काठमाडौं– नेपाल मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु भएको छ।
अस्पतालले पोखरा निवासी ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण गरेको छ। कार्कीलाई उनका २६ वर्षीय छोरा आयुषले कलेजो दान गरेका थिए।
अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार यो प्रत्यारोपणमा दाताको शल्यक्रिया ९ घण्टा र प्राप्तकर्ताको १३ घण्टा चलेको थियो।
भारतको अमृता अस्पतालसँगको सहकार्यमा नेपाल मेडिसिटीका चिकित्सकहरूको नेतृत्वमा यो शल्यक्रिया सम्पन्न भएको हो।
‘हामी दुईपटक भारत गएर उपचार गराउन खोज्यौं, तर डाक्टरको परामर्श चित्त बुझेन। बुबालाई मिर्गौला र कलेजो दुवै प्रत्यारोपण गर्नुपर्छ भनिएपछि हामी नेपाल फर्कियौं,” कलेजो दाता आयुष कार्कीले भने, ‘मेडिसिटीमा सेवा पाइने थाहा पाएपछि हामीले यहीँ प्रत्यारोपण गर्ने निर्णय गर्यौं। यदि पहिल्यै यहाँ परामर्श लिएको भए हाम्रो समय र पैसा दुवै जोगिन्थ्यो।’
अस्पतालका अध्यक्ष उपेन्द्र महतोले भने, “नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण सेवा सुरु भएको छ। हाम्रो मल्टिडिसिप्लिनरी टोलीका कारण यस्तो जटिल शल्यक्रिया सफल भएको हो।’
ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख प्रोफेसर डा. उमिद कुमार श्रेष्ठका अनुसार बिरामी कार्कीको कलेजो र मिर्गौला दुखाइको समस्या थियो। ‘पेटमा पानी जम्ने, होस हराउने, रगत वान्ता हुने र बेहोस हुने जस्ता लक्षण थिए। उनको अवस्था जटिल भए पनि सफल प्रत्यारोपण भएको छ,’ डा श्रेष्ठले भने। कलेजो प्रत्यारोपणपछि बिरामीको मिर्गौलामा पनि सुधार देखिएको छ।
कलेजो प्रत्यारोपण सर्जन डा रामबाबु साहले भने, ‘बिरामीको जटिल अवस्थाका कारण हामीले पहिले कलेजो प्रत्यारोपण गर्ने र मिर्गौलाको अवस्था जाँचेर मात्र थप उपचार गर्ने योजना बनाएका थियौं। यो चुनौतीपूर्ण शल्यक्रिया सफल भएको छ।’
नेपाल मेडिसिटीले अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सुलभ शुल्कमा प्रदान गर्ने लक्ष्य राखेको छ। हालसम्म अस्पतालमा ४५ जनाको मिर्गौला प्रत्यारोपण र ५०० भन्दा बढीको हिप तथा जोर्नी प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेको छ।
सामाग्री श्रोत :
swasthyakhabar

