२०८२ श्रावण २६ आईतवार
२०८२ श्रावण २६ आईतवार

म्याग्दी। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम सडकका पहिरो नियन्त्रण र वैकल्पिक सडकको व्यवस्था मिलाउन पहल गर्ने बताएका छन्।

चीन र भारत जोड्ने राष्ट्रिय प्राथमिकताको कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको मालढुङ्गा र म्याग्दीखण्डको स्थलगत निरीक्षण तथा सरोकारवालासँग आज म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा भएको भेटघाटका क्रममा अध्यक्ष दाहालले निर्माणाधिन सडकलाई पूूर्णता दिन, पहिरो र नदी कटान रोकथाम गरी सुरक्षित बनाउन आफ्नो ध्यान गएको बताए।

रघुगङ्गा गाउँपालिका-२ बरखर्कको पहिरो निरीक्षणपछि अध्यक्ष दाहालले पहिरो रोकथाम र नियमित यातायात सञ्चालनका लागि वैकल्पिक सडक मार्गलाई स्तरोन्नति गर्न सदन र सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए।

रघुगङ्गा गाउँपालिका-२ का पूर्ववडाध्यक्ष समेत रहेका नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश सदस्य रिमबहादुर कटुवालले वरखर्क पहिरोको वैकल्पिक गलेश्वर–बगैँचा–रानीपौवा–रिसिनचौतारी–बेगखोला सडक स्तरोन्नति गर्न सकेमा बर्खा याममा बेनी–जोमसोम–कोरला सडकमा नियमित यातायात सञ्चालन गर्न सकिने मागपत्र अध्यक्ष दाहाललाई बुझाएका थिए।

यसैगरी अन्नपूर्ण गाउँपालिका-२ भुरूङ तातोपानीमा स्थानीयवासीका गुनासो सुुन्दै अध्यक्ष दाहालले म्याग्दीको भगवती, दोवालगायतका ठाउँका गुठी र सिमानासम्बन्धी समस्या समाधानमा पहल गर्ने बताए।

अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य समेत रहेका माओवादी केन्द्र अन्नपूर्ण गाउँ कमिटीका अध्यक्ष पूर्ण पाइजा र इञ्चार्ज बागवीर पाइजाले स्थानीय विकास निर्माणसँग सम्बन्धित मुद्दा सम्बोधनका लागि अध्यक्ष दाहाललाई मागपत्र बुझाएका थिए।


सामाग्री श्रोत :

बेनी–जोमसोम सडकका पहिरो रोकथाम र वैकल्पिक सडकलाई प्राथमिकता दिने प्रतिबद्धता

काठमाडौँ । आगामी ४ असार मा “युवा वैज्ञानिक सम्मेलन, २०८२” आयोजना हुने भएको छ ।  रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान) सँगको सहकार्यमा राष्ट्रिय युवा परिषद्ले उक्त सम्मेलन आयोजना गर्न लागेको हो । र्‍यानका अनुसार ललितपुरस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को कार्यालयमा कार्यक्रम आयोजना हुनेछ । 

विज्ञानमा रुचि भएका व्यक्तिहरूले सम्मेलनमा सहभागिता जनाउन सक्ने र्‍यानका अध्यक्ष विकास गुरुङले बताए । उनका अनुसार यस सम्मेलन विशेषगरी १५ देखि ३० वर्ष उमेर समूहका वैज्ञानिकहरूको सञ्जाल बढाउनुका लागि आयोजना गर्न लागिएको हो । 

सम्मेलनमा रोबोटिक्स, डेटा, एआई लगायतका विषयमा गरिएका प्रोजेक्टहरू प्रदर्शन हुने उनले जानकारी दिए । कार्यक्रममा सहभागी हुन १ असारभित्रमा फारम बुझाउनुपर्ने छ । फारमका आधारमा सहभागीहरू छनोट हुने उनले बताए । 

सम्मेलनमा सहभागी जनाउँदा रोबोट, एआई, ड्रोन लगायतका तीव्र रूपमा विकास भइरहेका प्रविधिका बारेमा थप गहिराइमा पुगेर बुझ्ने अवसरका साथै यस क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिसँग सम्पर्क बढाउने राम्रो अवसर हुने बताइएको छ ।

कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गरेर फारम भर्न सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ १९:३१





सामाग्री श्रोत :
टेक पाना

कर्णाली। कर्णाली प्रदेश सरकारले तुइनमुक्त प्रदेश बनाउने घोषणा गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत प्रदेशलाई पूर्ण रूपमा तुइनमुक्त बनाउने घोषणा गरेको हो।

प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आज एक सूचना जारी गरी यही असार १० गतेभित्र तुइनको विवरण पठाउन सम्बन्धित जिल्ला तथा पालिकाहरूलाई जानकारीसमेत गराएको छ। सूचनामा भनिएको छ, ‘प्रदेशका नदी खोलामा तुइन सञ्चालनमा रहेका भए विस्थापित गरी झोलुङ्गे पुल निर्माणका लागि यही असार १० गतेभित्र सम्बन्धित जिल्लाको पूर्वाधार विकास निर्देशनालय वा मन्त्रालयमा सोझै वा ईमेलमार्फत निवेदन दिनहुन सरोकारवाला सबैको जानकारीका यो सूचना प्रकाशन गरिएको छ।’

मुख्यमन्त्री यामलाल कँडेलले पनि भौगोलिक रूपले विकट र विकासका हिसाबले पछि परेको कर्णालीका नागरिकको आवागमनलाई सहज गर्ने गरी प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रममा व्यवस्था गरिएको बताए। उनले नागरिकलाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी प्रदेश सरकारले काम गर्ने बताए।


सामाग्री श्रोत :

तुइनमुक्त प्रदेश बनाउने कर्णाली सरकारको घोषणा

काठमाडौँ । आइतबारदेखि सामाजिक सञ्जाल फेसबुकमा पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयन्द्र शाहले हम्मर र बेल्चा चलाएको फोटो भाइरल भइरहेको छ । हिमानी ट्रस्टले जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा सुत्केरी सेवा केन्द्र (बर्थिङ सेन्टर)को शिलान्यास गर्ने क्रममा हृदयन्द्रले बेल्चा चलाएर शिलान्यास गरेका थिए । त्यही फोटोलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

त्यही क्रममा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले हृदयन्द्रलाई समर्थन गरेको भन्ने पोस्ट आइरहेको छ । टिकटकमा ‘Balen881’ युजनरनेम भएको नक्कली अकाउन्टबाट पोस्ट राख्दै बालेनले हृदयन्द्र र राजतन्त्रलाई समर्थन गरेको देखाइएको छ । टेकपाना फ्याक्टचेकले भने उक्त पोस्ट मिथ्या रहेको पुष्टि गरेको छ । बालेनले हृदयन्द्रको फोटोसहित राजतन्त्रलाई समर्थन वा विरोध गर्ने कुनै पनि पोस्ट गरेका छैनन् । 

दाबी

टिकटकमा ‘Balen881’ युजरनेम र ‘हार्ट अफ बालेन’ (heart of balen) नाम भएको अकाउन्टले सोमबार एउटा स्क्रिनशट राख्यो । स्क्रिनशटमा बालेनले आधिकारिक फेसबुक पेजबाट हृदयन्द्रले बेल्चा समाएको फोटो पोस्ट गरेको जस्तो देखाइएको छ । त्यसको माथि स्टाटस राखिएको छ ।

त्यसमा लेखिएको छ, “सामन्ती भनिएको परिवारमा हुर्किएका हृदयेन्द्र शाहले बेल्चा लगाउँदा तिनका निन्द्रा हराम भएछ । हरे कस्तो दिन आयो सामन्तीको छोराको हातमा बेल्चा, क्रान्तिकारीका छोराको हातमा सुनका बिस्कुट । हृदयेन्द्रको शालीनता, मौनता र माटोप्रतिको नम्रता हेर्दा लाग्यो, शासक होइन संस्कारी नेतृत्वको खाँचो छ देशलाई ।”

त्यही पोस्टको क्याप्सनमा लेखिएको छ, “सामन्ती भनिएको परिवारमा हुर्किएका हृदयेन्द्र शाहले बेल्चा लगाउँदा तिनका निन्द्रा हराम भएछ । हरे कस्तो दिन आयो सामन्तीको छोराको हातमा बेल्चा, क्रान्तिकारीका छोराको हातमा सुनका बिस्कुट । हृदयेन्द्रको शालीनता, मौनता र माटोप्रतिको नम्रता हेर्दा लाग्यो, शासक होइन संस्कारी नेतृत्वको खाँचो छ देशलाई ।”

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ८३ हजार बढी रियाक्सन, १४०० बढी कमेन्ट, १८०० बढी पोस्ट सेभ, ९१७ शेयर र झन्डै १० लाख भ्युज पुगेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । 

अनुसन्धान

बालेनले पूर्वराजा ज्ञानेन्द्रका नाती हृदयन्द्र शाहलाई समर्थन गर्दै पोस्ट राखेको दाबी टिकटकमा आएपछि टेकपाना फ्याक्टचेकले यसको तथ्यजाँच थाल्यो । त्यस क्रममा बालेनको आधिकारिक फेसबुक पेज र अकाउन्टमा पछिल्लो समय राजतन्त्र वा पूर्वनवयुवराज हृदयन्द्रलाई समर्थन वा विरोध गरेको कुनै पनि पोस्ट राखेको फेला परेन ।

यस विषयमा बालेनका सल्लाहकार कुमार बेनलाई सम्पर्क गरेका थियौं । उनले पनि बालेनको नामबाट खोलिएको यो अकाउन्ट ‘फेक’ भएको पुष्टि गरे । त्यही टिकटकमा राखेको स्क्रिनशटमा पनि ‘फेसबुक पोस्टको क्याप्सन’ अस्वभाविक देखिन्छ । फेसबुक पोस्टमा ट्रान्सलेट हुने समयमा बाहेक बायाँपट्टिको खैरो लाइन देखिँदैन । त्यस्तै पोस्ट पनि प्याराग्राफ पनि अलाइन भएको देखिंदैन । त्यसभन्दा तल राखिएको हृदयन्द्रको फोटो पनि पछिबाट एडिट गरी राखिएको स्पष्ट हुन्छ ।

बालेन शाहले राजतन्त्रको समर्थनमा पोस्ट गरेको भनी सामाजिक सञ्जालमा फैलिएको सामग्रीको स्रोत खोज्दा, त्यो सबैभन्दा पहिले पत्रकार राजिव खत्रीको फेसबुक पेजमा प्रकाशित भएको पाइएको थियो । पछि अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यही तस्बिर र क्याप्सनलाई साभार गरेर फैलाएका थिए । तीमध्ये कतिपयले पत्रकार खत्रीलाई स्रोतका रूपमा उल्लेख गरे पनि धेरैले भने कुनै जानकारी नदिई बालेनकै आधिकारिक भनाइ जसरी प्रस्तुत गरेका थिए ।

यसैबीच बालेनकै नाममा सञ्चालित सो नक्कली टिकटक अकाउन्टले उक्त विषयलाई थप अतिरञ्जित र भ्रामक बनाएर प्रस्तुत गरेको पुष्टि हुन्छ । उक्त टिकटक अकाउन्टले सुरुदेखि नै बालेन शाहले राजतन्त्र र राजावादी आन्दोलनलाई समर्थन गरेको देखाउने खालका सामग्री पोस्ट गर्दै आएको देखिन्छ ।

यसअघि पनि सोही अकाउन्टबाट पूर्वराजालाई समर्थन गरेको जस्तो देखाउने फोटो राख्दै “आदेश देऊ, देशका लागि मर्नु परे तयार छ यो ज्यान” जस्ता राजतन्त्र समर्थक देखिने भनाइ बालेनकै नाममा पोस्ट गरिएका थिए । त्यस्तै, ‘बालेन जम्बो टोलीसहित ललिता निवास जाँदैछन्’ र ‘बालेनले रवि लामिछानेलाई मार्मिक चिठी लेखे’ जस्ता पूर्णतया कपोलकल्पित र असत्य दाबी समेत सोही अकाउन्टबाट प्रचार गरिएको थियो । यी सबै सामग्रीमा हजारौं भ्युज आएका छन् । धेरैले बालेनले नै पोस्ट गरेको ठानी आफ्नो धारणा व्यक्त गरेको कमेन्टमा देखिन्छ । 

दाबी

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले पूर्वनवयुवराज हृदयन्द्रको फोटो राख्दै राजतन्त्रलाई समर्थन गरे । 

दाबीकर्ता

बालेनकै नामबाट खोलिएको ‘balen881’ नामक नक्कली अकाउन्ट ।

तथ्य

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले पूर्वनवयुवराज हृदयन्द्र शाहले बेल्चा समाएको फोटो राख्दै राजतन्त्रलाई समर्थन वा बिरोध केही पनि गरेका छैनन् । उनको नामबाट खोलिएको टिकटक अकाउन्टबाट पत्रकार राजिव खत्रीले राखेको क्याप्सन एडिट गरी बालेनले राखेको जस्तो बनाइएको हो । 

