२०८२ जेष्ठ २८ मंगलवार
२०८२ जेष्ठ २८ मंगलवार

संघीय अस्पतालमा दुई हजारभन्दा बढी जनशक्ति थप्ने तयारी

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघीय अस्पतालमा दुई हजारभन्दा बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेकामा अर्थ मन्त्रालयसँगको सहमतिमा स्वास्थ्य जनशक्ति थप गर्न प्रक्रिया अघि बढाएका थिए।

यसका लागि मन्त्रालयका सहसचिव ऋषि आचार्यको नेतृत्वमा आन्तरिक कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले दुई हजार १०२ जनशक्ति थप गर्न सकिने गरी संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन दिएको छ । यसमा अस्पताल तहमा थप गर्न सकिने प्राविधिक जनशक्तिको सङ्ख्या अधिक छ।

पाँच वर्षसम्म हरेक वर्ष जनशक्ति थप्ने गरी तयार पारिएको संगठन संरचनामा देशको सबैभन्दा ठूलो वीर अस्पतालमा ७७७ जनशक्ति थप्नुपर्ने जनाइएको छ। यस्तै, वीरअन्तर्गतकै ट्रमा सेन्टरमा ९० जनशक्ति थप्न सकिने उल्लेख छ।

यसैगरी कान्ति बाल अस्पतालमा ७८, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा १७३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३१७ स्वास्थ्य जनशक्ति थपिने छन्।

यीबाहेक कोशी अस्पतालमा १७२, नारायणी अस्पतालमा ३१८ तथा भेरी अस्पतालमा १७९ जनशक्ति थप हुनेछन् । गजेन्द्रनारायण स्मृति अस्पताल राजविराजमा १४४ जनशक्ति थपिँदा चितवनको भरतपुर अस्पतालले ४६५ जनशक्ति पाउनेछ। डडेल्धुरा अस्पतालमा ५२ तथा औषधि व्यवस्था विभाग र प्रयोगशालामा गरी ४० जनशक्ति थप गर्ने गरी संगठन संरचना गरिएको छ। आज प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थामा चाप अत्यधिक भए पनि लामो समयसम्म जनशक्ति थप नहुँदा सेवा दिन कठिनाइ भइरहेको र यस कार्यले केही हदसम्म समस्या समाधान हुने विश्वास व्यक्त गरे।

जनशक्ति पूर्तिपछि विभिन्न अस्पतालमा रहँदै आएका अस्थायी र करारको दरबन्दी घटेर स्थायित्व प्राप्त गर्न मद्दत पुग्ने ठानिएको छ। विसं २०६६ मा केही जनशक्ति थप भए पनि त्यसयता विस्तृत रूपमा संगठन तथा व्यवस्थापन सर्भेक्षण हुन सकेको थिएन। यस प्रतिवेदनको कार्यान्वयनले बढ्दो चाप सामना गर्दै रिक्त जनशक्ति पूर्ति तथा रोजगारी सिर्जनामा समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।


सामाग्री श्रोत :

संघीय अस्पतालमा दुई हजारभन्दा बढी जनशक्ति थप्ने तयारी

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट