
वीरगञ्ज (पर्सा)। वीरगञ्ज महानगरपालिकाले अत्यधिक बढेको गर्मी नघटेपछि पुनः छ दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
महानगरले यसअघि यही जेठ २९ र ३० गते दुई दिन गर्मी बिदा दिने निर्णय गरेको थियो। सो बिदा सकिए पनि यहाँको तापक्रम नघटेपछि आगामी असार १ देखि ६ गतेसम्म विद्यालय बिदा दिने निर्णय गरेको हो।
वीरगञ्ज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखिको बढ्दो गर्मीलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असर न्यूनीकरण गर्न असार १ देखि ६ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय भएको बताए। ‘वर्षे सट्टे बिदाबाट मिलान हुनेगरी सो बिदा दिइएको हो’, उनले भने।
सामाग्री श्रोत :
काठमाडौँ । बोस्टन डाइनामिक्सको चर्चित रोबोट कुकुर ‘स्पट’ले अमेरिकाको लोकप्रिय रियालिटी शो ‘अमेरिकाज गट ट्यालेन्ट’ (America’s Got Talent) मा पहिलोपटक सांगीतिक प्रस्तुति दिएको छ । क्विन ब्यान्डको चर्चित गीत ‘Don’t Stop Me Now’ मा पाँच ओटा ‘स्पट’ रोबोटले ताल मिलाएर नृत्य गरेका थिए ।
प्रदर्शनको क्रममा पछाडि लाइनमा रहेको एउटा रोबोट अचानक बिग्रिएर लडे पनि बाँकी चार रोबोटले आफ्नो नृत्य रोकेनन् । बोस्टन डाइनामिक्सले यस्तो परिस्थिति आउन सक्ने अनुमान गर्दै पहिल्यै कोरियोग्राफी आफैं सम्हाल्ने प्रविधि समावेश गरेको बताइएको छ
प्रस्तुतिका क्रममा रोबोट कुकुरहरूले आफ्ना पाखुरा प्रयोग गरेर फ्रेड्डी मर्करीको गायनमा लिप-सिङ्क पनि गरेका थिए । उक्त नृत्य देखेर दर्शक र निर्णायकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।
कार्यक्रमका होस्ट टेरी क्रुजले प्रदर्शनपछि बोस्टन डाइनामिक्सका प्रतिनिधिलाई सोधे, “के तपाईंहरू साँच्चिकै यो भविष्य देखिरहनु भएको हो ? मानिसहरूले घरमै यस्ता रोबोट पाल्ने ?”
प्रतिनिधिको जवाफ थियो, “हामीलाई यो नै भविष्य हो भन्नेमा गहिरो विश्वास छ ।”
स्पटको टोलीले रोबोटलाई नाच्नका लागि ‘Choreographer’ नामक विशेष सफ्टवेयर प्रयोग गरेको हो । यो सफ्टवेयर प्रयोग गर्न सजिलो छ, जसमा ड्र्याग-एण्ड-ड्रप प्रविधि समावेश गरिएको छ ।
कोरियोग्राफर तथा रोबोट इन्जिनियर एरिक ह्विटम्यानले ब्लगमा भनेका छन्, “मानव नर्तकहरूका लागि कोरियोग्राफी गर्न सजिलो हुन्छ, तर रोबोटका लागि सबै कुरा पूर्वनिर्धारित र स्क्रिप्ट अनुसार हुनु पर्छ । उनीहरू स्वतन्त्र रूपमा कुनै कुरा अपनाउँदैनन्, तर एकपटक सही प्रोग्रामिङ भयो भने त्यो सधैं ठीक ढंगले दोहोरिन्छ ।”
स्पटको प्रस्तुतिले सबै चारै निर्णायकबाट ‘यस’ मत प्राप्त गरेको छ, जसका कारण यो रोबोट टोली अर्को चरणमा पुग्न सफल भएको छ ।
यसअघि पनि सन् २०२१ मा बोस्टन डाइनामिक्सले आफ्नो रोबोटले के-पप ब्यान्ड बीटीएसको गीत “IONIQ: I’m On It” मा नृत्य गरेको भिडिओ सार्वजनिक गरिसकेको थियो ।
पछिल्लो अध्यावधिक: जेठ ३१, २०८२ २२:५१
सामाग्री श्रोत :
टेक पाना
बागलुङ– इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको बागलुङ बजारस्थित ‘कर्मा कम्प्लेक्स’ रहेको घरमा ताला लगाएका छन् ।
पीडित संघर्ष समितिले शनिबार तालाबन्दी गरेको हो । नेपाली सहकारी ठगी मुद्दामा जेलमा रहेको बेला बैंकको समेत मिलेमतोमा घर बिक्री गरिएको भन्दै इमेज पीडित संघर्ष समितिका पदाधिकारीले शनिबार घरमा ताला लगाएका हुन् ।
यो घरको भूइँ तलामा भाडामा विभिन्न पसलहरु सञ्चालनमा थिए । ती पसलको सुरुवाती चरणको भाडा संघर्ष समितिले संकलन गरेको थियो । हाल उक्त कम्प्लेक्स बानपा-११ का रामबहादुर र गोमा क्षेत्रीले खरिद गरेका छन् ।
हाल अमेरिका बस्ने क्षेत्री परिवारले उक्त भवनको भाडा लिन थालेको भन्दै तालाबन्दी गरेको बताए । ‘अर्ब पर्ने सम्पत्ति मिलेमतोमा २०/२२ करोडमा बिक्री गरिएकोले ताला लगाउन बाध्य भयौं,’ समितिका अध्यक्ष डिलबहादुर कार्कीले भने, ‘माफियाहरुले बैंकलाई पनि प्रभावमा पारेर घरजग्गा किनेका छन् ।’ उक्त घर क्षेत्री परिवारले २३ करोडमा खरिद गरेको स्थानीयले बताए । मिलेमतोमा बिक्री गरिएको भन्दै पीडितले गत साता दुई दिनसम्म राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखामा तालाबन्दी र धर्ना दिएका थिए ।
उता उच्च अदालत पोखरा, बागलुङ इजलासले भने राष्ट्रिय सहकारी बैंक लिमिटेड ललितपुरको नाउँमा गत बुधबार घरजग्गा तत्काल लिलाम नगर्न आदेश जारी गरेको छ । आदेशमा निजको घरजग्गाहरु लिलाम गर्ने कार्य नगर्नु/नगराउनु भन्ने उल्लेख छ । उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य भई काम गर्ने न्यायाधीश नातीबाबु लामिछानेको एकल इजलासले उच्च अदालत नियमाबली, २/७३ को नियम ४२ (१) बमोजिम उक्त आदेश जारी भएको हो ।
आदेशमा असार ९ गते अन्तरिम आदेशका लागि छलफलका लागि विपक्षीलाई म्याद सूचना जारी गर्ने भनिएको छ । बागलुङ नगरपालिका-२ मा हरेको कित्ता नम्बर ४५७, ४५८ र ४५९मा बनेको ठूलो घर तथा कित्ता नम्बर ८८७ मा बनेको सानो घर लिलामी भएको थियो । बैंकका प्रबन्धक अर्जुन श्रेष्ठले भने नेपाल राष्ट्र बैंकको नियम अनुसार घरजग्गा लिलाम भएको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। सभामुख देवराज घिमिरेले शासकीय प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन देखापरेका चुनौतीहरूको समाधान गर्न निर्वाचन पद्धति र प्रणालीबारे गम्भीर विवेचना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
