काठमाडौँ । ह्वावेले यही जुन ११ मा आफ्नो नयाँ स्मार्टफोन ‘प्रिमियम पुरा ८०’ सार्वजनिक गर्दैछ ।

पुरा ८० मा पहिलाका मोडलहरूमा देखिएको त्रिकोण आकारको क्यामेरा बम्प रहनेछ भने क्यामेरा, सेन्सर र लेन्समा उल्लेखनीय सुधार हुने बताइएको छ । मार्चमा सार्वजनिक गरिएको फोल्डेबल पुरा एक्स स्मार्टफोन जस्तै, पुरा ८० सिरिज पनि ह्वावेको नयाँ अपरेटिङ सिस्टम हार्मोनी ओएस नेक्स्टमा चल्नेछ । गुगलले एन्ड्रोइडको सेवामा प्रतिबन्ध लगाएपछि ह्वावे झन् बलियो हुँदै गइरहेको छ । यसैको एउटा परिणाम हो हार्मोनी ओएस ।
कम्पनीले चिनियाँ सामाजिक सञ्जाल विबो ‘Weibo’ मार्फत यस सिरिज अन्तर्गतका केही मोडेलहरूको फिचरहरू सार्वजनिक गरेको छ ।
पुरा ८० सिरिजमा चार मोडेल रहनेछन्; स्ट्यान्डर्ड, प्रो, प्रो प्लस र अल्ट्रा । यी सबै मोडेलहरूमा ह्वावेको किरिन ९०२० चिपसेट प्रयोग गरिने बताइएको छ भने फोन हार्मोनी ओएस ५ मा चल्नेछ । हार्मोनी ओएस ५ पहिलेको संस्करणहरूभन्दा फरक रूपमा एन्ड्रोइड ओपन सोर्स परियोजनामा आधारित नभई पूर्ण रुपमा ह्वावेको आन्तरिक प्रणालीमा आधारित हुनेछ ।

अहिलेसम्म बाहिरिएको जानकारी अनुसार फोटोग्राफीतर्फ पुरा ८० अल्ट्रामा ५० मेगापिक्सेल डुअल-पेरिस्कोप टेलिफोटो लेन्स, १ इन्चको स्मार्टसेन्स सेन्सर, र २ मेगापिक्सेल कलर टेम्प्रेचर सेन्सर रहने अनुमान गरिएको छ । यसले विशेषगरी लो-लाइट र जुम गरेर खिचिएका तस्विरहरू उच्च गुणस्तरको दिने बताइएको छ ।
यस्तै, स्ट्यान्डर्ड पुरा ८० मा अघिल्लो मोडेलजस्तै क्यामेरा सेटअप रहने भए पनि, नयाँ एआई प्रविधिको सहायताले फोटोको गुणस्तरमा सुधार आउने बताइएको छ ।
यो सिरिजलाई ह्वावेको अमेरिकी प्रतिबन्धबीच पनि स्मार्टफोन बजारमा पुनः मजबुत उपस्थिति जनाउने रणनीतिक कदमको रूपमा हेरिएको छ । उत्कृष्ट क्यामेरा र प्रविधिमा रुचि राख्ने प्रयोगकर्ताहरूका लागि पुरा ८० सिरिज आकर्षक बन्ने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ १८:४०
सामाग्री श्रोत :
टेक पाना