काठमाडौँ । दूरसञ्चार कम्पनी एनसेलले भूमिगत तथा एडीएसएस (All-Dielectric Self-Supporting) अप्टिकल फाइबर केबल बिछ्याउने नयाँ परियोजना सञ्चालन गर्ने भएको छ । यसका लागि कम्पनीले योग्य तथा अनुभवी ठेकेदार/आपूर्तिकर्ताबाट प्रस्ताव आह्वान गरेको छ ।

कम्पनीले सञ्चालन गर्न लागेको फाइबर केबल विस्तार परियोजनाको तयारीस्वरूप इच्छुक फर्म वा कम्पनीहरूलाई आवश्यक कागजातसहित जानकारी पेश गर्न अनुरोध गरिएको हो ।
परियोजनाको कार्यक्षेत्र अन्तर्गत सर्वेक्षण र कार्यान्वयन योजना निर्माण, ट्रेन्चिङ, डक्टिङ तथा भूमिगत केबल बिछ्याउने कार्य समावेश छन् । त्यस्तै, पोलमार्फत एडीएसएस केबल जडान, म्यानहोल र जोइन्टिङ पिट निर्माण, मार्ग चिन्ह निर्माण, परीक्षण, कमिसनिङ र मर्मतसम्भार सेवा पनि परियोजनामा परेका छन् ।
परियोजना कार्यान्वयनका क्रममा ‘राइट अफ वे’ का लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्ने कार्यसमेत आवश्यक हुने एनसेलले जनाएको छ ।

आवेदन दिन चाहने कम्पनीहरूले भूमिगत तथा एरियल फाइबर अप्टिकल/एडीएसएस केबल बिछ्याउने काममा प्रमाणित अनुभव भएको, वैध लाइसेन्स, प्रमाणपत्रहरू तथा सुरक्षा मापदण्डको पालना गरेको, साथै वित्तीय तथा प्राविधिक रूपमा परियोजना सञ्चालन गर्न सक्ने हैसियत भएको हुनुपर्ने उल्लेख छ ।
इच्छुकले आफ्नो कम्पनी प्रोफाइल, प्राविधिक विवरण, अघिल्लो कामको अनुभव र सम्बन्धित कागजातसहित १० असार २०८२ भित्र आवेदन पेश गर्नुपर्ने एनसेलको सूचनामा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ ८:३७
सामाग्री श्रोत :
टेक पाना