संविधानविद् वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालमा निर्वाचन प्रणालीः तुलनात्मक अध्ययन’ पुस्तकको आज यहाँ सार्वजनिकीकरण गर्दै उनले शासन प्रणालीमा आएका समस्या तथा निर्वाचन प्रणालीका चुनौतीका विषयमा बृहत् छलफल गर्नुपर्ने समय आएको बताए।
‘निर्वाचन प्रणालीका दोष हुन कि निर्वाचन आचारसंहितासँग गाँसिएका विषयहरू, यसलाई प्रयोग गर्ने राजनीतिक दलहरूको समस्या हो कि?’, सभामुख घिमिरेले प्रश्न गर्दै भने, ‘निर्वाचन पद्धति र प्रणालीबारे विवेचना हुन जरुरी छ। निर्वाचनलाई निष्पक्ष, पारदर्शी बनाउने, सबैको उचित सहभागिता बनाउने र त्यसबाट बनेका जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढङ्गबाट काम गर्ने विधि के हुन सक्छ, छलफल हुनुपर्छ।’
उनले कार्यान्वयन गर्ने तहमा इमान्दारिताको समस्या वा प्रणालीमा समस्या केहो भन्नेमा बहस हुनुपर्ने आवश्यकता औँल्याए। सरकारले स्थायित्व प्राप्त गर्न नसक्ने, संघीय संसद्को प्रभावकारी भूमिका निर्वाह र सरकारलाई निर्दिष्ट गर्न आइरहेका समस्या व्यवहार वा नीतिगत के हुन् भन्नेबारे छलफलका लागि सभामुख घिमिरेले बुद्धिजीवी सबैलाई आह्वान गरे। ‘आचार विचार र पद्धतिका समस्या हुन् कि संविधानको व्यवस्था वा निर्वाचन प्रणालीको समस्या हो, त्यसमा गहिरो विवेचना गर्न जरुरी छ’, उनले भने।
पैरवी बुक हाउस प्रालिद्वारा आयोजित कार्यक्रममा सभामुख घिमिरेले पुस्तक सार्वजनिकीकरण गर्दै भविष्यमा अपनाउनुपर्ने निर्वाचन प्रणालीबारे सबै निकाय र तहमा बहस हुनुपर्नेमा जोड दिए। उक्त पुस्तक पैरवी बुक हाउसले प्रकाशनमा ल्याएको हो।
सामाग्री श्रोत :
निर्वाचन पद्धति र प्रणालीबारे विवेचना हुन जरुरी छः सभामुख घिमिरे
काठमाडौँ । अमेरिकाको न्युयोर्क राज्यमा एआई प्रविधिबाट उत्पन्न हुन सक्ने ठुला दुर्घटना र सामाजिक जोखिम नियन्त्रण गर्न नयाँ विधेयक रेइज एक्ट (RAISE Act) पारित गरिएको छ । बिहीबार पारित भएको यो विधेयकले ओपनएआई, गुगल, एन्थ्रोपिक जस्ता ठुला प्रविधि कम्पनीहरूले विकास गरिरहेका फ्रन्टियर एआई मोडेलहरूमाथि कडाइका साथ निगरानी र पारदर्शिता लागु गर्नेछ ।
यो ऐन अनुसार, ती कम्पनीहरूले आफ्ना फ्रन्टियर एआई मोडेलहरूबारे विस्तृत सुरक्षा र जोखिम मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्नुपर्नेछ । यदि एआई प्रविधिको कारण १०० भन्दा बढी मानिसको मृत्यु वा घाइते हुने वा १ अर्ब डलरभन्दा बढी आर्थिक क्षति हुने अवस्था सिर्जना भयो भने सम्बन्धित कम्पनीलाई कानुनी कारबाही गर्न सकिनेछ ।
नोबेल पुरस्कार विजेता जेफ्री हिन्टन र एआई अनुसन्धानका अग्रगामी योशुआ बेङ्गियो लगायतका प्रतिष्ठित व्यक्तिहरूले रेइज एक्टलाई समर्थन गरेका छन् । यस्तो कानुनी संरचनाले एआई प्रविधिको विकासमा आवश्यक सतर्कता र उत्तरदायित्व सुनिश्चित गर्ने उनीहरूको विश्वास छ ।
विधेयक अब न्यूयोर्ककी गभर्नर केथी होचुलको अनुमोदनका लागि पठाइएको छ । गभर्नरले यसमा हस्ताक्षर गरेमा यो कानुन कार्यान्वयनमा आउनेछ । विधेयक लागु भएमा अमेरिकामै फ्रन्टियर एआई नियमन गर्ने पहिलो कानुनी कदम हुनेछ । यसले क्यालिफोर्निया (ओपनएआई र गुगल) देखि चीन (डिपसिक-अलिबाबा) सम्मका कम्पनीलाई समेट्ने बताइएको छ ।
विशेषज्ञहरूका अनुसार प्रविधिको तीव्र विकाससँगै एआईबाट आउने सम्भावित खतरा नियन्त्रण गर्न यो विधेयक महत्त्वपूर्ण आधार बन्नेछ । तर प्रविधि कम्पनीहरूले भने यसमा केही असहमतिहरू जनाएका छन्, जसमा नवप्रवर्तनको स्वतन्त्रता सीमित हुन सक्ने चिन्ता प्रमुख छ । विशेगगरी सिलिकन भ्यालीबाट यो विधेयकको कडा विरोध भइरहेको छ ।
आन्द्रेसेन होरोविट्जका जनरल पार्टनर अन्जनी मिधाले यसलाई मूर्ख विधेयक भन्दै यसले अमेरिकालाई हानि पुर्याउने दाबी गरेका छन् । एन्थ्रोपिकका सह-संस्थापक ज्याक क्लार्कले पनि विधेयकको व्यापकतामा केही गुनासो व्यक्त गर्दै यसले साना कम्पनीहरू लाई जोखिममा पार्न सक्ने बताएका छन् ।
जे होस्, यो विधेयकले एआईको विकासमा सुरक्षा र पारदर्शिताको आवश्यकतामाथि राष्ट्रिय बहसलाई थप बल पुर्याउने निश्चित छ । टेकक्रन्चका अनुसार यो विधेयक ती कम्पनीहरूमा लागु हुनेछ, जसका एआई मोडेलहरू १० करोड डलरभन्दा बढीको कम्प्युटिङ स्रोतहरू प्रयोग गरेर प्रशिक्षित गरिएका छन् ।
पछिल्लो अध्यावधिक: जेठ ३१, २०८२ २०:३३
सामाग्री श्रोत :
टेक पाना
झापा- मेची राजमार्गअन्तर्गत हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा ६ जना मजदुर गम्भीर घाइते भएका छन्। पुल कसरी भत्कियो भन्नेबारे खुल्न सकेको छैन।
घाइते हुनेहरूमा बारा, सिमरा-१२ बस्ने २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी, २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी रहेका छन्।
रूपलाल, राजन र राकेशको अवस्था गम्भीर छ भने भुलेश्वरको दायाँ खुट्टा भाँचिएको छ। प्रकाश र अभिषेकको अवस्था मध्यम रहेको जनाइएको छ।
घाइते मजदुरहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो। त्यहाँबाट गम्भीर अवस्थाका केहीलाई थप उपचारका लागि झापातर्फ रेफर गरिएको छ।
यो पुल यसअघि पनि दुई पटक बगेको थियो। २०८० असार २ गते आएको बाढीले पक्की पुल बगाएपछि बेलिब्रिज बनाइएको थियो।
तर, त्यो बेलिब्रिज पनि २०८१ असोज १२ गते बगेको थियो। अहिले भत्किएको पुल तेस्रो पटक बनाइँदै गरेको मोडुलर (बेलिब्रिज) थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
उनकी पत्नी, पाथोलोजिस्ट डा. कौमी व्यास, उदयपुरको एक निजी मेडिकल कलेजमा एसोसिएट प्रोफेसरको रूपमा काम गर्दै थिइन्। उनले एक महिना अघि राजीनामा दिएकी थिइन्।
सामाग्री श्रोत :
swasthyakhabar
पाँचथर। मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छजना कामदार घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
आज साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो। करिब ७० मिटर लामो मोडुलार पुल भाँचिदा निर्माणमा खटिएका छजना कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा बारा सिमरा उपमहानगरपालिका १२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी र २५ वर्षीय भुलेश्वर चौधरी गम्भीर घाइते भएका छन्भने ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी घाइते भएका छन्।
घाइतेहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रनाउ बुढाथोकीले जानकारी दिए। लोड थाम्न नसकेर बेलिब्रिज भाँचिएको स्थानीयवासीले बताएका छन्।
सामाग्री श्रोत :
हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छ कामदार घाइते, चारको अवस्था गम्भीर
काठमाडौँ । गुगलले आफ्नो सर्च इन्जिनमा ल्याएको नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलले इन्टरनेटलाई पुनर्जीवन दिने दाबी गरेको छ । तर, धेरैले यसलाई वेबसाइटका लागि ‘महाप्रलय’को संज्ञा दिएका छन् । एउटा कुरा भने प्रस्ट छ । त्यो के भने अनलाइन इतिहासको वर्तमान अध्याय तीव्र गतिमा आफ्नो अन्त्यतिर बढिरहेको छ । अब हामी ‘मसिन वेब’को युगमा प्रवेश गर्दैछौँ । मसिन वेब भनेको मेसिन (रोबोट/एआई)ले नै वेबसाइट चलाउने ।
वास्तवमा अहिलेसम्म इन्टरनेट एउटा सामान्य सम्झौतामा टिकेको छ । त्यसमा वेबसाइटले गुगलजस्ता सर्च इन्जिनलाई आफ्नो सामग्री निःशुल्क प्रयोग गर्न दिन्छन् । र, बदलामा गुगलले मानिसलाई ती वेबसाइटमा पठाउँछ । यही माध्यमबाट अधिकांश वेबसाइटले विज्ञापन र सामान बेचेर आम्दानी गर्छन् ।
इन्टरनेटको लगभग ६८ प्रतिशत गतिविधि सर्च इन्जिनबाट सुरु हुन्छ र यसको करिब ९० प्रतिशत सर्च गुगलमा हुन्छ । यदि इन्टरनेट एउटा बगैँचा हो भने गुगल त्यो सूर्य हो, जसले फूललाई फुल्न मद्दत गर्छ ।
यो व्यवस्था दशकौंसम्म चल्यो । तर गुगलले ल्याएको एउटा सानो परिवर्तनले यो समग्र प्रणाली नै तहसनहस हुने चिन्ता थपिएको छ । जसरी हामी परम्परागत तरिकाले गुगल प्रयोग गर्थ्यौं, त्यो शैली नै परिवर्तन हुँदै छ । अर्थात् गुगल सर्चमा एउटा नयाँ एआई टुल देखिन थालेको छ । यो तपाईंका लागि उपयोगी हुन सक्छ । तर आलोचकको भविष्यवाणी सत्य साबित भएमा यसले इन्टरनेटमा भूकम्प नै ल्याउनेछ । उनीहरूका अनुसार यसले गुणस्तरीय जानकारी अनलाइनमा पाउन मुस्किल बनाउनेछ भने ठुलो सङ्ख्यामा मानिसले आफ्नो रोजगारी गुमाउन सक्छन् ।
यसलाई सकारात्मक परिवर्तन ठान्नेहरूले भने यसले वेबको व्यापारिक मोडेलमा सुधार ल्याउने र उत्कृष्ट सामग्री खोज्ने अवसर विस्तार गर्ने बताएका छन् । तर, राम्रो होस् वा नराम्रो तपाईंको डिजिटल अनुभव अब पहिले जस्तो कहिल्यै रहने छैन ।
२० मे २०२५ मा गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले कम्पनीको वार्षिक डेभलपर सम्मेलनमा मञ्चमा पाइला राखे । तपाईंको जानकारीका लागि यहाँ उल्लेख गरिहालौं, त्यसअघि गुगलले व्यापक रूपमा ‘एआई ओभरभ्यु’ फिचर परीक्षण गरिरहेको थियो । यस्तो फिचर- जसले तपाईंले गुगलको सर्च बारमा खोजेका विषयको जानकारी सङ्क्षिप्तमा सर्च रिजल्टको सबैभन्दा माथि देखाइदिन्छ । सार्वजनिक भएको एक वर्ष भए पनि विश्वव्यापी रूपमा यो फिचर त्यसको केही महिनापछि मात्र उपलब्ध भएको थियो । यसैलाई चर्चा गर्दै पिचाईले गुगल अझ अगाडि बढ्दै गरेको जानकारी दिए । “जो पूर्ण एआई सर्च अनुभव चाहन्छन्, उनीहरूका लागि हामी पूर्णतया नयाँ एआई मोड प्रस्तुत गर्दैछौं,” उनले भने, “यो सर्चको पूर्ण पुनर्कल्पना हो ।”
वर्षौंदेखिको एआईको प्रचारबाजीपछि तपाईंलाई पिचाइको भनाइमा शङ्का लाग्न सक्छ । तर, यो वास्तविक हो ।
गुगलका अनुसार इन्टरनेटको पहुँचमा हुने विश्वभरका मानिसले वर्षमा ५० खर्ब पटक गुगल सर्च प्रयोग गर्छन् । यसबाटै इन्टरनेटको समग्र आकार परिभाषित गर्न सकिन्छ । पक्कै पनि ‘एआई मोड’ गुगलको एक पृथक परिवर्तन हो । एआई ओभरभ्युभन्दा ठ्याक्कै विपरीत एआई मोडले परम्परागत सर्च रिजल्टलाई पूर्ण रूपमा विस्थापित गर्छ । यसको सट्टा एक च्याटबटले तपाईंको प्रश्नको जवाफ दिन प्रभावकारी रूपमा लेख नै तयार पार्छ ।
तपाईंले यो पढ्दै गर्दा एआई मोड अमेरिकाका प्रयोगकर्तामाझ उपलब्ध भइरहेको छ । यो अहिले सर्च इन्जिन र कम्पनीको एपमा बटनको रूपमा देखा परेको छ । अहिलेको लागि यो डिफल्ट छैन । अथवा तपाईंले चाहेको बेला मात्र यो प्रयोग गर्न पाउने सुविधा छ । तर गुगलकी सर्च प्रमुख लिज रिडले यो टुल लन्च गर्ने समयमै ‘यो नै गुगल सर्चको भविष्य हो’ भनेकी थिइन् ।
आलोचकले देखेको मुख्य समस्या नै यही हो । एआई ओभरभ्युले यसअघि नै वेबसाइटमा धेरै कम ट्राफिक पठाइरहेको छ । धेरैलाई अब एआई मोडले त्यो प्रवृत्तिलाई अझ तीव्र बनाउन सक्छ भन्ने डर छ । यदि यस्तो भयो भने यसले लगभग ३० वर्षदेखि तपाईंले रमाइलो गर्दै आएको डिजिटल सामग्रीको बिजनेस मोडेललाई ध्वस्त पार्न सक्छ ।
“यदि गुगलले एआई मोडलाई यसको वर्तमान रूपमा डिफल्ट बनायो भने यसले इन्टरनेटमा विनाशकारी प्रभाव पार्नेछ,” एम्साइभ नामक मार्केटिङ एजेन्सीकी एसईओ रणनीति एवम् अनुसन्धानकी उपाध्यक्ष लिली रे भन्छिन्, “यसले अधिकांश प्रकाशकको मुख्य आम्दानीको स्रोत कटौती गर्नेछ र अर्गानिक सर्च ट्राफिकमा निर्भर कन्टेन्ट क्रियटरलाई निरुत्साहित गर्नेछ । लाखौं वेबसाइट, सायद त्योभन्दा पनि बढी यस्ता कन्टेन्ट क्रियटर छन् जो गुगलबाट आउने अर्गानिक ट्राफिकमा निर्भर छन् ।”
गुगल भने पब्लिशर अर्थात् प्रकाशक (वेबसाइट सञ्चालक) र अन्य विज्ञले यो विषयलाई लिएर अनावश्यक चिन्ता लिएको बताएको छ । एआई मोडले वेबलाई निरुत्साहित गर्नेभन्दा पनि अझ स्वस्थ र उपयोगी बनाउने गुगलको दाबी छ ।
“हरेक दिन हामी अर्बौं क्लिक वेबसाइटमा पठाउँछौं र मानिसलाई वेबसँग जोड्नु हाम्रो प्राथमिकतामा रहिरहन्छ,” गुगलका एक प्रवक्ताले बीबीसीलाई भने, “एआई ओभरभ्यू र एआई मोड जस्ता नयाँ अनुभवले सर्चलाई बढाउँछ र मानिसले सोध्न सक्ने प्रश्नको प्रकार विस्तार गर्छ । यसले सामग्री पत्ता लगाउन नयाँ अवसर सिर्जना गर्छ ।”
तर गुगल र यसका आलोचक एउटा कुरामा सहमत छन् । त्यो हो- इन्टरनेट अब धेरै फरक देखिन लागेको छ । अर्को एक वर्ष जति समयले इन्टरनेटको एउटा युगको अन्त्य गर्ने सम्भावना छ । अब प्रश्न मात्र यति हो- त्यो परिवर्तनको धुलो बसिसकेपछि हाम्रो संसार कस्तो देखिनेछ ?
यति भनिरहँदा इन्टरनेट कतै गएको छैन भन्ने विषय ख्याल गर्नु महत्त्वपूर्ण हुन्छ । इन्टरनेटको स्वरूप मात्र परिवर्तन हुन लागेको हो भन्ने विचार गर्नु उत्तम हुन्छ । वेबसाइटका लागि सामाजिक सञ्जाल प्लेटफर्मले पहिलेभन्दा राम्रो गरिरहेका छन् । पेवाल (भुक्तानी गरेर हेर्नुपर्ने वेबसाइट) भएका केही लोकप्रिय साइट फस्टाइरहेका छन् । परिवर्तन हुन लागेको कुरा इन्टरनेटमा मानिसले कसरी जानकारी खोज्छन् र पत्ता लगाउँछन् भन्ने मात्र हो । कतिपयले डर मानिरहेको कुरा भनेको ‘ओपन वेब’ को जोखिम हो । यो भनेको स्वतन्त्र रूपमा पहुँच गर्न सकिने वेबसाइटको त्यो प्रणाली हो, जहाँ मानिस र व्यवसाय (जसलाई प्रायः ‘प्रकाशक’ भनिन्छ) ले जानकारी, तस्बिर र भिडिओ शेयर गर्छन् ।
क्याल्कुलेटरले गणितको शिक्षक विस्थापित गर्यो त भन्ने सिद्धान्त प्रविधि क्षेत्रमा सधैं लागु हुन्छ । सन् २०१० मा वायर्ड म्यागजिनको कभरले ‘वेब मरिसक्यो’ भन्ने घोषणा गरेको थियो । तैपनि हामी यहाँ छौं । स्मार्टफोन, एप र सामाजिक सञ्जाल सबैले वर्ल्ड वाइड वेबको बारेमा प्रलयको भविष्यवाणी गरेका थिए । तर, वेब झनै परिष्कृत भयो ।
मे महिनामा गुगलले नयाँ टुल घोषणा गरिसकेपछि बीबीसीले एक दर्जनभन्दा बढी विज्ञसँग एआई मोडको विषमा कुरा गरेको छ । ती विज्ञले यस टुलले डिजिटल अर्थतन्त्रमा अभूतपूर्व खतरा उत्पन्न गरेको बताएका छन् ।
“मेरो विचारमा वेबसाइटलाई जे हुन गइरहेको छ त्यसका लागि ‘लोप’ भन्ने शब्द प्रयोग गर्नु त्यति उचित होइन,” एसईओ कम्पनी पोलेमिक डिजिटलका संस्थापक ब्यारी एडम्स भन्छन्, “यसका लागि ‘विनाश’ हो शब्द प्रयोग गर्न उपयुक्त हुन्छ ।”
यसमा गुगल असहमत छ । कम्पनीले बीबीसीलाई बताए अनुसार वेबका लागि एआई ओभरभ्यु धेरै राम्रो हो । र, एआई मोड पनि यसभन्दा फरक हुने छैन । गुगलले यी फिचरले प्रयोगकर्तालाई ‘अझ बढी विविध वेबसाइटतर्फ पठाउँछन्’ भन्ने कुरालाई जोड दिएको छ । र, त्यसबाट आउने ट्राफिक ‘अझ गुणस्तरीय’ हुन्छ भन्ने कम्पनीको दाबी छ । विशेषगरी एआईले उपलब्ध गराएको लिङ्क अझ विश्वसनीय हुन्छ भन्ने ठानी प्रयोगकर्ता उक्त लिङ्कभित्र पहिलेभन्दा बढी समय बिताउने गुगलको तर्क छ ।
तर, कम्पनीले यी दाबीलाई समर्थन गर्न कुनै तथ्याङ्क उपलब्ध गराएको छैन । एआई मोडलाई वेबसाइट सञ्चालक (प्रकाशक)ले कसरी प्रयोग गर्न सक्छन् भन्ने गाइड छ । तर, यसले वेबसाइटलाई एआई ओभरभ्युले कसरी असर गर्छ भन्ने जानकारी स्पष्ट दिएको छैन । साथै यी एआई टुलले सर्चबाट वेबमा कसरी ट्राफिकको मात्रा नघटाई पठाउँछ भन्ने पनि खुलाएको छैन ।
आलोचकसँग भने यसको सरल जवाफ छ । एआई ओभरभ्यु र एआई मोड दुवैमा स्रोतका लिङ्कहरू समावेश हुन्छन् । तर, यदि एआईले तपाईंले खोजेको प्रश्नको जवाफ दियो भने तपाईंले लिङ्क क्लिक गरेर अर्को वेबसाइटमा पुग्ने झन्झट किन गर्नुहुन्छ ?
तथ्याङ्कले त्यो तर्कलाई समर्थन गरेको देखिन्छ । धेरै विश्लेषणले एआई ओभरभ्युले गुगलले वेबसाइटमा पठाउने ट्राफिकको मात्रा (क्लिक-थ्रु रेट)लाई ३० देखि ७० प्रतिशतको बीचमा घटाएको देखाएका छन् । यद्यपि यो मानिसले ‘के खोजिरहेका छन्’ भन्नेमा निर्भर हुन्छ । सधैं एआईले दिएको जानकारी पर्याप्त हुन्छ भन्ने भन्ने पनि हुँदैन । साथै करिब ६० प्रतिशत गुगल सर्च अब ‘शून्य-क्लिक’ भएको अन्य केही विश्लेषणले देखाएका छन् । जसमा प्रयोगकर्ताले एउटै लिङ्क भिजिट नगरी आफूले चाहेको जानकारी पाउन सक्छन् ।
एआई मोडको कुनै भर्सन चाँडै नै डिफल्ट बन्नेछ र त्यसले ट्राफिकमा एआईले पार्ने प्रभावलाई अझ तीव्र बनाउने विज्ञहरूको शङ्का छ । किनभने यसले परम्परागत लिङ्कको सूचीलाई पूर्ण रूपमा हटाउँछ ।
“मलाई लाग्छ गुगलको एआई मोडबाट वेबतर्फ जाने क्लिकको सङ्ख्या करिब आधा मात्र हुनेछ, भरसक त्यो भन्दा धेरै कम पनि हुन सक्छ,” एडम्स भन्छन्, “धेरै प्रयोगकर्ता त एआईले दिएको जानकारीमै सन्तुष्ट हुनेछन् जस्तो लाग्छ । यसलाई कसरी लिइन्छ भन्ने कुरा त हेर्न बाँकी छ । तर, धेरै प्रकाशकका लागि यो यति नाटकीय परिवर्तन हुनेछ ।”
यो केवल केही ब्लगरले आफ्नो जागिर गुमाउने कुरा मात्र होइन । यसले प्रयोगकर्ता आफैंले वेबसँग कसरी अन्तरक्रिया गर्छन् र उनीहरूले कसरी जानकारी फेला पार्छन् भन्ने कुरा पनि परिवर्तन गर्नेछ ।
हाउसफ्रेस (एयर क्वालिटी उत्पादनको समीक्षा गर्ने साइट)की प्रबन्ध सम्पादक गिसेल नभारो भन्छिन्, “वेब भनेको तपाईंको औंलाको टुप्पोमा रहेका यी सबै कम्युनिटी हुन् र त्यो हराउन सक्छ,” । उनी गुगलले बेवास्ता गरेका जस्तो महसुस गर्ने वेबसाइटका पक्षमा बोल्ने गर्छिन् र उनको तर्क के छ भने प्रयोगकर्ताले पत्ता लगाउन सक्ने जानकारीका स्रोत निकै कम विविध हुन सक्छन् । “यो त्यस्तै हो जस्तो तपाईं लाइब्रेरियनसँग किताब माग्नुहुन्छ तर उनीहरू किताबबारे मात्र सुनाउँछन्,” उनी भन्छिन्, “वेबले हामी सबैका लागि एउटा ठुलो लाइब्रेरी जस्तो महसुस गराउँथ्यो । मलाई लाग्छ त्यो अनुभव अब हराइ सकेको छ ।”
यस्ता भविष्यवाणी र विश्लेषण आधारहीन भएको गुगलका एक प्रवक्ताको तर्क छ । कम्पनीका अनुसार साइटले विभिन्न कारणले गर्दा ट्राफिक गुमाउन सक्छन् । र यी विषयमा गरिएका अध्ययनहरू प्रायः पूर्वाग्राही तथ्याङ्क र त्रुटिपूर्ण पद्धति प्रयोग गरेर गरिन्छन् ।
“हाम्रो दृष्टिकोणबाट हेर्ने हो भने वेब फस्टाइरहेको छ,” गुगलको नलेज एन्ड इन्फरमेसन विभागका वरिष्ठ उपाध्यक्ष निक फक्सले हालैको एक पोडकास्टमा भने, “सायद वेबको स्वास्थ्य र भविष्यको बारेमा गुगलभन्दा बढी चिन्ता गर्ने कुनै कम्पनी छैन ।” फक्सका अनुसार वेबमा कन्टेन्टको मात्रा पछिल्लो दुई वर्षमा ४५ प्रतिशतले बढेको छ । यसमा स्प्याम समावेश छैन । “हामी यो डेटामा देख्छौं,” उनले भने, “मानिस अझै पनि धेरै सक्रिय रूपमा वेबमा क्लिक गरिरहेका छन् ।”
ती आश्वासनको बाबजुद केही वेबसाइट एआई-सञ्चालित च्याटबट र सर्चको आगमनसँग आफूलाई चलायमान राख्न सङ्घर्ष गरिरहेका छन् । गत वर्ष हाउसफ्रेस, ती अनगिन्ती साना अनलाइन व्यवसायमध्ये एक थियो जसले गुगलका एल्गोरिदम अपडेटका कारण ठुलो ब्रान्डतर्फ ट्राफिक मोडिएको भन्दै आफू प्रभावित भएको दाबी गरेको थिए । नभारोका अनुसार एआईले यस्तो क्षतिलाई झनै बढाउँदै गइरहेको छ ।
“केही हप्ताअघि हामीले एउटा वृद्धि देख्यौं,” नाभारो भन्छिन् । हाउसफ्रेस गुगल सर्चमा देखिने सङ्ख्या अर्थात् इम्प्रेसनहरु बढ्दै गएका छन् । “तर त्यसै समयमा क्लिकको सङ्ख्या घट्दै गएको छ । गुगलले हाम्रो लिङ्क धेरै देखाइरहेको छ तर कसैले क्लिक गरिरहेको छैन । यो कुरा एआई ओभरभ्युसँग मेल खान्छ,” उनले भनिन् ।
डेटा विश्लेषण कम्पनी ब्राइटएजका अनुसार एआई ओभरभ्यूले वेभभर इम्प्रेसन ४९ प्रतिशतले बढाएको छ । तर क्लिक भने ३० प्रतिशतले घटेका छन् । किनकि मानिसले आफ्ना उत्तरहरू सिधै एआईबाट नै पाउँछन् ।
“गुगलले नियम बनायो, उसैले खेल सिर्जना गर्यो र खेलाडीलाई पुरस्कार दियो,” नभारो भन्छिन्, “अब गुगल फर्केर भन्दैछ, ‘यो मेरो पूर्वाधार हो, वेब त बस् त्यसमा बाँचिरहेको छ ।’ मलाई लाग्छ यसले हामीले चिनेको ओपन वेबलाई पक्कै नष्ट गर्छ । सायद यसले पहिले नै गरिसकेको छ ।”
नयाँ मसिन वेबको आरम्भ !
