काठमाडौँ । काठमाडौँ इन्जिनियरिङ कलेजमा सम्पन्न ‘रोबोटिक्स फर गुड युथ च्यालेन्ज- नेपाल राष्ट्रिय प्रतियोगिता’ बाट विजयी भएका टोलीहरूले सन् २०२५ मा स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआई फर गुड ग्लोबल समिट’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान)ले अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) र काठमाडौँ इन्जिनियरिङ कलेजको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा देशभरिका युवाले बाढी, पहिरो, विपद् व्यवस्थापन, स्वास्थ्य, शिक्षा र समावेशी प्रविधिसँग सम्बन्धित सामाजिक समस्याहरू समाधान गर्ने प्रविधिमा आधारित नवीनतम समाधान प्रस्तुत गरेका थिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यक्रमको उद्घाटन गर्दै युवामुखी प्रविधि प्रवर्द्धन कार्यक्रम आयोजना गरेबापत र्यानलाई धन्यवाद दिए । मन्त्री गुरुङले प्रविधिमा राज्य र निजी क्षेत्र दुवैले गम्भीर ढंगले लगानी गर्नुपर्ने आवश्यकता रहेको बताए । उनका अनुसार मन्त्रालयले प्रविधि, एआई, रोबोटिक्स र आईसीटी पूर्वाधार विकासका लागि ३० अर्ब रुपैयाँको बजेट माग गरेपनि सातदेखि आठ अर्ब मात्र स्वीकृत भएको छ । उनले भने, “यदि हामी विद्यार्थीबाट इनोभेसन चाहन्छौं भने उनीहरूको भविष्यमा लगानी गर्नुपर्छ ।”
कार्यक्रममा संघीय सरकारका नीति निर्माता, अनुसन्धानकर्ता, शैक्षिक संस्थाका प्रतिनिधि, विद्यार्थी र युवा उद्यमीको सहभागिता थियो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) का सचिव डा. रविन्द्रप्रसाद ढकालले ‘AI for Good’ को अर्थ प्रविधिको समाजमैत्री प्रयोग भएको उल्लेख गर्दै प्रविधिले समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले नेपालमै बनेको स्याटलाइट ‘डाँफे’ को सफल प्रयोग उदाहरणस्वरूप प्रस्तुत गरे ।

पुल्चोक क्याम्पसका डीन डा. सुशील बज्राचार्यले प्रविधिमा आधारित नवप्रवर्तनलाई सघाउन १८-१९ तले प्रविधि इन्क्युबेसन टावर निर्माणको प्रस्ताव मन्त्रालयमा पठाइसकिएको जानकारी दिए । झन्डै ९ अर्ब रुपैयाँको पूर्वाधार विकास योजना शिक्षा मन्त्रालयमा पेस गरिएको उनले बताए ।
कार्यक्रममा र्यानका महासचिव ओमकार जैसवालले सरकारले सञ्चालनमा ल्याएको डिजिटल नीतिको प्रशंसा गर्दै दीर्घकालीन संस्थागत सहकार्य र सशक्त संलग्नताको आवश्यकता औंल्याए । उनले नास्टसँगको सहकार्यमा तयार पारिएको ‘नेसनल इनोभेसन डिजिटल नेटवर्क’ को जानकारी दिँदै नवप्रवर्तनकर्तालाई राष्ट्रिय स्तरमा समाधान प्रदर्शन र विस्तार गर्न प्लेटफर्म प्रदान गरिने बताए ।
प्रतियोगिताको वरिष्ठ तहतर्फ प्रथम स्थान Team Panchkhal (नारायण श्रेष्ठ र प्रवीण श्रेष्ठ), द्वितीय स्थान Team Innovator’s (प्रिजल बस्नेत, सम्पना केसी र श्रेयश आचार्य) र तृतीय स्थान Blockbuddy (काजोल चन्द, शेरोन थापा र मुना बुढाथोकी) ले प्राप्त गरे ।
यी टोलीहरू सन् २०२५ को जुलाई ९ मा जिनेभामा हुने सम्मेलनमा सहभागी हुँदै ६० भन्दा बढी देशका प्रतिनिधिसँग अन्तरक्रिया र प्रतिस्पर्धा गर्नेछन् ।
यसैबिच, कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको लागि आयोजना गरिएको जुनियर तहको प्रतियोगिता युनाइटेड स्कुल, ललितपुरमा सम्पन्न भएको थियो । सो प्रतियोगिताबाट छनोट भएका टोलीहरू युनाइटेड स्कुलका आरव गौतम र परीधी श्रेष्ठ, केएमसी स्कुलका अनुपम भुजेल तथा समृद्ध स्कुलका ऋद्धि मानन्धरलाई समेत जेनेभा पठाइनेछ । उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालका सामाजिक चुनौतीहरूप्रति संवेदनशील दृष्टिकोणसहित देशको प्रतिनिधित्व गर्नेछन् ।
पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ १८:५४
सामाग्री श्रोत :
टेक पाना