वीर अस्पतालका ग्यास्ट्रोलोजी विभाग प्रमुख तथा प्रमुख कन्सल्टेन्ट ग्यास्ट्रो इन्टरलोजिष्ट डा मुकेश शर्मा पौडेल मुख्यतया कब्जियतको समस्या खानपानसँग सम्बन्धित भएको बताउँछन् । कब्जियत के हो? कब्जियतका कारण के –के हुन् ? दिनमा कतिपटकसम्म दिसा लाग्नुलाई सामान्य मानिन्छ ? कब्जियत भएका मानिसले के खाने, नखाने ? लगायतका विषयमा केन्द्रित भएर उनै डाक्टर पौडेलसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी :
कब्जियत के हो ?
कतिपय बिरामीहरुले दिसा राम्रोसँग भएन भन्ने गुनासो बोकेर अस्पताल आइपुग्छन्, साह्रोे दिसा आउने, दिसाको समयमा बल गर्नुपर्ने तथा ३ दिनसम्म पनि दिसा नभएको अवस्थालाई कब्जियत भनिन्छ । दिसा नभएर औंला नै हालेर दिसा निकाल्नुपरेको अवस्थालाई कब्जियत भनिन्छ ।
कब्जियतका कारण के–के हुन् ?
यसको प्रमुख कारण नै खानपान हो । कब्जियतको समस्या हुन नदिनका लागि दिसा बन्ने खानेकुराको सेवन गर्नु आवश्यक छ । मानव शरीरले सजिलै पचाउन नसक्ने खालका फाइबरयुक्त खानेकुराको सेवनले कब्जियतको समस्यालाई हटाउन सकिन्छ ।
सागसब्जी, फलफुलको सेवन पश्चात् उक्त पदार्थमा रहेका शरीरले पचाउन नसक्ने खानेकुरा दिसाको माध्यमबाट बाहिर निस्कन्छ । दिसा बन्नका लागि पर्याप्त मात्रामा त्यस्ता खानेकुराको सेवन भएको हुन पनि आवश्यक छ ।
सजिलै पच्ने तथा धेरै मात्रामा झोलिलो पदार्थको सेवनले दिसा बन्दैन । त्यसकारण कब्जियत हुन नदिनका लागि खानपिनमा ध्यान दिनुपर्छ । शारीरिक अभ्यासको कमी भएका व्यक्तिमा आन्द्रा चलायमान नहुने कारण पनि कब्जियतको समस्या देखिन्छ ।
दिनमा कतिपटकसम्म दिसा लाग्नुलाई सामान्य मानिन्छ ?
३ दिनमा एकपटक दिसा हुनु तथा एक दिनमा ३ पटकसम्म पनि दिसा हुनुलाई सामान्य मानिन्छ । पातलो दिसा नभएको, दिसामा रगत नआएको तथा साह्रो दिसा नभएको अवस्थामा ३ दिनमा १ पटक दिसा हुनुलाई पनि सामान्य मानिन्छ ।
कब्जियत भएका मानिसले के खाने, नखाने ?
सामान्यतया धुम्रपान तथा मद्यपान पेट स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । खानेकुरामा फलफुल तथा तरकारीको मात्रा समावेश गर्नु स्वास्थ्यका लागि अनिवार्य छ । माछामासु खाँदा पनि यी खानेकुरालाई समेत समावेश गराउनुपर्छ ।
खानपान शैली परिवर्तन गरेमा कब्जियतको समस्या हल हुन्छ या औषधि सेवन आवश्यक पर्छ ?
यो कब्जियत कुन अवस्थामा छ र यसका के कस्ता लक्षणहरु देखिएका छन् भन्नेमा भर पर्छ । धेरै बिरामीहरुलाई खानपान र शारीरिक सक्रियता बढाउँदा कब्जियतको समस्या निको भएको पाइन्छ । यद्यपि कतिपयलाई भने हुँदैन।
कतिपयले कब्जियतको समस्यामा आफुखुसी औषधि सेवन गरिरहेका हुन्छन् । यसरी आफुखुसी औषधि सेवन गर्नेहरुलाई लामो समयपछि औषधिको मात्रा बढाउनुपर्ने तथा औषधिले नै काम नगर्ने अवस्थासमेत आउन सक्छ, तर कब्जियतको समस्या नहट्ने हुनसक्छ त्यसकारण आफुखुसी औषधि सेवन गर्नुहुँदैन।
कब्जियत भइसकेपछि के –कस्ता उपचार विधीहरुको प्रयोग गरिन्छ ?
कब्जियतको निश्चित कारण पत्ता लगाइसकेपछि मात्रै उपचार विधीको प्रयोग गरिन्छ । धेरै बिरामीहरु कब्जियतको समस्यामा चिकित्सकसँग आइपुग्दा उनीहरुमा थाइराइड,सुगर,तनाव,एन्जाइटी, डिप्रेसन लगायतका अन्य समस्या भएको पनि पाइन्छ।
त्यस्ता बिरामीहरुलाई ती रोगको उपचारपश्चात् कब्जियतको समस्या समाधान हुन्छ । कोही कोही बिरामीहरुमा आन्द्रामा मासु पलाएको,धाउ भएको हुनसक्छ । जसले दिसालाई ठुलो आन्द्राबाट बाहिर निस्कन दिँदैन।
यस्तो समस्यामा दिसा गर्ने ठाउँबाट पाइप हालेर कोलोनोस्कोपी गरिन्छ । त्यसबाट आन्द्राको बनोट तथा कारण समेत पत्ता लगाउन सकिन्छ । कतिपयमा आन्द्राको बनोट राम्रो भएपनि स्लो हुनसक्छ,त्यस्ता बिरामीलाई कोलोनिक ट्रान्जिट स्ट्रडी भन्ने परीक्षण गराइन्छ । यसले आन्द्राको चाल तथा आन्द्राले काम गरे नगरेको हेरिन्छ।
कतिपयलाई दिसा गर्ने प्वालसम्म दिसा आउँदा पनि उक्त प्वाल नखुल्ने समस्या हुन्छ । यसका लागि पनि अलग्गै प्रकारको परीक्षण र उपचार आवश्यक पर्छ । त्यसकारण कब्जियतमा खाना र शारीरिक व्यायाम बाहेक औषधि लगायतका अन्य उपचार पनि गरिन्छ।
के पानी कम खाँदा पनि कब्जियत हुन्छ ?
पानी कम खानु कब्जियतको एक कारण भएपनि पानी प्रशस्त खाँदैमा यो निको भइहाल्ने पनि होइन ।
शरीरलाई आवश्यक भन्दा धेरै पानी खाँदा पनि मिर्गाैलाबाट फिल्टर भएर दिसा गर्ने बाटो नभई पिसाबबाटै जान्छ । त्यसकारण आवश्यक मात्रामा पानी सेवन कब्जियतका हितकर मानिन्छ ।
कब्जियत नहुनका लागि दैनिक कति पानी पिउनुपर्छ ?
धेरै पानी खाएर कब्जियतको समस्या नआउने होइन । तर पनि शरीरको आवश्यकता अनुसार गर्मीमा केही बढी र जाडोमा ठीक मात्रामा पानी पिउनुपर्छ ।
कस्तो खालको पेट दुखाई कुन रोगको लक्षण हुनसक्छ?
दुख्दै छोड्दै ग¥यो भने वा दाइने भागमा दुखेमा पित्तथैलीमा ढुंगा भएको शंका गर्न सकिन्छ ।
नाइटो भन्दा माथि रहेको दुखाई सरेको अवस्थामा एपेन्डिसाइटिक्स भएको शंका गर्न सकिन्छ । पिसाब गर्ने स्थानतिर दुखाई भएमा मिर्र्गोलाको ढुंगा तलतिर सरेको शंका गरिन्छ। यद्यपि परीक्षण बिना नै पेट दुखेकै आधारमा यो रोग हो भन्न सक्ने स्थिति नहुनपनि सक्छ ।
कब्जियत हुन नदिन के गर्ने ?
कब्जियतबाट जोगिनका लागि सबैभन्दा पहिलो त शारीरिक कसरतमा ध्यान दिनुपर्छ । सकेसम्म बिहान नै दिसा गर्ने बानी बसाल्न आवश्यक छ । प्रशस्त मात्रामा खाना खानुपर्छ ।
सामाग्री श्रोत :
swasthyakhabar

