२०८२ असार १ आईतवार
LATEST NEWS
२०८२ असार १ आईतवार

सावधान ! ह्वाट्सएपमा स्क्रिन शेयर गर्न लगाएर बैंक खाता रित्याउँदै स्क्यामर, जोगिने कसरी ?

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गर्दै अनलाइन ठगीको नयाँ तरिका अपनाएको पाइएको छ । स्क्यामर (ठग)ले ह्वाट्सएपमार्फत सम्पर्क गरी स्क्रिन शेयर गर्न लगाएर प्रयोगकर्ताको ‘वन टाइम पासवर्ड’ (ओटीपी) चोर्ने र बैंक खाताबाट रकम गायब पार्ने घटना बढेपछि बैंकहरूले ग्राहकलाई सचेत गराएका छन् ।

यसै विषयमा लक्ष्मी सनराइज बैंकले पनि आफ्ना ग्राहकलाई सचेत बनाएको छ । बैंकका अनुसार यस किसिमको ठगीको घटनामा स्क्यामरले सबैभन्दा पहिले फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा आकर्षक वस्तु तथा सेवाको भ्रामक विज्ञापन राख्छन् । उक्त विज्ञापन देखेर सम्पर्कमा आउने व्यक्तिलाई सामान ‘अर्डर’ सुनिश्चित गर्न भन्दै अग्रिम भुक्तानी गर्न लगाइन्छ ।

खरिदकर्ताले पैसा तिरेपछि ठगले ‘भुक्तानी प्राप्त नभएको’ वा ‘पैसा होल्डमा बसेको’ जस्ता बहाना बनाउँछन् । त्यसपछि ‘होल्ड भएको रकम फुकुवा गर्न सहयोग गरिदिनुपर्‍यो’ भन्दै ह्वाट्सएप जस्ता माध्यमबाट कल गरी मोबाइलको स्क्रिन शेयर गर्न लगाउँछन् ।

प्रयोगकर्ताले स्क्रिन शेयर गरेपछि ठगले पीडितको मोबाइल बैंकिङ एप खोल्न लगाउँछन् र खातामा भएको रकम हेर्छन् । सोही रकम बराबरको वा त्योभन्दा ठुलो रकमको भुक्तानी अनुरोध (payment request) आफ्नै खातामा पठाउँछन् । पीडितको मोबाइलमा देखिने ओटीपी कोडलाई ‘रकम फिर्ता गर्ने कोड’ हो भनी भ्रममा पारी त्यही कोड हाल्न लगाउँछन् ।

पीडितले झुक्किएर उक्त ओटीपी राख्ने बित्तिकै उनीहरूको खाताबाट पैसा सिधै ठगको खातामा पुग्छ र ठुलो आर्थिक क्षति हुन्छ ।

यस्ता ठगीबाट जोगिन के गर्ने ?

यस्ता किसिमका ठगीबाट बच्न बैंक तथा वित्तीय संस्थाहरूले निम्न उपाय अपनाउन सुझाव दिएका छन्:

  • गोपनीयता कायम राख्नुहोस्: कसैले पनि मागेमा आफ्नो ओटीपी, पिन कोड, पासवर्ड वा अन्य गोप्य जानकारी नदिनुहोस् । बैंकले समेत यस्ता जानकारी कहिल्यै माग्दैन । आफ्नै आफन्तबाट ओटीपी कोड पठाउन अनुरोध आए पनि भरसक नदिनुहोस् । ओटीपी तपाईंलाई मात्र काम लाग्ने चिज हो । कुनै अकाउन्टमा लगइन गर्ने व्यक्ति तपाईं नै हो वा कुनै अकाउन्ट बनाउँदा त्यसमा तपाईं जिम्मेवार हुनुहुन्छ भन्नका लागि ओटीपी पठाइन्छ । त्यसैले जोकोहीले ओटीपी कोड मागे सोझै अस्वीकार गर्नु नै राम्रो हुन्छ ।

  • स्क्रिन शेयर नगर्नुहोस्: अपरिचित व्यक्तिले अनुरोध गर्दैमा आफ्नो मोबाइल वा कम्प्युटरको स्क्रिन शेयर नगर्नुहोस् । स्क्रिन शेयर गर्दा तपाईंका सबै गोप्य विवरण अर्को व्यक्तिले देख्न सक्छ । 

  • सचेत रहनुहोस्: सामाजिक सञ्जालमा देखिने अपत्यारिला र आकर्षक विज्ञापनबाट जोगिनुहोस् । खरिद गर्नुअघि बिक्रेताको आधिकारिकता र विश्वसनीयता जाँच गर्नुहोस् । भरसक सामान पाइसकेपछि रकम दिने (क्याश अन डेलिभरी गर्ने) बताउनुहोस् । यदि दिनै पर्छ भनी वाध्य पारे अग्रिम भुक्तानी गर्दा वालेट कम्पनीले उपलब्ध गराउँदै आएको ‘ईस्क्रो’ सेवा प्रयोग गर्नुहोस् । ईस्क्रो सेवा के हो भन्ने बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

  • ओटीपीको काम बुझ्नुहोस्: अनलाइन कारोबार गर्दा पैसा पठाउन मात्र ओटीपी चाहिन्छ, पाउनका लागि चाहिँदैन । त्यसैले ओटीपी पठाउनुहोस् म तपाईंलाई रकम फिर्ता गरिदिन्छु भनेको छ भने नपत्याउनुहोस् । 

  • शंका लागेमा सम्पर्क गर्नुहोस्: कुनै पनि भुक्तानी वा शंकास्पद गतिविधिबारे तुरुन्तै आफ्नो बैंक वा प्रहरीको साइबर ब्युरो (०१-५३१९०४४) मा सम्पर्क गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८२ ११:७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट