काठमाडौँ । सरकारले विदेशबाट नेपाल फर्किने यात्रुहरूले साथमा ल्याउन पाउने निजी प्रयोगका सामग्रीबारे नयाँ व्यवस्था सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले भन्सार ऐन, २०८१ को अधिकार प्रयोग गर्दै नेपाल राजपत्रमार्फत सूचना प्रकाशित गर्दै भन्सार छुटसम्बन्धी नयाँ व्यवस्था लागु भएको घोषणा गरेको हो ।

२०८१ साउन २९ मा प्रकाशित पुरानो सूचना खारेज भई यो नयाँ प्रावधान जेठ १५ गतेदेखि लागु गरिएको हो । यसमा विशेषतः वैदेशिक रोजगारीबाट फर्किने नेपालीलाई लक्षित गर्दै मोबाइल र टेलिभिजनमा उल्लेख्य भन्सार छुटको व्यवस्था गरिएको छ ।
नयाँ नियमअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका र नेपाल फर्किएका नेपाली नागरिकलाई निम्न विशेष छुट दिइएको छ ।
-
मोबाइल फोन: कम्तीमा ६ महिना लगातार काम गरी फर्किएका नेपालीले आफूले प्रयोग गरेको एक थान मोबाइलबाहेक थप एक थान नयाँ मोबाइल फोन पनि पूर्ण भन्सार छुटमा ल्याउन पाउनेछन् ।
-
टेलिभिजन: कम्तीमा १२ महिना काम गरी फर्किएका र सामाजिक सुरक्षा कोषमा सूचीकृत रहेका नेपालीले जुनसुकै आकार वा प्रकारको एक थान टिभी पूर्ण भन्सार छुटमा ल्याउन सक्नेछन् । सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका भए पनि १२ महिना कार्य अनुभव प्रमाणित गरे ३२ इन्चसम्मको टिभीमा छुट पाइनेछ । यो सुविधा जीवनभरमा एकपटक मात्र पाइने र अभिलेख राखिने उल्लेख छ ।
त्यस्तै वैदेशिक यात्राबाट फर्किने सबै नेपाली नागरिकले व्यक्तिगत प्रयोगका लागि निम्न सामग्रीमा पूर्ण भन्सार छुट पाउने छन्:
-
एक-एक थान: ल्यापटप वा ट्याबलेट, घडी, क्यामरा, भिडियो क्यामरा, मोबाइल फोन (आफूले प्रयोग गरेको) ।
-
व्यक्तिगत सामग्री: प्रयोग गरिएका लुगाफाटा, ओछ्यान-बिछ्यौना, घरायसी सामग्री आदि ।
-
अन्य: बिरामीले ल्याएका औषधि, शारीरिक अशक्तताका सहायक उपकरण, ७ केजीसम्म खाद्य परिकार र १ लिटरसम्मको मदिरा ।
महसुल तिरेर ल्याउन पाइने अन्य सामग्री
नेपालमा स्थायी बसोबास गर्ने नेपालीले यी सामग्री महसुल तिरेर ल्याउन सक्नेछन्:
-
घरायसी सामग्री: टिभी, म्युजिक सिस्टम, रेफ्रिजरेटर, वासिङ मेसिन, पङ्खा (एक/एक थान) ।
-
साना उपकरण: मिक्सर, जुसर, सिलाइ मेसिन, आइरन, राइस कुकर (दुई/दुई थान) ।
-
लत्ताकपडा र सौन्दर्य सामग्री: पाँच/पाँच थानसम्मका कपडा, जुत्ता, कस्मेटिक सामग्री ।
-
खाद्य सामग्री: अधिकतम १० केजीसम्म।
६ महिनाभन्दा बढी विदेश बसेका नेपालीले १५ हजार रुपैयाँसम्म र एक वर्षभन्दा बढी बसेकाले २५ हजार रुपैयाँसम्म मूल्यका सामग्रीमा थप छुट पाउनेछन् ।
विदेशी पर्यटकका लागि के छ व्यवस्था ?
नेपाल प्रवेश गर्ने वा बाहिरिने विदेशी यात्रुहरूले निम्न सामग्रीहरू भन्सार छुटमा ल्याउन वा लैजान सक्नेछन्:
-
एक-एक थान: दूरबिन, ट्याबलेट वा ल्यापटप, क्यामरा, मोबाइल, घडी, पोर्टेबल म्युजिक सिस्टम, साइकल ।
-
मदिरा: १ लिटर वा १२ क्यान बियर ।
-
चुरोट/सुर्ती: २०० चुरोट, ५० सिगार वा २५० ग्राम सुर्ती ।
-
अन्य: १०,००० रुपैयाँसम्मको औषधि, ५,००० रुपैयाँसम्मको खाद्य परिकार, २,००० रुपैयाँसम्मको ताजा फलफूल ।
योसँगै नेपाल प्रवेश गर्दा पाँच हजार अमेरिकी डलरभन्दा बढी मूल्यको विदेशी मुद्रा वा ट्राभलर्स चेक भएमा भन्सार बिन्दुमा घोषणा अनिवार्य गरिएको छ । भन्सारमा घोषणा नगरी लुकाइछिपाई ल्याइएका सामग्री जफत गरी प्रचलित कानुनअनुसार कारबाही हुने बताइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ ३१, २०८२ १३:४६
सामाग्री श्रोत :
टेक पाना