काठमाडौं । गृहमन्त्री रमेश लेखकले आजको युगमा विज्ञानको प्रयोग मानवहितका लागि मात्रै नभइ अपराधको लागि प्रयोग हुने गरेको बताएका छन्।

शुक्रबार अनुसन्धानकर्ता प्रहरी र अभियोगकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलन उदघाटन समारोहमा बोल्दै उनले मानवताको विरुद्ध विज्ञानको प्रयोग भइरहेको बताएका हुन्।
उनले भने, ‘आजको युगमा विज्ञानको प्रयोगले सकरात्मक पनि दिएको छ सहजता पनि दिएको छ तर यसका नकरात्मक पक्षहरु पनि उजागर भएका छन्। विज्ञानको प्रयोग मानवहितका लागि मात्रै भइरहेका छैनन् मानवताको विरुद्धमा पनि भइरहेका छन्। अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ। त्यसो भएकाले अनुसन्धानकाक्रममा अभियोगका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ।’
उनले लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ न्याय भएकाले पीडितलाई न्यायको अनुभूति गराउन सक्नुपर्ने बताए।

‘हामी लोकतान्त्रिक व्यवस्थामा छौ। लोकतन्त्रले लोककल्याणकारी राज्यको कुरा गर्छ। त्यसको आधार स्तम्भ न्याय हो। न्याय विस्तृत, बहुआयामिक छ,’ गृहमन्त्री लेखकले भने, ‘जब हामी फौजदारी न्यायको कुरा गर्छौ यसको केन्द्रमा पीडित रहन्छ। पीडितलाई हामीले न्यायको अनुभूति गराउन सकौ कि सकेनौ। कुनैपनि फौजदारी वा अपराधिक कार्यबाट आफूलाई पीडित अनुभूति गरेको मानिसलाई न्याय प्राप्त भयो भन्ने कुराको हामीले अनुभूति गराउन सकौ कि सकेनौ त्यो फौजदारी न्यायको मूख्य उद्देश्य हो। त्यसो भएकाले हामीले यो क्षेत्रमा मेहेनतका साथ काम गर्न जरुरी रहेको छ।’
उनले विज्ञानलाई प्रयोग गरेर संकलन गरेको प्रमाणले प्रतिवादीलाई सहयोग गर्ने खालका धेरै सम्भावना भएकोले ठिकसँग प्रयोग गर्न आग्रह गरे। उनले अनुसन्धानकर्ता र अभियोगकर्ताबिच आपसी समन्वयको जरुरी रहेको बताए।
सामाग्री श्रोत :