विराटनगर– पूर्व भूमिसुधार मन्त्री तथा राप्रपा नेता रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । एक महिलाले आफ्ना गोप्य अङ्गको खानतलासी गर्दै गैरकानुनी व्यवहार गरेको भन्दै सुब्बासहित तीन जनाविरुद्ध उजुरी दिएकी हुन्।

सुब्बालगायत सोही ठाउँ इटहरी उपमहानगर ९ बस्ने गोपाल शाह र सुनिता घिमिरेविरुद्ध मुद्दा परेको हो । शाह पीडित महिलाका ससुरा हुन् ।
पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दुर्व्यवहार गरेकाे अभियोग पत्रमा उल्लेख छ । आफूलाई पूर्वमन्त्री सुब्बालगायतले जबरजस्ती गैरकानुनी शरीर तलासी तथा बेइज्जती गरेको आरोप उनको छ ।
श्रीमानसहित परिवारका सदस्यहरूले ती महिलालाई हेलाहोचो गरी घरबाट निकाला गरेपछि पीडित महिलाले अंश मुद्दा दायर गरेकी थिइन् ।
श्रीमान र ससुराको बारम्बारको यातनाको कारण मुद्दा दायर गरेर मोरङको डायनियाँस्थित माइतीमा बस्दै आएकी छन् ।

महिलाले दायर गरेको मुद्दामा उनको परिवारले म्यादसमेत नबुझेको र परिवारको यातनाको कारण सम्बन्ध बिच्छेद र अशं मुद्दा दायर गरेकी महिला माइतीमै बस्दै आएकी थिइन् । उनलाई पूर्वमन्त्री सुब्बाले आफू इटहरीको नेता र पूर्वमन्त्री रहेको भन्दै मुद्दा फिर्ता गर्न दबाब दिएको पीडितको जाहेरीमा उल्लेख छ ।
माइतीघरमा प्रतिवादी सुब्बासहितले आफ्नो लिङ्गप्रति प्रश्न गरेको र ‘तिमी हिँजडा भएको कारण अस्वीकार गरेको भन्दै अपमान गरेपछि विवाद भएको जाहेरीमा उल्लेख छ । ‘प्रतिवादी रामकुमार सुब्बाले तिम्रो लिङ्ग हेर्नको लागि हामीले आफ्नै महिला (सुनिता घिमिरे) कर्मचारी ल्याएका छौं । तिमीले आफू केटी मानिस हो भन्ने कुराको पुष्टि गर्नुपर्छ भन्दै दबाब दिए’ जाहेरीमा पीडितले भनेकी छन् ।
सुब्बाले गोपाल आफ्नै घरमा बस्ने केटो भएकाले परिवार बिखण्डन हुन लागेकाले छलफलमा गएको बताए । उनले भने, ‘म छलफलमा गएको हो । छलफलमा गएको विषयलाई अतिरन्जित बनाइयो ।’ उनले आफूले कुनै दुर्ब्यबहार नगरेको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