
काठमाडौँ । राइड-हेलिङ प्लेटफर्म पठाओको राइडर बन्न ८० प्रतिशत अंकसहित अनिवार्य रूपमा आन्तरिक परीक्षा पास गर्नुपर्ने भएको छ । आफ्नो सेवालाई सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्यका साथ कम्पनीले राइडरका लागि यस्तो प्रावधान लागु गरेको हो ।
यस अनुसार पठाओमा राइडर बन्न इच्छुक व्यक्तिले ब्लु बुक, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा तेस्रो पक्ष बीमा अनिवार्य पेस गर्नुपर्ने छ । यी कागजपत्र पेस गरिसकेपछि उनीहरूलाई अनलाइन कक्षामा सहभागी गराइन्छ, जहाँ ग्राहकसँग कसरी व्यवहार गर्ने, डिजिटल वालेट कसरी प्रयोग गर्ने, एपमा अर्डर कसरी लिने लगायत कम्पनीका अन्य नियमहरू सिकाइन्छ ।
उक्त प्रशिक्षणपछि हुने पठाओको अनलाइन परीक्षामा कम्तीमा ८० प्रतिशत अंक ल्याउनुपर्ने र असफल हुनेले भोलिपल्ट पुनः प्रशिक्षण लिनुपर्ने कम्पनीकी मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् । राइडरको गुणस्तर, सुरक्षा र सेवा अनुभव सुनिश्चित गर्न यो व्यवस्था अनिवार्य गरिएको उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ १७:४१
सामाग्री श्रोत :
टेक पाना