एआई मोडको सबैभन्दा ठुलो प्रभाव तपाईंले हरेक दिन अनलाइनमा गर्ने अनुभवमा पर्नेछ । हामी नयाँ युगको सुरुवातमा छौं जसलाई भविष्यमा मसिन वेब भनिन सक्छ भन्ने केहीको विश्वास छ । यस्तो वेब जहाँ वेबसाइट मानिसका लागि होइन, एआईले पढ्ने गरी बनाइनेछन् । र च्याटबटले तयार पारेका सारांशहरू नै हामीले जानकारी उपभोग गर्ने मुख्य माध्यम बन्नेछन् ।
गुगलको एआई अनुसन्धान प्रयोगशाला डीपमाइन्डका प्रमुख डेमिस हसाबिसले हालै दिएको अन्तर्वार्तामा मसिन वेबको अवधारणाबारे आफ्नो विचार राखेका थिए । उनका अनुसार प्रकाशले मानिसका लागि भन्दा पनि एआईका लागि कन्टेन्ट बनाउनेछन् र सोझै एआईलाई पठाउनेछन् । किनभने उनीहरू अब मान्छेका लागि वेबसाइट आवश्यक छैन भन्ने ठान्नेछन् । “मलाई लाग्छ केही वर्षमा स्थिति निकै फरक हुनेछ,” उनले भने ।
यो यस्तो संसार हुनेछ, जहाँ जवाफहरू सधैं सजिलै उपलब्ध हुनेछन् । तर यसले पहिलो पटक ओपन वेबलाई निकै लोकप्रिय बनाउनेछ । तर, अनलाइनमा अनपेक्षित रूपमा नयाँ कुरा भेट्टाउने मौका, रमाइलो जानकारी भेटिने अवसर वा नयाँ कुरा पत्ता लगाउने सम्भावना घट्नेछ । डिकोडर पोडकास्टसँगको अन्तर्वार्तामा पिचाईले ‘अन्ततः सबै कुरा प्रयोगकर्ताको रुचिमा निर्भर रहने’ बताएका छन् ।
इन्टरनेटका करिब पाँचमा एक वेबसाइटलाई सेवा दिइरहेको कम्पनी क्लाउडफ्लेयरका प्रमुख कार्यकारी म्याथ्यु प्रिन्सले भविष्यमा अझ ठुलो समस्या देखेका छन् । उनी भन्छन्, “एआई वा रोबोटले त विज्ञापनमा क्लिक गर्दैनन् ।” अर्थात् यदि एआई नै दर्शक वा पाठक भयो भने क्रियटरले कसरी पैसा पाउँछन् ? एउटा सम्भावना भनेको प्रकाशकले एआई कम्पनीबाट पाउने प्रत्यक्ष क्षतिपूर्ति हो । द न्यूयोर्क टाइम्सले अमेजनको एआईलाई कन्टेन्ट लाइसेन्स दिइरहेको छ । गुगलले रेडिटलाई प्रयोगकर्ता डेटामा एआईलाई तालिम दिन वार्षिक छ करोड डलर तिर्छ । दर्जनौं ठूला प्रकाशक र मिडिया समूहले ओपनएआई र अन्य कम्पनीसँग यस्तै सम्झौतामा हस्ताक्षर गरेका छन् ।
तर अहिलेसम्म धेरै डेटा भएका ठुला वेबसाइटले मात्र यी सम्झौता पाइरहेका छन् । “यसरी सामग्रीको लागि भुक्तानी गर्नु वेबलाई टिकाउन आवश्यक मात्रामा काम गर्ने मोडेल हो भन्ने मलाई लाग्दैन,” विज्ञापन प्रविधि फर्म र्याप्टिभका कार्यकारी उपाध्यक्ष टम क्रिचलो भन्छन्, “क्लिकमा आएको गिरावटलाई क्षतिपूर्तिको मोडेलले कसरी काम गर्न सक्छ भन्ने हेर्न गाह्रो छ ।”
यदि वेबबाट आम्दानी गर्न झन् गाह्रो बन्दै गयो भने एडम्स र अरूले धेरै जसो मानिस सामाजिक सञ्जालतर्फ पलायन हुने अपेक्षा गरेका छन् । नाभारो जस्ता धेरैका लागि त यो प्रक्रिया पहिले नै सुरु भइसकेको छ ।
हाउसफ्रेसले युट्युबमा ध्यान केन्द्रित गरेको छ । तर नाभारो सामाजिक सञ्जालका एल्गोरिदम अझै अनिश्चित र परिवर्तनशील हुने बताउँछिन् । यी प्लेटफर्मले क्रियटरलाई गुणस्तर र गहिराइ छोडेर देखावटीपनलाई प्राथमिकता दिन बाध्य बनाउने उनको चिन्ता छ । “पहिले जस्तो उच्च गुणस्तरको सामग्री बनाउन कुनै प्रोत्साहन नै रहँदैन,” नाभारो भन्छिन्, “सबै कुरा पैसामा मात्रै केन्द्रित हुन्छ र तपाईंलाई कम जानकारी दिन र बढी बेच्न बाध्य पार्छ ।” नाभारोका अनुसार वेबमा प्रकाशकसँग रहेको स्वतन्त्रता हराउनुको अर्थ श्रोताका लागि सामग्रीको गुणस्तर खस्किनु हो ।
मानिसले प्रयास गर्न सक्ने अन्य सर्च इन्जिन पनि छन् । तर, ती सर्च इन्जिन पनि आफ्नो सर्च टुलमा एआई इन्टिग्रेट गरिरहेका छन् । उदाहरणका लागि माइक्रोसफ्टले आफ्नो बिङ सर्च इन्जिनमा एआई निर्माण गरिरहेको छ । तर गुगलका साना प्रतिस्पर्धीको बजार हिस्सा यति थोरै छ कि उनीहरूले अर्थतन्त्रमा कुनै प्रभाव पार्न सक्ने देख्न गाह्रो छ । र धेरैले आफ्नै एआई टुल थपिरहेका छन् ।
यदि प्रविधिको विकास त्यतैतिर अघि बढ्दै छ भने मेसिनद्वारा सञ्चालन हुने इन्टरनेट (मसिन वेब) अझ बन्द प्रकारको, कम विविधतायुक्त र वास्तवमै एकनासे हुन सक्छ । यसले गर्दा अनलाइनमा समय बिताउने मानिसको अनुभवलाई सीमित हुन्छ ।
तर केही विज्ञहरू भने डराइरहेका छैनन् । “यो सबै विकासक्रम भएकाले म त्यति चिन्तित छैन,” युनिभर्सिटी अफ साउथ ह्याम्प्टनकी कम्प्युटर विज्ञानकी प्रोफेसर र १९८० को दशकमा वर्ल्ड वाइड वेबको प्रारम्भिक ढाँचा डिजाइन गर्ने अग्रणीमध्ये एक डेम वेन्डी हल भन्छिन्, “अब एआई यसमा आएको छ र यसले सबै प्रणाली परिवर्तन गर्नेछ । ठ्याक्कै के हुनेछ भन्ने त म भन्न सक्दिनँ ।” उनी अगाडि थप्छिन्, “वेब अझै त्यहीं छ र अझै खुला छ । यदि गुगलले यस्तो बाटो लिन्छ भने कुनै न कुनै कुशल व्यक्तिले आम्दानी गर्ने नयाँ उपाय निकाल्नेछ । तर मलाई लाग्छ धेरैका लागि त्यो बेलासम्म ढिला भइसकेको हुनेछ ।”
त्यसोभए इन्टरनेट प्रयोगकर्ता के चाहन्छन् त ?
एआई मोड एक प्रभावशाली प्रविधि हो भन्नेमा कुनै शङ्का छैन । यसले ‘फ्यान आउट मेथड’ प्रयोग गर्छ । यो त्यस्तो विधि हो जहाँ एआईले सबैभन्दा पहिले प्रश्नलाई टुक्र्याउँछ र ती सबै प्रश्नको जवाफ खोज्न एकै पटक सर्च गर्छ । यसले एआई मोडलाई थप विविध स्रोत सिफारिस गर्न, जटिल प्रश्नको विस्तृत जवाफ तयार पार्न, गहिराइमा जान सघाउने गुगलको दाबी छ । र, यसले गर्दा तपाईं थप विस्तृतमा बुझ्न र आफ्नो जिज्ञासा मेटाउन विभिन्न प्रश्न सोध्न सक्नुहुन्छ ।
गुगलका अनुसार एआई ओभरभ्यूप्रतिको प्रतिक्रियाले एआई मोड अत्यन्त लोकप्रिय हुने सङ्केत गरेको छ । “जब प्रयोगकर्ताले एआई ओभरभ्यु प्रयोग गर्छन् उनीहरू प्राप्त नतिजाबाट खुसी हुन्छन् र अझ बढी खोजी गर्न थाल्छन्,” गुगलका सीईओ पिचाईले डेभलपर सम्मेलनमा भने, “यो पछिल्लो दशकको सर्चमा भएका सबैभन्दा सफल सुरुवातमध्ये एक हो ।” अर्थात् सर्च ओभरभ्युले सर्च प्रणालीलाई अझ राम्रो बनाएको छ भने प्रयोगकर्ताले चाहेको पनि यही हो भन्ने दाबी गुगलको छ ।
दुई हजारभन्दा बढी पत्रकारिता र मिडिया आउटलेटको प्रतिनिधित्व गर्ने ट्रेड ग्रुप न्यूज/मिडिया एलायन्सकी अध्यक्ष ड्यानियल कफी भन्छिन्, “तर त्यो कुनै औचित्य होइन ।” उनी अगाडि भन्छिन्, “यो चोरीको परिभाषा हो । एआईले निकालेका जवाफ सक्कली उत्पादनको विकल्प हुन् । उनीहरू हाम्रो सामग्रीमा पैसा कमाउँछन् तर हामीले बदलामा केही पाउँदैनौं । बिक्री भइरहेको सामान उत्पादन गर्ने मानिसको तर्फबाट यो व्यापारिक निर्णय गर्ने ठाउँ गुगलको होइन ।”
प्रकाशकसँग यसको कुनै विकल्प नभएको विज्ञहरू ठान्छन् । अदालतको मुद्दामा जारी गरिएको आन्तरिक कागजातले गुगलले आफ्नो नियम ‘चुपचाप अपडेट’ गरेको देखाएका छन् । त्यसैले गुगल सर्चमा भाग लिनुको अर्थ वेबसाइटले स्वतः आफ्नो सामग्री एआईका लागि प्रयोग गर्न अनुमति दिनु हो । यदि वेबसाइटले त्यसो गर्न चाहेनन् भने उनीहरू स्वतः गुगल सर्चबाट बाहिरिनु पर्ने हुन्छ । अर्थात् मानेनन् भने उनीहरू गुगल सर्चमा भेटिंदैनन् ।
गुगलका एक प्रवक्ताका अनुसार यी कागजातमा जे खुलेको छ त्यो केबल प्रारम्भिक छलफल मात्र हो । यसले कम्पनीको अन्तिम निर्णय प्रक्रियालाई खुलाएको छैन । अर्थात् आन्तरिक कागजातको विवरण सही हो । तर, यो लागू हुन्छ वा हुँदैन बन्ने स्पष्ट छैन । गुगलका प्रवक्ताका अनुसार गुगलले कन्टेन्टको एक्सेस वेबसाइट सञ्चालकलाई नै दिन्छ । उनीहरूले आफ्नो कन्टेन्ट एआई मोडमा देखाउने वा नदेखाउने भन्ने निर्णय लिन सक्छन् ।
“एआई जवाफ सक्कली उत्पादनको विकल्प हुन्,” कफी भन्छिन्, “यो एउटा व्यापारिक प्रस्ताव हो भन्ने मलाई लाग्दैन जसमा हामी कहिल्यै स्वेच्छाले सामेल हुनेछौं ।”
पछिल्लो एक वर्षमा अमेरिकी अदालतहरूले गुगलले एउटा ‘सर्च इन्जिन’ र अर्को ‘डिजिटल विज्ञापन’को व्यवसायमा एकाधिकार चलाएको ठहर गरेका छन् । अदालतले अब यसको सजाय दिन्छ भन्नेबारे निर्णय गर्न बाँकी छ । गुगललाई टुक्र्याउन सकिने वास्तविक सम्भावना पनि छ जसले इन्टरनेटमा उसको नियन्त्रणलाई गम्भीर धक्का दिन सक्छ ।
गुगलले भने अदालतको यो निर्णयसँग आफू असहमत रहेको र यसका विरुद्ध पुनरावेदन गर्ने योजना बनाएको बताएको छ । एआईको व्यापक प्रयोगसँगै उसले बजारमा ठुलो प्रतिस्पर्धाको सामना गरिरहेको गुगलको तर्क छ । साथै कम्पनीलाई टुक्र्याउने कुनै पनि प्रस्तावले उपभोक्तालाई नै हानि पुर्याउने र नयाँ प्रविधिको विकासलाई सुस्त बनाउने उसको दाबी छ ।
तर, स-साना कुराले गुगलको पकड यसै पनि कमजोर भइरहेको देखाउँछ । अदालतमा चलिरहेको मुद्दाको सुनुवाइको क्रममा एप्पलका एक कार्यकारी एडी क्यूले ‘२२ वर्षमा पहिलो पटक सफारी ब्राउजरमा गुगल सर्च घटेको’ बताएका थिए । यसको कारण मानिसले सर्चको सट्टामा एआई च्याटबट प्रयोग गर्नु हुन सक्ने उनको भनाइ थियो । यद्यपि गुगलले एक विज्ञप्ति जारी गर्दै एप्पलका डिभाइसबाट समेत समग्रमा सर्च गर्नेको सङ्ख्या बढिरहेको दाबी गरेको थियो ।
हालैको एक सर्वेक्षणले लगभग ७२ प्रतिशत अमेरिकीहरू कहिलेकाहीँ सर्च इन्जिनको सट्टा च्याटजीपीटी जस्ता एआई टुल प्रयोग गर्ने देखाएको थियो । एसईओ एजेन्सी ‘आईपुल र्याङ्क’का संस्थापक माइक किङ भन्छन्, “मलाई लाग्छ आफैँले खोज्दा धेरै कुरा सिकिन्छ तर धेरै मानिसलाई त्यति धेरै झन्झट आवश्यक छैन भन्ने लाग्छ ।”
तर एआई प्रयोग गर्दा केही गम्भीर बेफाइदा पनि छन् । किङ भन्छन्, “यसले ‘फिल्टर बबल’ (विचारको घेरा) लाई बढावा दिनेछ किनभने अब गुगलले तपाईंलाई सीधै जानकारी दिनुको सट्टा त्यसलाई आफैँ व्याख्या गरेर दिन्छ ।” एआई च्याटबटमा गरिएको अनुसन्धानले पनि के देखाएको छ भने तिनीहरू ‘इको चेम्बर’ (प्रतिध्वनि कक्ष) जस्तै काम गर्छन्, जहाँ प्रयोगकर्ताले आफ्नो विचारसँग मिल्ने कुरा मात्र बढी देख्छ वा सुन्छ । किङ थप्छन्, “यसले गर्दा तपाईंले अपेक्षा गरेकै जानकारीलाई थप बल पुग्छ ।”
हुन त एआईले दिने जवाफको गुणस्तरका बारेमा चिन्ता पनि थुप्रै छन् । केही अनुसन्धानले एआईको प्राविधिक क्षमता बढ्दै जाँदा यसको ‘ह्यालुसिनेसन’ अर्थात् मनगढन्ते जानकारी दिने समस्या झन् खराब हुँदै गइरहेको देखाएका छन् । गुगलका प्रमुख सुन्दर पिचाईले समेत एक पोडकास्ट अन्तर्वार्तामा ‘ह्यालुसिनेसन’लाई यो प्रविधिको ‘अन्तरनिहित विशेषता’ भनेका छन् । यद्यपि गुगलले एआईको जवाफलाई तथ्यमा आधारित बनाउन आफ्नो परम्परागत सर्च विधि प्रयोग गरिरहेको र एकुरेसी सुधार भइरहेको बताएको छ । गुगलले बीबीसीलाई बताएअनुसार एआई सर्चका अधिकांश जवाफ तथ्यपरक छन् र तिनको एकुरेसी अन्य सर्च फिचरकै स्तरमा छ ।
यद्यपि सुरुवाती चरणमा गुगलको ‘एआई ओभरभ्यु’ले मानिसलाई चट्टान खान र पिज्जाको रेसिपीमा गम हाल्न सुझाएको घटना देखिएका थिए । गुगलले यस्ता गल्ती तुरुन्तै सच्याइहाल्छ । तर, हालसालै सन् २०२५ को एक बिहीबार एआई ओभरभ्यु सुरु भएको एक वर्षपछि सोही एआईले आज बिहीबार होइन र यो सन् २०२५ पनि होइन भनिदिएको थियो ।
एआईले आफैले तयार पारेको भ्रामक तथा मिथ्या जानकारीबाटै एक प्रकारको ‘इको-चेम्बर’को प्रभाव पैदा गर्न सक्ने एक अध्ययनले देखाएको थियो । यसलाई कम्प्युटर वैज्ञानिकहरूले ‘च्याट चेम्बर्स’ भन्ने नयाँ नाम दिएका छन् । गुगलका एक प्रवक्ताका अनुसार उनीहरूको एआई प्रयोगकर्ताको रुचिअनुसार जानकारी देखाउन डिजाइन गरिएको हो । तर यसले वेबमा पाइने अन्य कुराहरूलाई सीमित गर्दैन ।
एकातिर ‘मसिन वेब’को सम्भावनाले इन्टरनेट बनाउने र त्यसमा निर्भर रहने धेरैलाई चिन्तित बनाएको छ भने अर्कोतिर गुगलले एक फरक र उत्साहजनक तस्वीर प्रस्तुत गरेको छ । गुगलका सीईओ सुन्दर पिचाइले ‘डिकोडर’ लाई भने, “अबको पाँच वर्षमा हामीले वेब (अन्य वेबसाइट)मा धेरै ट्राफिक पठाइरहेको देख्नुहुनेछ । मलाई लाग्छ हाम्रो प्रडक्टको आगामी गन्तव्य पनि यही हो र हामी यसमा प्रतिबद्ध छौं ।”
गुगलले बीबीसीलाई बताए अनुसार कम्पनी यस्तो रणनीति बनाइरहेको छ जसले सर्चलाई अझ उत्कृष्ट बनाउनेछ । यसले गर्दा प्रयोगकर्ताले विविध किसिमका प्रश्न सोध्न सक्नेछ । कन्टेन्ट तयार पार्ने र फेला पार्ने अवसरलाई अझ विस्तार गर्ने कम्पनीको योजना छ ।
“के हुन्छ भनेर म अहिले नै भविष्यवाणी गर्न गइरहेको छैन किनभने भविष्य धेरै कुरामा निर्भर हुन्छ । तर, यदि म अझै पनि जानकारी पाउन वा आफ्नो जानकारी अरूले फेला पारुन् भनेर गुगललाई महत्त्व दिने व्यक्ति हुन्थेँ भने म यो कुराले साँच्चै चिन्तित हुने थिएँ,” लामो समयदेखिका प्रविधि अभियन्ता तथा अनलाइन प्लेटफर्मको पतनबारे लेखिएको ‘इन्शिटिफिकेसन’ नामक किताबका लेखक कोरी डक्टोरो भन्छन् ।
यो इन्टरनेट प्रयोगकर्ताका लागि आफूले चाहेको परिवर्तनको माग गर्ने एउटा अवसर पनि हुन सक्ने उनी ठान्छन् । डक्टोरो अगाडि भन्छन्, “यो एउटा यस्तो सङ्कट हो, जसलाई हामीले खेर जान दिनु हुँदैन । गुगलले यस्तो केही गर्न लागेको छ जसले मानिसहरूलाई साँच्चै रुष्ट बनाउनेछ ।”
आफू त्यो ठाउँमा भए यो रिसलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने बारे सोच्ने उनी बताउँछन् । यसका लागि गुगललले ल्याउने परिवर्तनसँगै भिज्नुपर्ने उनको विचार छ ।
यसो भनिरहँदा गुगलले ल्याउने परिवर्तनको साँची बन्न र कुनै नियामक निकायले गुगललाई नियमन गर्ने समय पर्खिएर बस्न केही व्यक्ति तयार छैनन् । यसका लागि क्लाउडफ्लेयरका म्याथ्यु प्रिन्सले यस विरुद्धको अभियान चलाउने तयारी गरेका छन् । त्यसका लागि उनी ठूला समाचार तथा कन्टेन्ट प्लिशरसँग मिलेर एउटा समूह बनाउन चाहन्छन् ।
र, उक्त समूहले कुनै पनि एआईलाई वेबसाइट क्रल गर्न नदिने र यदि क्रल गर्न चाहे शुल्क लिने मोडालिटीमा काम गर्नेछ । मानिसहरू सबै कन्टेन्ट वेबसाइटमै गएर निःशुल्क पढ्न पाउन् तर एआईले ती कन्टेन्टमा निःशुल्क पहुँच नपाउन् भन्ने प्रिन्सको चाहना छ ।
(बीबीसीको इज गुगल अबाउट टु डिस्ट्रोए द वेब शीर्षकको लेखबाट नेपालीमा भावानुवाद गरिएको लेख । बीबीसीमा यो लेख प्रविधि पत्रकार थोमर जर्नेनले लेखेका हुन् ।)
पछिल्लो अध्यावधिक: जेठ ३१, २०८२ २१:१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– सङ्घीय संसद् सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीश र एकजना न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
समितिको आजको बैठकले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपालयका मुख्य न्यायाधीश शान्तिसिंह थापा तथा न्यायपरिषद्का प्रस्तावित सदस्य महेशकुमार नेपालको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको हो ।
समितिले उनीहरूका विषयमा कुनै उजुरी वा गुनासो भए १० दिनभित्र समितिमा पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् ।
उनले भनिन्, ‘संसदीय सुनुवाइका लागि प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषद् सदस्यका लागि पत्र आएको थियो, संसदीय सुनुवाइका अनुसार प्रक्रिया कुनै उजुरी भए १० दिनभित्र उपलब्ध गराउन सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय भएको छ ।’
त्यस्ता उजुरी सोझै सचिवालय वा इमेलबाट पठाउन सकिने व्यवस्था रहेको सभापति न्यौपानेले बताइन् । उनका अनुसार त्यसपछि संसदीय सुनुवाइ समितिले प्राप्त उजुरीबारे उजुरीकर्तासँग पुष्ट्याइँका लागि जानकारी लिने र प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ गर्नेछ ।
त्यस क्रममा प्रस्तावित व्यक्तिले आफ्नो कार्ययोजना, सोच र अवधारणा प्रस्तुत गर्नेछन् । उनीहरूले प्रस्तुत गरेको अवधारणाबारे समितिले ठीक ठहर्याएमा नाम अनुमोदन हुने र नियुक्तिको बाटो खुल्नेछ ।
न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी असार १० देखि रिक्त हुने न्यायपरिषद् सदस्य नियुक्तिका लागि नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि संसद् सचिवालयलाई पत्र पठाएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