निष्कर्ष 

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले पूर्वनवयुवराज हृदयन्द्र शाहले बेल्चा समाएको फोटो राख्दै राजतन्त्रलाई समर्थन वा बिरोध केही पनि गरेका छैनन् । पत्रकार राजिव खत्रीले हृदयन्द्रले बेल्चा समाएको फोटो राख्दै उनको प्रशंसा गरेका थिए । बालेनको नामबाट खोलिएको नक्कली अकाउन्टले बने त्यही भनाइ बालेनले राखेको दाबी गर्दै एडिटेट पोस्ट राखेको हो । 

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ २०:५६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलसँग लिखित जवाफ मागेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हालेको रिटमा आज प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले लिखित जवाफ माग्ने आदेश गरेको हो। 

यस्तै सर्वोच्च अदालतले दुवै पक्षलाई असार ८ गते छलफलमा पनि बोलाएको छ।

न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले ०७८ सालमा अहिलेकै प्रधानमन्त्री र अहिलेकै अर्थमन्त्री रहेका बेला बजेटमा खानीजन्य वस्तुको निकासीसहितको प्रावधान सर्वोच्चले खारेज गरिदिएको थियो।

विगतमा खारेज भएको त्यही प्रावधान आगामी आर्थिक वर्षका लागि जेठ १५ मा ल्याइएको बजेटको बुँदा नम्बर ८७ मा राखिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जेठ २५ गते अवहेलनाको मुद्दा दायर गरेका थिए।

त्रिपाठीले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानासहित भविष्यमा सार्वजनिक पद धारणका निम्ति अयोग्य घोषित गर्न पनि माग गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

किभ। रूसले मंगलबार बिहान युक्रेनको राजधानी किभ र समुद्री सहर ओडेसालाई लक्षित गर्दै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको छ। यस घटनामा कम्तीमा तीन जनाको ज्यान गएको र प्रसूति अस्पतालसहितका संरचनाहरूमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन्।

रूसी रक्षा मन्त्रालयका अनुसार, किभमा रहेको उड्डयन, क्षेप्यास्त्र निर्माण, बख्तरबन्द सवारी तथा जलयान निर्माण केन्द्रहरूमा ‘समूहगत हमला’ गरिएको हो। मन्त्रालयले सबै लक्षित संरचनाहरूमा सफल प्रहार भएको दाबी गरेको छ।

तर युक्रेनका अधिकारीहरूका अनुसार, आक्रमणबाट अस्पताल र बासोबास क्षेत्रसमेत प्रभावित भएका छन्। ओडेसाका गभर्नर ओलेग किपरले दुई व्यक्तिको निधन भएको र कम्तीमा नौ जना घाइते भएको पुष्टि गरे। उनका अनुसार प्रसूति अस्पताल, आपत्कालीन कक्ष तथा आवासीय क्षेत्रहरूमा आक्रमण परेको भए पनि अस्पताल समयमै खाली गरिएकाले गम्भीर क्षति हुन पाएन।

किभमा पनि एक महिलाको निधन भएको तथा चार जना घाइते भएको जनाइएको छ। स्थानीय मेयरका अनुसार, सात वटा जिल्ला प्रभावित भएका छन्, जहाँ भवन र सवारी साधनमा आगलागी तथा क्षति भएको हो।


सामाग्री श्रोत :
https://www.dcnepal.com/2025/06/666216/

काठमाडौँ । ह्वावले आफ्नो नयाँ स्मार्टवाच सिरिज वाच फिट फोर नेपाली बजारमा सार्वजनिक गरेको छ । यस सिरिज अन्तर्गत कम्पनीले वाच फिट ४, वाच फिट ४ प्रो र ह्वावे ब्यान्ड १० सार्वजनिक गरेको हो । 

सार्वजनिक भएका मध्ये एक हो ह्वावे वाच फिट ४ प्रो । यो स्मार्टवाचमा कम्पनीले मोबाइल भुक्तानीको सेवा उपलब्ध गरेको छ । यसमा मोबाइल भुक्तानीका लागि एनएफसी फिचर छ । अर्थात् तपाईँले मोबाइलबाट हुने भुक्तानी आफ्नो स्मार्टवाचबाट नै गर्न सक्नुहुनेछ ।

वाच फिट प्रोमा १.८२ इन्चको एमोलेड डिस्प्ले दिइएको छ । टाइटानिम र आल्मुनियम अलोय प्रयोग गरी निर्मित यो वाचमा सफायर ग्लास प्रयोग भएको छ । ४०० एमएएको ब्याट्री भएको यो वाच १० दिनसम्म प्रयोग गर्न सकिनेछ । यसमा ईसीजी मनिटरिङ, रक्तचाप परीक्षण लगायतका फिचरहरू छन् ।कम्पनीका अनुसार सुरुमा वाच खरिद गर्ने सीमित ग्राहकले वाचको खरिदमा ह्वावे फ्रिबड्स एसई २ सित्तैमा पाउन सक्नेछन् । यसको मूल्य ३८ हजार ९९० रुपैयाँ तोकिएको छ । 

यस्तै १९ हजार ९९० रुपैयाँ मूल्य भएको ह्वावे वाच फिट ४ मा १.८२ इन्चको एमोलेड टचस्क्रिन दिइएको छ जसको ब्राइटनेस ३,००० निट्स छ । वाचको तौल मात्र २७ ग्रामको छ । कम्पनीले वाचमा ४०० एमएएचको ब्याट्री दिएको छ जुन एकपटकको फुल चार्जमा १० दिनसम्म चल्ने कम्पनीको दाबी छ । 

हार्मोनी ओएसमा आधारित यो स्मार्टवाचमा नियमित मुटुको चालको ट्रयाकिङ, निन्द्राको ट्रयाकिङ, तनाव तथा महिनावारी ट्रयाकिङ लगायतका फिचरहरू छन् । यस्तै वाचमा १०० भन्दा बढि स्पोर्टस मोडहरू छन् भने वाचले ५ एटीएम रेटिङ पाएको छ । यसको अर्थ यो वाच स्विमिङ वा अन्य कुनै वाटर स्पोर्ट्सको लागि उपयुक्त हुने कम्पनीको भनाइ छ । वाचमा एप नोटिफिकेसन, मौसम अपडेट, क्यामेरा लगायत अन्य फिचरहरू उपलब्ध छन् । 

यसैगरी कम्पनीले ह्वावे ब्यान्ड १० पनि सार्वजनिक गरेको छ । १.४७ इन्चको एमोलेड डिस्प्ले भएको यो फिटनेस ब्यान्ड १५ ग्रामको छ । ४५ मिनेटमा नै फुल चार्ज हुने यो ब्यान्ड १४ दिनसम्म चल्ने बताइएको छ । विभिन्न हेल्थ मनिटरिङ फिचरसँगै यसमा १०० भन्दा बढी स्पोर्ट्स मोडहरू छन् । कम्पनीले यसको मूल्य ६ हजार ९९० रुपैयाँ तोकेको छ ।  

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ २१:५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- भवन निर्माणमा अनियमितता गरेको आरोपमा सत्तारुढ नेकपा एमालेका मधेश प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

उनीसहितलाई प्रतिवादी बनाएर मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

ठाकुर धनुषा ३(२) बाट निर्वाचित सांसद हुन्। उनी मधेश प्रदेश सभामा एमाले संसदीय दलका उपनेता पनि छन्।

भ्रष्टाचारको मुद्दा लागेसँगै उनको सांसद पद निलम्बनमा परेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयमा प्रयोग हुँदै आएको पिउने पानीमा कोलिफर्म भेटिएपछि रु दुई लाख जरिवाना तोकेको छ।

जरिवानासँगै कामपाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता पनि भंग गरेको छ। कामपामा पिउने पानी आपूर्ति गरिरहेको सी एन इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए।

उनका अनुसार पत्रमा भनिएको छ, ‘यस कार्यालयमा सप्लाइ भई आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो। कामपा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम रु दुई लाख जरिवाना तोकिएको छ।’


सामाग्री श्रोत :

महानगरपालिकाको केन्द्रीय कार्यालयकै पिउने पानीमा भेटियो कोलिफर्म, दुई लाख जरिवाना

काठमाडौँ । एप्पलले आफ्नो वार्षिक वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लुडब्लुडीसी) को मुख्य कार्यक्रममा थुप्रै ठूला अपडेट सार्वजनिक गरेको छ । कार्यक्रमको दौरान कम्पनीले आफ्ना अपरेटिङ सिस्टममा आउन लागेको नयाँ आकर्षक डिजाइनका साथै आईफोन, आईप्याड, म्याक, एयरपड्स र अन्य डिभाइसहरूका लागि नयाँ फिचरहरू घोषणा गरेको छ ।

यसअघि नै चर्चामा आएका कतिपय फिचर कम्पनीले घोषणा गरेकै अनुरूप भएका छन् । खासगरी कम्पनीले आफ्नो सबै डिभाइसका अपरेटिङ सिस्टममा एकरूपता ल्याउन नाम परिवर्तन गर्ने जानकारी बाहिरिएको थियो । अन्ततः कम्पनीले सबै डिभाइसका अपरेटिङ सिस्टमको नयाँ अपडेटमा वर्षको पछिल्ला दुई अङ्क हुने पुष्टि गरेको छ ।

हाल आईओएसको भर्सन १८ प्रयोगमा आइरहेको छ । परम्परागत तरिकाले कम्पनीले नाम राखेको भए अहिले आईओएस १९ हुने थियो । तर, कम्पनीले वर्षको नाम राख्दा आईओएस १९ नभई आईओएस २६ हुने भएको छ । अर्थात् २०२६ मा उपलब्ध हुने आईओएस अपडेटको नाम अब आईओएस २६ हुनेछ । 

पछिल्ला केही वर्षदेखि अधिकांश स्मार्टफोन निर्माता कम्पनी एआई फिचरको होडमा लागेका छन् । कसले डिभाइसमा कति एआई फिचर राख्छ भन्ने प्रतिस्पर्धा नै चलेको छ । त्यसैले पनि प्रायः हार्डवेयरमा नभई पछिल्लो समय सार्वजनिक भएका डिभाइसको सफ्टवेयरमा कम्पनीले मेहनत गरेको देखिन्थ्यो ।

एप्पलले भने हार्डवेयर र सफ्टवेयरलाई सँगसँगै अगाडि बढाइरहेको छ । तर, यसपटकको डब्लुडब्लुडीसी भने एआईमा नभई यूआई अर्थात् युजर इन्टरफेसमा केन्द्रित भयो । प्रयोगकर्तालाई प्रिमियम अनुभव दिन कम्पनीले थुप्रै आकर्षक फिचर घोषणा गरेको छ । त्यसमध्येका प्रमुख फिचरको चर्चा यहाँ गरिएको छ ।

अपरेटिङ सिस्टमको नाम अब वर्ष अनुसार

अनुमान गरिए अनुसार एप्पलले अब आफ्ना सबै अपरेटिङ सिस्टमको नाम भर्सन नम्बरको सट्टा रिलिज हुने वर्षअनुसार राख्नेछ । नयाँ नामहरू आईओएस २६ (iOS 26), आईप्याडओएस २६ (iPadOS 26), म्याकओएस २६ (macOS 26), वाचओएस २६ (watchOS 26), टिभीओएस २६ (tvOS 26) र भिजन ओएस२६ (visionOS 26) हुनेछन् । कम्पनीका अनुसार यी सफ्टवेयर सन् २०२५ को अन्त्यतिर सार्वजनिक हुनेछन् । यो आईओएस १९ (iOS 19), वाचओएस १२ (watchOS 12) र म्याकओएस१६ (macOS 16) जस्ता भर्सन नम्बर सम्झनुभन्दा धेरै सजिलो छ ।

यी अपरेटिङ सिस्टमहरू डेभलपरहरूका लागि ‘बेटा’ भर्सनमा सोमबार रातिबाटै उपलब्ध भइसकेका छन् र सबै प्रयोगकर्ताका लागि यो वर्षको अन्तिमतिर उपलब्ध हुनेछ ।

‘लिक्विड ग्लास’ 

मान्नुस् तपाईंसँग एउटा पारदर्शी काँचको टुक्रा छ । त्यसलाई कुनै कागजका शब्दमाथि राख्नुभयो भने कस्तो देखिएला ? 

ठ्याक्कै यही डिजाइन कम्पनीले आफ्ना सबै डिभाइसमा ल्याउने भएको छ ।  एप्पलले आफ्ना सबै अपरेटिङ सिस्टममा डिजाइनलाई नयाँ रूप दिन यो विशेष डिजाइन स्टाइल घोषणा गरेको हो । 

अब ती सबैमा नयाँ ‘लिक्विड ग्लास’ थिम हुनेछ । यसले बटन, स्विच, स्लाइडर, टेक्स्ट र मिडिया कन्ट्रोलमा थप ट्रान्सप्यारेन्ट ल्याउनेछ । आईओएस २६को लकस्क्रिनमा देखिने मिति, समय र नोटिफिकेसनमा पनि यो नयाँ डिजाइन देखिनेछ । यसले वालपेपरलाई अझ स्पष्ट रूपमा हेर्न मद्दत गर्ने बताइएको छ ।

क्यामेरा, सफारी र फोन एपमा नयाँ डिजाइन

नयाँ डिजाइन अन्तर्गत एप्पलले आईओएस २६ का केही मुख्य एपमा पनि परिवर्तन गरेको छ । अब सफारीमा वेबपेजले पूरै स्क्रिन लिनेछ । 

अर्थात् पहिले तलपट्टिको पुरै भाग यूआरएलका लागि छुट्याइएको हुन्थ्यो भने अब डाइनामिक आइल्यान्ड जस्तै डिजाइनमा यूआरएल देखिनेछ । त्यसको दायाँ, बायाँ र तलपट्टिको सबै भाग वेबपेज देखिनेछ । 

क्यामेरा एपको लेआउट पनि सरल बनाइएको छ । पहिले शटर बटनको माथिपट्टि फोटो, भिडिओ लगायतका मोडेहरू हुने गरेकोमा अब तलपट्टि देखिनेछ । शटर बटनको तलपट्टि फोटो र भिडिओ गरी दुई मुख्य विकल्प देखिनेछन् । अन्य मोड जस्तै स्लो-मो (Slow-Mo) र सिनेम्याटिक (Cinematic) हेर्नका लागि टुल बारमा स्वाइप गर्नुपर्नेछ । फोन एपमा पनि फेभरेट, रिसेन्ट र भ्वाइसमेलका सबै कन्ट्याक्ट एउटै प्यानलमा देखिनेछन् ।

आईप्याड मा सुधारिएको विन्डोइङ फिचर

एप्पलले आईप्याडओएस २६ (iPadOS 26) मा एउटा ठूलो अपडेट ल्याउने घोषणा गरेको छ । यसले मल्टिटास्किङलाई निकै सजिलो बनाउने कम्पनीको भनाइ छ । नयाँ विन्डोइङ फिचरलेले प्रयोगकर्तालाई एप विन्डोजको आकार परिवर्तन गर्न, स्क्रिनमा जतासुकै राख्न र एकै पटक धेरै विन्डोज खोल्न दिनेछ । 

 

यसले धेरै हदसम्म म्याक जस्तै अनुभव दिनेछ । यसका साथै म्याकको ‘प्रिभ्यू’ एप पनि अब आईप्याडओएस २६ मा उपलब्ध हुनेछ । यसले प्रयोगकर्ताको अनुभवलाई सुधार्ने कम्पनीको दाबी छ । तर, आईप्याडलाई म्याक जस्तो बनाए आईप्याडको अर्थ के भन्ने धारणाले पनि केही टेक रिभ्युअरले प्रश्न उठाएका छन् ।

मेसेजेजमा कस्टम ब्याकग्राउन्ड र नयाँ ग्रुप च्याट फिचर

एप्पलले मेसेजेज एपलाई अपडेट गर्दैछ जसअन्तर्गत अब प्रयोगकर्ताले च्याटको ब्याकग्राउन्ड परिवर्तन गर्न र ग्रुप च्याटमा पोल (poll) तयार पार्न सक्नेछन् । यसका साथै ग्रुप च्याटमा टाइपिङ इन्डिकेटर र अपरिचित नम्बरबाट आएका मेसेजलाई छुट्टै फोल्डरमा राख्ने सुविधा पनि थपिएको छ ।

गेमका लागि नयाँ हब 

एप्पलले नयाँ ‘गेम्स’ एप सार्वजनिक गरेको छ । यसबाट प्रयोगकर्ताले आफ्ना सबै एप्पल आर्केड गेम एउटै ठाउँबाट खेल्न र नयाँ गेम पत्ता लगाउन सक्नेछन् । साथै ‘प्ले टुगेदर’ (Play Together) अप्सन प्रयोग गरेर साथीलाई विभिन्न किसिमका ‘च्यालेन्ज’ दिन पनि सकिनेछ ।

म्याकओएस टहोई २६ (macOS Tahoe 26) ले स्पोटलाइटलाई थप उपयोगी बनाउने

म्याकको नयाँ सफ्टवेयर अपडेटले ‘स्पटलाइट’ (Spotlight) लाई अझै शक्तिशाली बनाउने कम्पनीले बताएको छ । स्पोटलाइट भनेको म्याकओएसको सर्च फिचर हो जसले म्याक र त्यसमा जोडिएका अन्य डिभाइसको विभिन्न जानकारी तुरुन्तै खोज्न सघाउँछ । यसमा अब पर्सनलाइजेसन र फिल्टरिङ अप्सन थपिने ।

यसले गर्दा फाइल, फोल्डर, एप र मेसेज खोज्न पहिलेभन्दा झनै सजिलो हुनेछ । अब स्पटलाइटबाटै इमेल पठाउने वा नोट बनाउने जस्ता काम पनि गर्न सकिने कम्पनीले बताएको छ । यसका साथै फोन र नयाँ गेम्स एप पनि म्याकओएस २६ मा उपलब्ध हुनेछ ।

भिजन प्रोमा ‘PSVR2’ कन्ट्रोलर सपोर्ट

एप्पलको भिजन प्रोले अब भिजनओएस २६ (visionOS 26) मा प्लेस्टेसनको भीआर २ सेन्स (VR2 Sense) कन्ट्रोलर सपोर्ट गर्नेछ । यसले प्रयोगकर्तालाई विभिन्न प्रकारका भर्चुअल रियालिटी गेम खेल्न मद्दत गर्नेछ । साथै माथि वा तल हेरेर एपमा स्क्रोल गर्न मिल्ने नयाँ फिचर पनि थपिएको छ ।

एप्पल इन्टेलिजेन्सले स्क्रिनमा भएको कुरा खोज्ने

आईओएस २६ मा आउन लागेको नयाँ ‘एप्पल इन्टेलिजेन्स’ फिचरको सहायताले स्क्रिनसट लिने बटन प्रयोग गरेर एआईलाई एक्टिभ गर्न सकिन्छ । त्यसपछि स्क्रिनमा देखिएको कुराको बारेमा प्रश्न सोध्न वा कुनै वस्तुलाई गुगल वा इट्सी (Etsy) जस्ता प्लेटफर्ममा खोज्न सकिनेछ ।

हात हल्लाएकै भरमा वाचओएस २६ मा अनावश्यक नोटिफिकेसन हटाउन सकिने

‘लिक्विड ग्लास’ डिजाइनका साथै वाचओएस २६ मा ‘रिस्ट फ्लिक’ अर्थात् नाडी घुमाएर प्रयोग गर्न सकिने नयाँ जेस्चर आउँदैछ । यो जेस्चर प्रयोग गरेर नोटिफिकेसन हटाउन सकिन्छ । साथै एप्पल वाचमा एआईद्वारा सञ्चालित ‘वर्कआउट बडी’ पनि थपिनेछ जसले व्यक्तिगत सल्लाह र प्रेरणा दिनेछ ।

कल र टेक्स्ट मेसेजमा लाइभ ट्रान्सलेसन

एप्पलले मेसेजेज, फेसटाइम र फोन एपमा एआईद्वारा सञ्चालित लाइभ ट्रान्सलेसन (Live Translation) फिचर थप्दैछ । यसले मेसेजेज एपमा टेक्स्टलाई स्वतः अनुवाद गर्नेछ भने फोन कलमा बोलेको कुरालाई अनुवाद गरेर सुनाउनेछ । फेसटाइममा कुराकानी गर्दा अनुवाद गरिएको लाइभ क्याप्सन देखिनेछ ।

एयरपड्समा अब नयाँ क्यामेरा कन्ट्रोल

एप्पलले एयरपड्सका लागि एउटा नयाँ अपडेट सार्वजनिक गरेको छ । यसले प्रयोगकर्तालाई आफ्नो एयरपड्सको स्टेम (stem) मा ट्याप गरेर आईफोन वा आईप्याडबाट फोटो खिच्न दिनेछ । साथै कोलाहल भएको ठाउँमा पनि ‘स्टुडियो-क्वालिटी’ आवाज रेकर्ड गर्नका लागि ‘भ्वाइस आइसोलेसन’ फिचरमा काम भइरहेको कम्पनीले जानकारी दिएको छ । यो फिचर एयरपड्स ४ (AirPods 4), एयरपड्स ४ विथ एक्टिभ न्वाइज क्यान्सिलेसन (AirPods 4 with Active Noise Cancellation) र एयरपड्स प्रो टु (AirPods Pro 2) मा उपलब्ध हुनेछ ।

एप्पलले डेभलपरका लागि आफ्नो एआई मोडेल खुला गर्ने

एप्पलले थर्ड पार्टी एप डेभलपरलाई ‘एप्पल इन्टेलिजेन्स’ले प्रयोग गर्ने अन-डिभाइस लार्ज ल्याङ्ग्वेज मोडेलमा एक्सेस दिने घोषणा गरेको छ । यसले डेभलपरलाई आफ्नै एआई टुल बनाउन मद्दत गर्नेछ ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ २०:४





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट