
काठमाडौँ । प्रविधि कम्पनी मेटाले हालै सार्वजनिक गरेको ‘मेटा एआई’ एप र यसको ‘डिस्कभर’ (Discover) फिडले प्रयोगकर्ताको गोपनीयतामाथि गम्भीर प्रश्नहरू खडा गरेको छ । यस फिचर मार्फत प्रयोगकर्ताले थाहै नपाईँ आफ्ना निजी तथा गोप्य जानकारी समेत सार्वजनिक गर्न थालेपछि साइबर सुरक्षाको चिन्ता बढेको हो ।
फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामजस्ता चर्चित सामाजिक सञ्जालमा सहजै उपलब्ध यो एआईलाई ‘व्यक्तिगत भर्चुअल सहायक’ का रूपमा प्रचार गरिएको छ, जसले कस्टमर सपोर्ट, सामग्री निर्माण, डेटा विश्लेषण र प्रतिलिपि तयार पार्ने जस्ता कामहरूमा मद्दत गर्न सक्छ । यो ‘लामा’ (Llama) नामक शक्तिशाली ओपन-सोर्स लार्ज ल्याङ्ग्वेज मोडेलमा आधारित छ र यसले मानवजस्तै भाषा बुझ्न र उत्पन्न गर्न सक्छ । साथै यो एआईले तस्विरहरू पनि सिर्जना गर्न सक्छ ।
मेटा एआई एपमा रहेको ‘डिस्कभर’ फिडले प्रयोगकर्ताहरूलाई अन्य व्यक्तिले एआईसँग गरेका कुराकानीहरू तथा सिर्जना गरेका तस्विरहरू हेर्ने र शेयर गर्ने अनुमति दिन्छ । तर, धेरै प्रयोगकर्ताले आफ्ना निजी कुराकानीहरू सार्वजनिक भइरहेको बारेमा थाहै नपाई ‘शेयर’ बटन थिचिदिँदा समस्या उत्पन्न भएको हो ।

यस फिडमा कतिपय प्रयोगकर्ताका व्यक्तिगत, संवेदनशील र लज्जास्पद जानकारीहरू सार्वजनिक भएको पाइएको छ । रिपोर्टहरूका अनुसार, प्रयोगकर्ताहरूले स्वास्थ्यसम्बन्धी लक्षणहरू, कानुनी प्रश्नहरू, कर छलीको बारेमा सोधपुछ, सम्बन्धका समस्याहरू, र बच्चाको हिरासतसम्बन्धी कानुनी कागजातहरू जस्ता जानकारी एआईसँग शेयर गरेका छन्, जसमा उनीहरूको पूरा नाम, ठेगाना, र फोन नम्बरसमेत समावेश छ । टेकक्रञ्चले यस विषयलाई लिएर मेटा एपलाई प्राइभेसी डिजास्टर कै संज्ञा दिएको छ ।
कतिपय अवस्थामा त प्रयोगकर्ताहरूले अडियो रेकर्डिङमार्फत गरेका निजी कुराकानीहरू पनि सार्वजनिक भएका छन् । साइबर सुरक्षा विशेषज्ञ र प्रविधि क्षेत्रका लगानीकर्ताहरूले यस मुद्दालाई सार्वजनिक रूपमा उठाएका छन्, जसले प्रयोगकर्ताहरूलाई यस्तो संवेदनशील जानकारी सार्वजनिक भइरहेको बारे सचेत गराइरहेका छन् ।
कतिपय प्रयोगकर्ताहरूले त मेटा एआईलाई ग्राहक सेवाको रूपमा वा प्राविधिक सहयोगका लागि प्रयोग गरिरहेका छन् । जसले गर्दा थप निजी जानकारी सार्वजनिक भइरहेको छ ।
उता मेटाले भने ‘डिस्कभर’ फिडमा कुराकानी सार्वजनिक गर्न प्रयोगकर्ताले ‘शेयर’ बटन थिचेर विभिन्न चरणको प्रक्रिया पूरा गर्नुपर्ने बताएको छ । कम्पनीले भनेको छ, “जबसम्म तपाईँले आफैँ पोस्ट गर्ने विकल्प रोज्नुहुन्न, त्यतिन्जेल तपाईँको फिडमा केही पनि शेयर हुँदैन ।”
तर, आलोचकहरूले मेटाको इन्टरफेस भ्रामक भएको र प्रयोगकर्ताहरूलाई स्पष्ट रूपमा जानकारी नदिई निजी कुराकानी सार्वजनिक गर्ने अवस्था सिर्जना गरेको आरोप लगाएका छन् । उनीहरूका अनुसार, गुगलले सर्च सम्बन्धी प्रश्नहरू गोप्य राखेजस्तो वा च्याटजीपीटीजस्ता अन्य च्याटबोटहरूले कुराकानी शेयर गर्न वैकल्पिक लिंकहरू दिए जस्तो नगरेर मेटाले सार्वजनिक शेयरिङलाई प्रोत्साहन दिएको देखिन्छ । जसले गोपनीयताको खतरा निम्त्याएको छ ।
यो गोपनीयताको चिन्ताका कारण मेटा एआई एपको डाउनलोड अपेक्षाकृत रूपमा कम रहेको पाइएको छ । अप्रिल २९ मा सार्वजनिक भएदेखि यस एपलाई ६५ लाख पटक मात्र डाउनलोड गरिएको छ, जुन यति ठुलो प्रविधि कम्पनीको उत्पादनका लागि निकै कम हो ।
मेटा एआईले लामा ४ मा आधारित भएर व्यक्तिगत अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । जसले प्रयोगकर्ताको प्राथमिकताहरू बुझ्ने र सन्दर्भ सम्झने क्षमता राख्छ । परीक्षणमा मेटा एआई दैनिक र रचनात्मक कार्यहरूका लागि छिटो र सहज रहेको पाइएको छ । यसले सारांश तयार पार्न, स्वास्थ्य सुझाव दिन र सिफारिस उपलब्ध गराउन राम्रो र सन्दर्भसहितका जवाफ दिएको छ ।
सामाजिक सञ्जाल-शैलीका कार्यहरू जस्तै इन्स्टाग्राम क्याप्सन तयार पार्न यो छिटो र सहज छ । तर, यसको तस्विर तयार पार्ने सुविधा (Imagine feature) ले सिर्जना गरेका सबै तस्विरहरूमा ‘वाटरमार्क’ आउने गरेको छ, जुन व्यावसायिक प्रयोजनका लागि असुविधाजनक हुन सक्छ । साथै, जटिल प्रश्नहरूको जवाफमा यसले गहिराइको कमी देखाउने गरेको र कहिलेकाहीँ पुरानो वा अप्रासङ्गिक जानकारी समेत दिने गरेको पाइएको छ ।
गोपनीयताको यो विषय मेटाका लागि नयाँ होइन, विगतमा पनि कम्पनीले प्रयोगकर्ताको डेटा ह्यान्डलिङमा आलोचना खेपेको थियो । विज्ञहरूले प्रयोगकर्ताहरूलाई एआईमा राखिने कुनै पनि जानकारी गोप्य नरहने र कम्तीमा मेटासम्म पुग्ने कुरा बुझाउन जरुरी रहेको कुरामा जोड दिएका छन् ।
मेटा एआईको डिस्कभर फिचर वेब भर्सनमा उपलब्ध भए पनि नेपाली मोबाइल प्रयोगकर्तामाझ भने अझै आइसकेको छैन । यदि तपाईँ मेटा एआई एपको डिस्कभर फिचर प्रयोग गर्दै हुनुहुन्छ भने, आफ्ना कुराकानीहरूको गोपनीयता सुनिश्चित गर्न निम्न कुराहरूमा ध्यान दिनु पर्ने हुन्छ ।
कसरी जोगाउने आफ्नो गोपनीयता ?
-
प्राइभेसी सेटिङ जाँच गर्नुहोस्: मेटा एआई एपको सेटिङमा गएर ‘डेटा एन्ड प्राइभेसी’ (Data & Privacy) भित्र ‘म्यानेज योर इन्फर्मेसन’ (Manage your information) मा ‘मेक अल योर प्रम्पट्स भिजिबल टु अन्ली यु’ (Make all your prompts visible to only you) विकल्प सक्रिय गर्नुहोस् ।
-
पोस्टहरू डिलिट गर्नुहोस्: यदि तपाईँले पहिले नै सार्वजनिक रूपमा पोस्ट गरिसक्नु भएको छ भने, ‘डिलिट अल प्रम्पट्स’ (Delete all prompts) विकल्प प्रयोग गरेर ती पोस्टहरू मेटाउन सक्नुहुन्छ ।
-
सावधानी अपनाउनुहोस्: एआई च्याटबटहरूसँग संवेदनशील वा गोप्य जानकारी शेयर गर्दा सधैँ सावधानी अपनाउनुहोस्, किनकि एआई अझै पनि त्रुटि रहित बनिसकेको छैन ।
पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ १९:१७
सामाग्री श्रोत :
टेक पाना