काठमाडौँ । युट्युब च्यानलमार्फत एक युवतीको चरित्रहत्या गरेको आरोपमा शर्मिला श्रेष्ठ (राई) सहित विशाल खबर (Bishal Khabar) का सञ्चालक पासाङ तामाङ र जुम टिभी नेपाल (Zoom Tv Nepal) की सञ्चालक विनिता कुँवर क्षेत्रीविरुद्ध साइबर अपराध अन्तर्गत मुद्दा दायर गरिएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरूविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । १३ जेठ, २०८२ मा दर्ता भएको अभियोगपत्र अनुसार एक युवतीले शर्मिला श्रेष्ठविरुद्ध साइबर ब्युरोमा गएको ४ जेठ, २०८२ मा उजुरी दिएकी थिइन् ।
उजुरीमा भनिए अनुसार, शर्मिला र पीडित युवतीबिच करिब दुई वर्षअघि टिकटकबाट चिनजान भई आपसी लेनदेन र सह-सहयोग पनि हुन्थ्यो । पछि सोही लेनदेनको विषयमा विवाद हुँदा शर्मिलाले पीडित युवतीलाई कुटपिट गरी सख्त घाइते बनाई अस्पताल पुर्याएको तथा युट्युबमार्फत चरित्रहत्या हुनेगरी भिडिओ अन्तर्वार्ता दिएको/अपलोड गरेको आरोप छ ।
शर्मिला श्रेष्ठको विवादास्पद भिडिओ अन्तर्वार्ता पासाङ तामाङको ‘विशाल खबर’ र विनिता कुँवर क्षत्रीको ‘जुम टिभी नेपाल’ च्यानलबाट प्रसारण गरिएको थियो । ती भिडिओमा ‘…ले भुँ… बोकेर पाएको छोरी हो, यसको भिडिओ छ’ भन्ने अभिव्यक्ति राखिएको अभियोगपत्रमा उल्लेख छ । यसबाट आफू र आफूले पालेको नाबालक बच्चासमेतको सार्वजनिक नैतिकता, शिष्टाचारमा असर पार्ने गरी घृणा, द्वेष फैलाउने र चरित्रहत्या गर्ने काम गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

मुद्दा दर्ताका बेला युट्युबरहरू पासाङ तामाङ र विनिता कुँवर क्षेत्रीलाई फरार प्रतिवादीका रूपमा उल्लेख गरिएकोमा पछि उनीहरू सम्पर्कमा आएपछि गएको १९ जेठमा थुनछेक बहसमार्फत अदालतले जनही २५ हजार रुपैयाँ धराैटीमा रिहा गर्ने आदेश दिएको थियो । उक्त मुद्दामा आउँदो २२ असारमा सुनुवाइको मिति तोकिएको छ ।
बयानका क्रममा प्रतिवादी शर्मिला श्रेष्ठले पीडित भनिएकी युवतीले आफूलाई ‘अरू केटाहरूसँग पनि हिँड्ने’ भन्दै आरोप लगाउने गरेको, केटा मानिसहरूसँग बोल्दा मात्र पनि भिडिओ बनाएर विदेशमा रहेका आफ्नो श्रीमानलाई पठाएर झगडा गराई दिने गरेको, र आफ्नै श्रीमानबाट जन्मिएका एक छोरा र एक छोरीलाई पनि ‘एउटा बच्चा एक जनाबाट, अर्को अर्कोबाट जन्मिएको हो’ भन्दै झुटो आरोप लगाउने गरेको बताएकी छिन् । उक्त कार्यले आफूलाई असह्य भई युट्युब च्यानलमार्फत अन्तर्वार्ता दिएको भन्दै उनले गल्ती स्वीकार गरेकी छिन् ।
तीनै जनालाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) बमोजिमको कसुरमा अभियोगपत्र दायर गरिएको हो । उक्त दफामा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
यसका साथै ‘गोल्डेन टिभी’ नामक युट्युब च्यानलले पनि शर्मिला श्रेष्ठको अन्तर्वार्ता प्रसारण गरेको र त्यसको विवरण खुल्न नसकेकोले भविष्यमा थप प्रमाण वा संलग्नता खुलेमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ अनुसार थप अभियोग पत्र पेस गरिने उल्लेख छ ।
*समाचार अपडेट गरिएको छ । स.
पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ १६:३८
सामाग्री श्रोत :
टेक पाना