेतृत्व गर्ने जिम्मेवारी पाएका लेईले सन् २००७ मा कम्पनीलाई हङकङ स्टक एक्सचेन्जमा सफलतापूर्वक सूचीकृत गराए । यसैबिच उनले सन् २००० मा जोयो डटकम (joyo.com) नामक अनलाइन पुस्तक पसल स्थापना गरे । यसलाई पछि सन् २००४ मा सात करोड ५० लाख अमेरिकी डलरमा अमेजनलाई बेचे । किङ्गसफ्ट छाडेपछि उनी यूसी वेब र वाईवाई (YY) जस्ता कम्पनीमा लगानी गरेर एक सफल लगानीकर्ताको रूपमा पनि चिनिए ।
४० वर्षको उमेरसम्ममा एक सफल व्यवसायी र लगानीकर्ता बनिसके पनि लेई जुन आफ्नो सबैभन्दा ठुलो सपना पूरा गर्न चाहन्थे । त्यो हो- एप्पल र सोनी जस्तो विश्व बजारमा प्रभाव पार्ने विश्वस्तरीय चिनियाँ कम्पनी निर्माण गर्ने ।
बजारको आवश्यकता बुझ्न सक्ने खुबी भएका लेईले स्मार्टफोनको बजारमा एउटा ठुलो अवसर देखे । त्यतिबेला एकातिर एप्पल र सामसङ जस्ता अत्यन्तै महँगा फोन थिए भने अर्कोतिर चीनमा बनेका कम गुणस्तरका सस्ता फोनहरू थिए । चीनमा बनेका ग्याजेट्सलाई प्रायः मजाक उडाइन्थ्यो । कमजोर गुणस्तरका फोन निर्माण गरे पनि चिनियाँ बजारले स्मार्टफोन चलाउन चाहने मानिसहरूको माग केही हदसम्म पूरा गरेको थियो ।
अर्थात् राम्रो गुणस्तर र उचित मूल्यको स्मार्टफोनको माग पूरा गर्ने कोही थिएन । यही खाडल पुर्नका लागि उनले सन् २०१० मा अन्य छ जना साझेदारहरूसँग मिलेर साओमी स्थापना गरे । यसमा गुगलका पूर्व कार्यकारी लिन बिन पनि थिए ।
साओमीको रणनीति परम्परागत कम्पनीहरूको भन्दा बिल्कुलै फरक थियो । फोन बनाउनुअघि उनीहरू सफ्टवेयरमा ध्यान केन्द्रित भए । १६ अगस्ट २०१० कम्पनीले एन्ड्रोइडमा आधारित आफ्नै अपरेटिङ सिस्टम मियूआई लन्च गर्यो । यो गुगलको एन्ड्रोइडभन्दा बढी फिचर र राम्रो युजर एक्सपिरियन्स दिन डिजाइन गरिएको थियो । मियूआई तत्कालै यति हिट भयो कि, यसले साओमीलाई फोन सार्वजनिक हुनुअघि नै लाखौंको प्रयोगकर्तामाझ लोकप्रिय बनाइदियो । उनीहरूको व्यापार मोडेल सरल थियो । उनीहरू ठुला ब्रान्डले जस्तै उच्च गुणस्तरका सामग्री प्रयोग गर्ने तर बिचौलिया हटाएर अनलाइन माध्यमबाट सीधै उपभोक्तालाई बेच्ने । त्यस्तै विज्ञापनमा पनि उनीहरूले फरक रणनीति अपनाए । खर्चिलो तरिकाले विज्ञापन नगरी उनीहरू सामाजिक सञ्जालमा ग्राहकसँग अन्तरक्रिया गर्न थाले । यसले गर्दा ग्राहकलाई कम्पनीप्रति झनै विश्वास बढ्दै गयो । उता कम्पनीले पनमि आफ्ना लोयल ग्राहक पाउने भयो ।
अगस्ट २०११ मा साओमीले आफ्नो पहिलो स्मार्टफोन एमआई वन अनलाइन सार।वजनिक गर्यो र यसले बजारमा तहल्का नै मच्चायो । यतिसम्म कि साओमीका संस्थापक लिई फोन लिएर बाटोमा हिडिरहेका मान्छेलाई त्यसबारे जानकारी दिन थाले । सुरुवाती समयमा यसबारे थाहा नपाएका मान्छेलाई बुझाउन उनलाई सकस नै परेको थियो ।
तर फोन निम्न तथा मध्यम वर्गीय मानिसहरूमा केन्द्रित थियो । सस्तो फोनमा आकर्षिक फिचर उपलब्ध गराएको थियो । त्यसैले पनि अनलाइनमा साओमी हिट भयो । त्यसपछिका वर्षहरूमा साओमीले पछाडि फर्केर हेर्नुपरेन । सन् २०१४ मै साओमीको बजार भ्यालु ४६ अर्ब अमेरिकी डलर पुग्यो । यो त्यतिबेलाको सबैभन्दा मूल्यवान स्टार्टअप थियो । २०१४ को अप्रिलमा साओमीले १२ घण्टाभित्र २१ लाख युनिट फोन बिक्री गरेको थियो । त्यतिबेका एक दिनमा अनलाइनबाट सबैभन्दा बढी फोन बिक्री गर्ने रेकर्ड पनि साओमीले राखेको थियो । साथै साओमी चिनकै सबैभन्दा शीर्ष स्थानको स्मार्टफोन निर्माता कम्पनी बनेको थियो ।
त्यसपछिका वर्षमा एमआई टु, एमआई थ्री जस्ता सफल मोडल ल्याउँदै कम्पनी आफूलाई विश्व बजारमा विस्तार गर्न अघि बढ्यो । सिङ्गापुर, भारत, युरोप लगायतका बजारहरूमा प्रवेश गर्दै साओमीले स्मार्टफोनका साथै स्मार्ट टिभी, ल्यापटप र अन्य स्मार्ट डिभाइसको विशाल इकोसिस्टम निर्माण गर्यो । प्रतिस्पर्धाका कारण सन् २०१५ मा केही धक्का लागे पनि कम्पनीले अनुसन्धान, विकास र नवीनतामा ध्यान केन्द्रित गरेर आफूलाई अझ बलियो बनायो ।
सन् २०१८ मा लेई जुनले साढे एक अर्ब डलर बोनस पाएका थिए । स्थापनाको आठ वर्षमै कम्पनीलाई विश्वव्यापी सफल कम्पनी बनाएकोमा उनलाई कम्पनीले उक्त रकम बोनस दिएको थियो । यो त्यतिबेला प्रविधि कम्पनीका सीईओलाई दिइएको त्यसबेलासम्मको सबैभन्दा ठुलो भुक्तानी थियो ।
यिनै सफलताको सिढी चढिरहेको साओमी सन् २०१९ मा फर्च्युन ग्लोबल ५०० सूचीमा पर्ने सबैभन्दा युवा कम्पनी बन्यो ।
विश्वभर मियूआई लोकप्रिय भए पनि त्यसमा केही कमजोरी थिए । विश्वबजारमा आफ्नो प्रभाव झनै मजबुत बनाउन कम्पनीले १७ अक्टोबर २०२३ मा हाइपर ओएस सार्वजनिक गर्यो । र, यो साओमी १४ सिरिजमा औपचारिक रूपमा उपलब्ध गराउन थालियो । सँगै कम्पनी इन्ट्रीदेखि मिडरेञ्ज हुँदै प्रिमियम फोन निर्माणमा केन्द्रित भयो ।
स्मार्टफोन र आईओटी डिभाइसमा अग्रसर यस कम्पनीले सन् २०२४ मा आफ्नो पहिलो विद्युतीय गाडी ‘एसयूभी सेभेन’ सार्वजनिक गरेको थियो । कम्पनीले एक लाख युनिट गाडी निर्माणको कोशेढुङ्गा पार गरेपछि लेईले आफू फ्याक्टरीमै सुतेको फोटो सार्वजनिक गरेका थिए । उक्त फोटोले त्यसबेला विश्वव्यापी रूपमा चर्चा पाएको थियो । २०२५ मा आइसक्दा साओमीले डेढ लाख बढी ईभी वितरण गरिसकेको छ । पछिल्लो समय एआईको प्रयोग बढेसँगै साओमी आफूलाई एआई चिप निर्माणमा पनि अघि सार्न खोजिरहेको छ । हाकै मात्र कम्पनीले थ्री-नानोमिटर मोबाइल चिप घोषणा गर्दै अबको १० वर्षमा चिपमा सात अर्ब डलर लगानी गर्ने प्रतिवद्धता दिएका थिए । यसका लागि साओमीले चिप निर्माता कम्पनी एनभिडियासँग पनि सहकार्य गरिरहेको छ ।
स्मार्टफोन बिक्री गर्ने सवालमा पनि चीनमा यस कम्पनीले एप्पललाई पछि पारेको छ । अहिले एप्पल आफूलाई चिनमा विस्तार गर्न सङ्घर्ष गरिरहेको छ । घरेलु कम्पनीलाई प्राथमिकता दिने चिनियाँ नीति र विश्वबजारको प्रतिस्पर्धाका कारण एप्पल चीनमा पछि परिरहेको छ ।
आज साओमी विश्वको शीर्ष ५ स्मार्टफोन निर्माताहरू मध्ये एक हो । यस कम्पनीको वार्षिक राजस्व अर्बौं डलर छ । लेई जुन आज ४१ अर्ब डलरभन्दा बढीको सम्पत्तिका मालिक छन् भने उनको कम्पनी साओमी १६९ अर्ब डलर भ्यालुएसनका विश्वका शीर्ष ८९ औं कम्पनीमा छ । बिल गेट्सको परोपकारी कामबाट प्रभावित उनी एक सफल व्यवसायी मात्र नभएर एक उदार परोपकारी पनि हुन् । उनले आफ्नो पुरानो विश्वविद्यालयलाई अर्बौं युआन दान गरेका छन् ।
लेई जुनका प्रमुख प्रेरक भनाइहरूः
“उत्कृष्ट काम गर्ने एकमात्र तरिका भनेको आफूले गर्ने कामलाई माया गर्नु हो ।”
“यदि तपाईं केही विकास गर्न चाहनुहुन्छ भने,तपाईं असहज हुन तयार हुनुपर्छ ।”
“पहिले कहिल्यै हासिल नगरेको कुरा प्राप्त गर्न तपाईं पहिले कहिल्यै नबनेको व्यक्ति बन्नुपर्छ ।”
“सबैभन्दा ठुलो जोखिम कुनै पनि जोखिम नलिनु हो ।”
“आफ्नो प्रतिस्पर्धीबाट सिक्नुहोस् तर कहिल्यै नक्कल नगर्नुहोस् । नक्कल गर्नुभयो भने तपाईं सकिनुहुन्छ ।”
“मलाई लाग्छ यदि तपाईं आफूले साँच्चै मन पराउने विषयमा काम गर्नुहुन्छ भने तपाईंलाई कसैले धकेल्नु पर्दैन । दूरदृष्टिले आफैँ तान्छ ।”
“म भाग्यमा विश्वास गर्दिनँ । म पसिना, दृढ संकल्प र कडा परिश्रममा विश्वास गर्छु ।”
पछिल्लो अध्यावधिक: जेठ ३१, २०८२ १५:१९
सामाग्री श्रोत :
टेक पाना