काठमाडौँ । एप्पलले आफ्नो वार्षिक वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लुडब्लुडीसी) को मुख्य कार्यक्रममा थुप्रै ठूला अपडेट सार्वजनिक गरेको छ । कार्यक्रमको दौरान कम्पनीले आफ्ना अपरेटिङ सिस्टममा आउन लागेको नयाँ आकर्षक डिजाइनका साथै आईफोन, आईप्याड, म्याक, एयरपड्स र अन्य डिभाइसहरूका लागि नयाँ फिचरहरू घोषणा गरेको छ ।

यसअघि नै चर्चामा आएका कतिपय फिचर कम्पनीले घोषणा गरेकै अनुरूप भएका छन् । खासगरी कम्पनीले आफ्नो सबै डिभाइसका अपरेटिङ सिस्टममा एकरूपता ल्याउन नाम परिवर्तन गर्ने जानकारी बाहिरिएको थियो । अन्ततः कम्पनीले सबै डिभाइसका अपरेटिङ सिस्टमको नयाँ अपडेटमा वर्षको पछिल्ला दुई अङ्क हुने पुष्टि गरेको छ ।
हाल आईओएसको भर्सन १८ प्रयोगमा आइरहेको छ । परम्परागत तरिकाले कम्पनीले नाम राखेको भए अहिले आईओएस १९ हुने थियो । तर, कम्पनीले वर्षको नाम राख्दा आईओएस १९ नभई आईओएस २६ हुने भएको छ । अर्थात् २०२६ मा उपलब्ध हुने आईओएस अपडेटको नाम अब आईओएस २६ हुनेछ ।
पछिल्ला केही वर्षदेखि अधिकांश स्मार्टफोन निर्माता कम्पनी एआई फिचरको होडमा लागेका छन् । कसले डिभाइसमा कति एआई फिचर राख्छ भन्ने प्रतिस्पर्धा नै चलेको छ । त्यसैले पनि प्रायः हार्डवेयरमा नभई पछिल्लो समय सार्वजनिक भएका डिभाइसको सफ्टवेयरमा कम्पनीले मेहनत गरेको देखिन्थ्यो ।

एप्पलले भने हार्डवेयर र सफ्टवेयरलाई सँगसँगै अगाडि बढाइरहेको छ । तर, यसपटकको डब्लुडब्लुडीसी भने एआईमा नभई यूआई अर्थात् युजर इन्टरफेसमा केन्द्रित भयो । प्रयोगकर्तालाई प्रिमियम अनुभव दिन कम्पनीले थुप्रै आकर्षक फिचर घोषणा गरेको छ । त्यसमध्येका प्रमुख फिचरको चर्चा यहाँ गरिएको छ ।
अपरेटिङ सिस्टमको नाम अब वर्ष अनुसार
अनुमान गरिए अनुसार एप्पलले अब आफ्ना सबै अपरेटिङ सिस्टमको नाम भर्सन नम्बरको सट्टा रिलिज हुने वर्षअनुसार राख्नेछ । नयाँ नामहरू आईओएस २६ (iOS 26), आईप्याडओएस २६ (iPadOS 26), म्याकओएस २६ (macOS 26), वाचओएस २६ (watchOS 26), टिभीओएस २६ (tvOS 26) र भिजन ओएस२६ (visionOS 26) हुनेछन् । कम्पनीका अनुसार यी सफ्टवेयर सन् २०२५ को अन्त्यतिर सार्वजनिक हुनेछन् । यो आईओएस १९ (iOS 19), वाचओएस १२ (watchOS 12) र म्याकओएस१६ (macOS 16) जस्ता भर्सन नम्बर सम्झनुभन्दा धेरै सजिलो छ ।
यी अपरेटिङ सिस्टमहरू डेभलपरहरूका लागि ‘बेटा’ भर्सनमा सोमबार रातिबाटै उपलब्ध भइसकेका छन् र सबै प्रयोगकर्ताका लागि यो वर्षको अन्तिमतिर उपलब्ध हुनेछ ।
‘लिक्विड ग्लास’
मान्नुस् तपाईंसँग एउटा पारदर्शी काँचको टुक्रा छ । त्यसलाई कुनै कागजका शब्दमाथि राख्नुभयो भने कस्तो देखिएला ?
ठ्याक्कै यही डिजाइन कम्पनीले आफ्ना सबै डिभाइसमा ल्याउने भएको छ । एप्पलले आफ्ना सबै अपरेटिङ सिस्टममा डिजाइनलाई नयाँ रूप दिन यो विशेष डिजाइन स्टाइल घोषणा गरेको हो ।
अब ती सबैमा नयाँ ‘लिक्विड ग्लास’ थिम हुनेछ । यसले बटन, स्विच, स्लाइडर, टेक्स्ट र मिडिया कन्ट्रोलमा थप ट्रान्सप्यारेन्ट ल्याउनेछ । आईओएस २६को लकस्क्रिनमा देखिने मिति, समय र नोटिफिकेसनमा पनि यो नयाँ डिजाइन देखिनेछ । यसले वालपेपरलाई अझ स्पष्ट रूपमा हेर्न मद्दत गर्ने बताइएको छ ।
क्यामेरा, सफारी र फोन एपमा नयाँ डिजाइन
नयाँ डिजाइन अन्तर्गत एप्पलले आईओएस २६ का केही मुख्य एपमा पनि परिवर्तन गरेको छ । अब सफारीमा वेबपेजले पूरै स्क्रिन लिनेछ ।
अर्थात् पहिले तलपट्टिको पुरै भाग यूआरएलका लागि छुट्याइएको हुन्थ्यो भने अब डाइनामिक आइल्यान्ड जस्तै डिजाइनमा यूआरएल देखिनेछ । त्यसको दायाँ, बायाँ र तलपट्टिको सबै भाग वेबपेज देखिनेछ ।
क्यामेरा एपको लेआउट पनि सरल बनाइएको छ । पहिले शटर बटनको माथिपट्टि फोटो, भिडिओ लगायतका मोडेहरू हुने गरेकोमा अब तलपट्टि देखिनेछ । शटर बटनको तलपट्टि फोटो र भिडिओ गरी दुई मुख्य विकल्प देखिनेछन् । अन्य मोड जस्तै स्लो-मो (Slow-Mo) र सिनेम्याटिक (Cinematic) हेर्नका लागि टुल बारमा स्वाइप गर्नुपर्नेछ । फोन एपमा पनि फेभरेट, रिसेन्ट र भ्वाइसमेलका सबै कन्ट्याक्ट एउटै प्यानलमा देखिनेछन् ।
आईप्याड मा सुधारिएको विन्डोइङ फिचर
एप्पलले आईप्याडओएस २६ (iPadOS 26) मा एउटा ठूलो अपडेट ल्याउने घोषणा गरेको छ । यसले मल्टिटास्किङलाई निकै सजिलो बनाउने कम्पनीको भनाइ छ । नयाँ विन्डोइङ फिचरलेले प्रयोगकर्तालाई एप विन्डोजको आकार परिवर्तन गर्न, स्क्रिनमा जतासुकै राख्न र एकै पटक धेरै विन्डोज खोल्न दिनेछ ।
यसले धेरै हदसम्म म्याक जस्तै अनुभव दिनेछ । यसका साथै म्याकको ‘प्रिभ्यू’ एप पनि अब आईप्याडओएस २६ मा उपलब्ध हुनेछ । यसले प्रयोगकर्ताको अनुभवलाई सुधार्ने कम्पनीको दाबी छ । तर, आईप्याडलाई म्याक जस्तो बनाए आईप्याडको अर्थ के भन्ने धारणाले पनि केही टेक रिभ्युअरले प्रश्न उठाएका छन् ।
मेसेजेजमा कस्टम ब्याकग्राउन्ड र नयाँ ग्रुप च्याट फिचर
एप्पलले मेसेजेज एपलाई अपडेट गर्दैछ जसअन्तर्गत अब प्रयोगकर्ताले च्याटको ब्याकग्राउन्ड परिवर्तन गर्न र ग्रुप च्याटमा पोल (poll) तयार पार्न सक्नेछन् । यसका साथै ग्रुप च्याटमा टाइपिङ इन्डिकेटर र अपरिचित नम्बरबाट आएका मेसेजलाई छुट्टै फोल्डरमा राख्ने सुविधा पनि थपिएको छ ।
गेमका लागि नयाँ हब
एप्पलले नयाँ ‘गेम्स’ एप सार्वजनिक गरेको छ । यसबाट प्रयोगकर्ताले आफ्ना सबै एप्पल आर्केड गेम एउटै ठाउँबाट खेल्न र नयाँ गेम पत्ता लगाउन सक्नेछन् । साथै ‘प्ले टुगेदर’ (Play Together) अप्सन प्रयोग गरेर साथीलाई विभिन्न किसिमका ‘च्यालेन्ज’ दिन पनि सकिनेछ ।
म्याकओएस टहोई २६ (macOS Tahoe 26) ले स्पोटलाइटलाई थप उपयोगी बनाउने
म्याकको नयाँ सफ्टवेयर अपडेटले ‘स्पटलाइट’ (Spotlight) लाई अझै शक्तिशाली बनाउने कम्पनीले बताएको छ । स्पोटलाइट भनेको म्याकओएसको सर्च फिचर हो जसले म्याक र त्यसमा जोडिएका अन्य डिभाइसको विभिन्न जानकारी तुरुन्तै खोज्न सघाउँछ । यसमा अब पर्सनलाइजेसन र फिल्टरिङ अप्सन थपिने ।
यसले गर्दा फाइल, फोल्डर, एप र मेसेज खोज्न पहिलेभन्दा झनै सजिलो हुनेछ । अब स्पटलाइटबाटै इमेल पठाउने वा नोट बनाउने जस्ता काम पनि गर्न सकिने कम्पनीले बताएको छ । यसका साथै फोन र नयाँ गेम्स एप पनि म्याकओएस २६ मा उपलब्ध हुनेछ ।
भिजन प्रोमा ‘PSVR2’ कन्ट्रोलर सपोर्ट
एप्पलको भिजन प्रोले अब भिजनओएस २६ (visionOS 26) मा प्लेस्टेसनको भीआर २ सेन्स (VR2 Sense) कन्ट्रोलर सपोर्ट गर्नेछ । यसले प्रयोगकर्तालाई विभिन्न प्रकारका भर्चुअल रियालिटी गेम खेल्न मद्दत गर्नेछ । साथै माथि वा तल हेरेर एपमा स्क्रोल गर्न मिल्ने नयाँ फिचर पनि थपिएको छ ।
एप्पल इन्टेलिजेन्सले स्क्रिनमा भएको कुरा खोज्ने
आईओएस २६ मा आउन लागेको नयाँ ‘एप्पल इन्टेलिजेन्स’ फिचरको सहायताले स्क्रिनसट लिने बटन प्रयोग गरेर एआईलाई एक्टिभ गर्न सकिन्छ । त्यसपछि स्क्रिनमा देखिएको कुराको बारेमा प्रश्न सोध्न वा कुनै वस्तुलाई गुगल वा इट्सी (Etsy) जस्ता प्लेटफर्ममा खोज्न सकिनेछ ।
हात हल्लाएकै भरमा वाचओएस २६ मा अनावश्यक नोटिफिकेसन हटाउन सकिने
‘लिक्विड ग्लास’ डिजाइनका साथै वाचओएस २६ मा ‘रिस्ट फ्लिक’ अर्थात् नाडी घुमाएर प्रयोग गर्न सकिने नयाँ जेस्चर आउँदैछ । यो जेस्चर प्रयोग गरेर नोटिफिकेसन हटाउन सकिन्छ । साथै एप्पल वाचमा एआईद्वारा सञ्चालित ‘वर्कआउट बडी’ पनि थपिनेछ जसले व्यक्तिगत सल्लाह र प्रेरणा दिनेछ ।
कल र टेक्स्ट मेसेजमा लाइभ ट्रान्सलेसन
एप्पलले मेसेजेज, फेसटाइम र फोन एपमा एआईद्वारा सञ्चालित लाइभ ट्रान्सलेसन (Live Translation) फिचर थप्दैछ । यसले मेसेजेज एपमा टेक्स्टलाई स्वतः अनुवाद गर्नेछ भने फोन कलमा बोलेको कुरालाई अनुवाद गरेर सुनाउनेछ । फेसटाइममा कुराकानी गर्दा अनुवाद गरिएको लाइभ क्याप्सन देखिनेछ ।
एयरपड्समा अब नयाँ क्यामेरा कन्ट्रोल
एप्पलले एयरपड्सका लागि एउटा नयाँ अपडेट सार्वजनिक गरेको छ । यसले प्रयोगकर्तालाई आफ्नो एयरपड्सको स्टेम (stem) मा ट्याप गरेर आईफोन वा आईप्याडबाट फोटो खिच्न दिनेछ । साथै कोलाहल भएको ठाउँमा पनि ‘स्टुडियो-क्वालिटी’ आवाज रेकर्ड गर्नका लागि ‘भ्वाइस आइसोलेसन’ फिचरमा काम भइरहेको कम्पनीले जानकारी दिएको छ । यो फिचर एयरपड्स ४ (AirPods 4), एयरपड्स ४ विथ एक्टिभ न्वाइज क्यान्सिलेसन (AirPods 4 with Active Noise Cancellation) र एयरपड्स प्रो टु (AirPods Pro 2) मा उपलब्ध हुनेछ ।
एप्पलले डेभलपरका लागि आफ्नो एआई मोडेल खुला गर्ने
एप्पलले थर्ड पार्टी एप डेभलपरलाई ‘एप्पल इन्टेलिजेन्स’ले प्रयोग गर्ने अन-डिभाइस लार्ज ल्याङ्ग्वेज मोडेलमा एक्सेस दिने घोषणा गरेको छ । यसले डेभलपरलाई आफ्नै एआई टुल बनाउन मद्दत गर्नेछ ।
पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ २०:४
सामाग्री श्रोत :
टेक पाना