२०८२ असार १ आईतवार
२०८२ असार १ आईतवार

टेलिफोन संवादलाई धम्की भनियो, तर मेरो परिवारको बदनाम गर्नेलाई कारबाही हुनैपर्छः आरजू

काठमाडौँ । परराष्ट्रमन्त्री एवं नेपाली काङ्ग्रेसकी नेतृ आरजू राणा देउवाले आफ्नो परिवारलाई बदनाम गराउने नियतले सामाजिक सञ्जालमा भ्रामक भिडिओ प्रकाशन गर्नेलाई कानुनी कारबाही हुनुपर्ने बताएकी छन् । शुक्रबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले उक्त भिडिओ प्रकाशन गर्ने संस्था प्रेस काउन्सिलमा दर्ता नभएकाले कानुनी उपचारका लागि अदालत जानुपरेको जिकिर गरेकी हुन् ।

पत्रकार दिलभूषण पाठकले सञ्चालन गर्दै आएको ‘टफ टक विथ दिलभूषण पाठक’ नामक युट्युब च्यानलबाट करिब तीन साताअघि देउवाका छोरा जयवीरसिंह देउवाले हिल्टन होटेलको शेयर खरिद गरेको भन्ने विषयमा टिप्पणी गर्दै एक भिडिओ सामग्री प्रसारण भएको थियो । उक्त सामग्रीलाई लिएर जयवीरसिंहले साइबर ब्युरोमा उजुरी दिएका थिए । 

सोही उजुरीको आधारमा ब्युरोले जिल्ला अदालत, काठमाडौँबाट पत्रकार पाठकलाई पक्राउ गर्न अनुमति लिएको थियो । त्यसपछि सामाजिक सञ्जालमा सत्ताको दुरुपयोग गरी प्रेस स्वतन्त्रतामाथि प्रहार भएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ ।

यसैबिच परराष्ट्रमन्त्री डा. राणाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग भएको टेलिफोन संवादलाई ज्ञवालीको पत्रिका ‘नागरिक दैनिक’ले ‘धम्की’को रूपमा चित्रण गरी समाचार प्रकाशित गरेकोमा आश्चर्य व्यक्त गरेकी छन् । 

उनले आफ्नो कुराकानीलाई तोडमोड गरेर धम्कीको रूप दिएको भन्दै आपत्ति जनाइन् । आफ्नो सामाजिक सञ्जालमा उनले लेखेकी छन्, “नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग हिजो भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी उनको पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु । हाम्रो परिवारलाई बदनाम गराउने दूषित मनासयसहित सामाजिक सञ्जालमा आएको एक तथ्यहीन र भ्रामक भिडिओ र त्यसको न्यायिक निरूपणका बारेमा उहाँसँग कुराकानी भएको हो ।”

उनले कानुनी प्रक्रियाबारे जानकारी गराउनुलाई अन्यथा रूपमा व्याख्या गरिएको बताएकी छन् । “उक्त भ्रामक र तथ्यहीन भिडिओ प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिलमार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौँ,” उनले थपेकी छिन्, 

“मैले म आफू नियमित पाठक रहेको न्युयोर्क टाइम्स जस्तो मिडियाको सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडिओलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएकी हुँ । तर हामीबिच भएको फोन संवादलाई तोडमोड गरेर उहाँले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ ।”

प्रेस स्वतन्त्रताप्रति आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै देउवाले मिडियाले पनि आफ्नो जिम्मेवारीबोध र विश्वसनीयता गुमाउन नहुनेमा जोड दिएकी छन् । “लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ भन्ने मेरो धारणा हो । स्वभावैले मिडिया पीडितमैत्री हुन्छ भन्ने मेरो बुझाई हो । यसैका आधारमा राखिएका कतिपय धारणाहरूलाई प्रेसले धम्कीपूर्ण भाषाका रूपमा बुझ्नु दुःखद हो,” उनले लेखेकी छन् ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ १३:२७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट