काठमाडौँ । व्यावसायिक सहकार्यको अनुभवलाई पूर्ण रूपमा रूपान्तरण गर्ने लक्ष्यसहित एचपीले आफ्नो अत्याधुनिक थ्रीडी भिडिओ सञ्चार समाधान ‘एचपी डाइमेन्सन (HP Dimension)’ सार्वजनिक गरेको छ । यो गुगलको क्रान्तिकारी गुगल बीम (Google Beam) प्रविधिमा आधारित पहिलो हार्डवेयर हो ।

थ्रीडी भिडिओ सञ्चारमा नयाँ आयामको रूपमा हेरिएको एचपी डाइमेन्सन गुगल बीम प्रविधिमा निर्मित पहिलो यन्त्र हो । यस प्रविधिलाई पहिले ‘प्रोजेक्ट स्टारलाइन (Project Starline)’ नामले चिन्ने गरिन्थ्यो । यो उपकरणमा ६५ इन्चको लाइट फिल्ड डिस्प्ले (light field display) जडान गरिएको छ । जसको बेजेलभित्र ६ ओटा उच्च-गतिका क्यामेराहरू रहेका छन् । यी क्यामेराहरूले कल गर्ने व्यक्तिको ‘वास्तविक’ थ्रीडी भिडिओ तयार पार्छन् ।
यो प्रणालीले हेडसेट, चस्मा वा अन्य कुनै विशेष उपकरणको आवश्यकता बिना नै कोषौँ टाढाबाट जोडिएका सहभागीलाई सँगै एउटै कोठामा रहेको जस्तो यथार्थपरक अनुभव प्रदान गर्छ । एचपीका फ्युचर कस्टमर एक्स्पिरियन्सेस प्रमुख ब्यु वाइल्डरका अनुसार, यसका लागि कुनै विशेष कोठाको आवश्यकता पर्दैन, तर उच्चतम अनुभवका लागि सेतो ब्याकग्राउन्ड राम्रो मानिन्छ ।
“हामी तपाईंको अगाडि टेबुलमा राखिएको सानो बाकसभित्र एउटा विम्बात्मक चित्र देखाउन खोजिरहेका छैनौं,” वाइल्डरले भनेका छन्, “हामी चाहन्छौँ कि तपाईं कोठामा छिर्नुहोस् र यसको बारेमा सोच्दै नसोची तुरुन्तै आँखामा आँखा जुधाएर कुराकानी गर्नुहोस् ।”

एचपी डाइमेन्सनले अनुहारका विशेषताहरूमा यथार्थपरक छायाँ र प्राकृतिक छालाको टोन देखाउनका लागि एडेप्टिभ लाइटिङ (adaptive lighting) सुविधा पनि प्रदान गर्दछ । यसमा स्पाशियल अडियो (spatial audio) जोडिएको छ, जसले आवाजलाई शरीरबाट कहिल्यै अलग गर्दैन ।
उपकरणमा पोली स्टुडियो ए२ टेबल माइक र चार स्पिकरहरू समावेश छन्, जसले सिधा कानमा आवाज पुर्याएर स्पष्ट अडियो अनुभव दिन्छन् । यद्यपि, एचपी डाइमेन्सन प्रयोगकर्ताहरूले अन्य भिडिओ कन्फ्रेन्सिङ प्लेटफर्म र उपकरणहरूमा रहेका व्यक्तिहरूसँग पनि कल गर्न सक्नेछन्, तर उनीहरूका सहकर्मीहरूले भने भिडिओ थ्रीडीमा देख्न सक्ने छैनन् ।
गुगल बीमका महाप्रबन्धक एन्ड्रयू नर्टकरका अनुसार, गुगल बीमको अन्तिम लक्ष्य ‘तपाईँ त्यहाँ हुनुहुन्छ’ भन्ने यथार्थपरक महसुस गराउनु हो, जसले मानिसहरूलाई सँगै काम गरिरहेको जस्तो अनुभव दिनेछ । यो उपकरण विशेष गरी इन्टरप्राइज प्रयोगका लागि डिजाइन गरिएको हो ।
एचपी डाइमेन्सनको मूल्य २४ हजार ९९९ डलर (३४ लाख रुपैयाँभन्दा बढी) तोकिएको छ । यसमा भिडिओ कल गर्नका लागि आवश्यक सफ्टवेयर भने समावेश छैन । किनकि प्रयोगकर्ताहरूले जुम वा गुगल मिट जस्ता प्लेटफर्महरूमा पहुँच पाउनका लागि गुगल बीम लाइसेन्स छुट्टै खरिद गर्नुपर्नेछ ।
यो उपकरण २०२५ को अन्त्यतिर संयुक्त राज्य अमेरिका, क्यानडा, यूके, फ्रान्स, जर्मनी र जापानमा रहेका ग्राहकका लागि उपलब्ध हुनेछ । सेल्सफोर्स, डेलोइट, र एनईसी कर्पोरेसन जस्ता कम्पनीहरूले यसलाई आफ्नो कार्यालयमा भित्र्याउने प्रतिबद्धता जनाइसकेका छन् ।
पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ ११:४४
सामाग्री श्रोत :
टेक पाना