२०८२ जेष्ठ २७ सोमबार
LATEST NEWS
२०८२ जेष्ठ २७ सोमबार

एक पालिका, एक जनस्वास्थ्य अधिकृत: सार्थकता र कार्यान्वयनको खाका

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम र बजेटमा सातौं तहका जनस्वास्थ्य अधिकृत नियुक्त गर्ने कार्यक्रम स्वीकृत गरिएको छ। वर्षौंदेखि नारामा मात्र सीमित रहँदै आएको “एक पालिका, एक जनस्वास्थ्य अधिकृत”को अवधारणालाई यसपालि औपचारिक रूपमा समावेश गरेर मन्त्रालयले स्थानीय स्वास्थ्य प्रणाली सुदृढीकरणतर्फ एक ऐतिहासिक र दूरदर्शी कदम चालेको छ।

यस ऐतिहासिक पहलको नीति निर्माण, बहस, वकालत, रणनीति तर्जुमा र कार्यक्रम स्वीकृतिसम्मको सम्पूर्ण प्रक्रियामा सक्रिय योगदान दिनु हुने सबै नीति निर्माता, विज्ञ, सरोकारवाला, जनप्रतिनिधि तथा जनस्वास्थ्य अभियन्ताहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्व तथा नीति, योजना निर्माण र समन्वयमा संलग्न विज्ञहरू जसको प्रयासले यो पहल सम्भव भएको हो उहाँहरु प्रति विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु।

हामीले परिकल्पना गरेको “एक पालिका, एक जनस्वास्थ्य अधिकृत” एउटा सामन्य कार्यक्रम होइन, कुनै एक व्यक्तिले जागिर खाने खुवाउने मात्रै कुरा रहेन, यो त एउटा देशको स्वास्थ्य प्रणाली वलियो वनाउने, जनतालाई जनस्वास्थ्यसित जोड्ने र स्थानीय स्तरमा स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई सुधार गर्दै जनताको स्वास्थ्य अवस्था सुधार गर्ने, रोग लाग्न नदिने, लागेपनि क्षति न्यूनीकरण गर्ने, र जनताको आयु लम्ब्याउने दीर्घकालीन महत्व झल्किने र लगानीको प्रतिफल फर्काउने योजना हो। त्यसैले यस कार्यक्रमलाई सुरुवाती चरण देखि नै योजनावद्द तरिकाले कार्यान्वयन गर्न सकिएन भने विगतका केहि असफल कार्यक्रमहरु जस्तै यो अवधारणा असफल हुन सक्छ। त्यसैले सम्पूर्ण सरोकारवालाहरुलाई यो अवधारणा सफल वनाउन आफ्नो आफ्नो स्थानबाट सहयोग गर्न समेत विशेष अनुरोध गर्दछु। स्वास्थ्य नीतिको विधार्थी र नेपालको जनस्वास्थ्य क्षेत्रलाई सुष्म तरिकाले नियाल्ने, विश्लेषण गर्ने जनस्वास्थ्यकर्मीको हिसाबले अब यो अवधारणालाई कसरी अगाडी वढाउन सकिन्छ भने आफ्नो धारणा र सुझाव पेश गर्ने प्रयास गरेको छु।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध:
“एक पालिका, एक जनस्वास्थ्य अधिकृत” शशर्त अनुदान मार्फत पालिकाहरुलाई दिईने अरु कार्यक्रम जस्तो होइन। स्थानीय सरकारको क्षमता अभिवृदी गर्दै स्वास्थ्य प्रणालीलाई वलियो वनाउने यो एउटा रणनीतिक अवधारणा र मन्त्रालयको एउटा डृम प्रोजेक्ट मात्रै होईन, सर्व-स्वीकार्य रुपमा अगाडी आएको र स्थानीय सरकारहरुले माग गरेको विषय हो।त्यसैले यस कार्यक्रमको सफल कार्यान्वयनका लागि सुरुवाती चरणदेखि नै स्पष्ट योजना सहित, प्रक्रिया र अभिलेखीकरण प्रणालीको एउटा कार्यविधि सहित कार्यान्वयन गर्नु अपरिहार्य छ। किनकि यो सामान्य तरिकाले होइन, केहि तथ्यहरु संकलन गरेर, भविष्यमा निर्माण हुने स्वास्थ्य जनशक्ति सम्बन्धि दीर्घकालीन योजनाहरु वनाउनुपर्नेछ, हाम्रो स्थायी दरवन्दी सृजनाको लागि आधार तय गर्नुपर्नेछ, जनस्वास्थ्य अधिकृतको प्रभावकारिता हेर्नुछ, जनस्वास्थ्य पढेको अधिकृत स्थानीय सरकारमा चाहिन्छ भने किन चाहिने रैछ? चाहिदैन भने किन नचाहिने रैछ भन्ने कुराको तथ्य निकाल्नु छ, स्थानीय तहमा भए गरेका समस्या वुझ्नुपर्नेछ, जनप्रतिनिधिका आवाज र अनुभवलाई सुन्नुपर्नेछ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्थानीय सरकार र समुदाय सितको दुरी घटाउनु छ। त्यसैले यस कार्यक्रमको स्वामित्व व्यवहारिक रुपमा स्थानीय सरकारले नै गर्ने भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो उपस्थिति स्थानीय सरकारसम्म पुगेको अनुभव सहित यस कार्यक्रमलाई डिजाईन गरेर कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ।

सदा झैँ स्वीकृत कार्यकम प्राप्त भएपछी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहवाट सञ्चालन गरिने स्वास्थ्य तर्फका सशर्त अनुदान अन्तर्गतका क्रियाकलापहरु सञ्चालन सम्वन्धी मार्गदर्शन वनाउने नै छ। यदपी सोहि मार्गदर्शन निर्माण गर्ने क्रममा यो कार्यक्रमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निम्नानुसार व्यवस्था सहित योजना वनाउन सकेमा राम्रो हुनेछ भन्ने विश्वास लिएको छु।

१)    यो कार्यक्रमको कार्यान्वयनलाई विशेष रुपमा हेर्नेको लागि संघीय, प्रदेश र स्थानीय तहको समेत प्रतिनिधित्व हुने गरी समिति वा कार्यदल निर्माण गरेर अगाडी वढ्नुपर्छ। राष्ट्रिय जनस्वास्थ्य समिति, जनप्रतिनिधिका विभिन्न संघ संस्था जस्तै नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघलाई समेत समावेश गरेर यो अवधारणाको योजना, कार्यान्वयन र मुल्यांकन गर्ने; जनस्वास्थ्यलाई स्थानीय स्तरसम्म राजनीतिको एजेण्डा वन्ने किसिमले कार्यक्रमको सुरुवात गर्नुपर्छ।

२)    यो कार्यक्रम सफल हुने वा नहुने भन्ने कुरा हामीले नवनियुक्त जनस्वास्थ्य अधिकृतलाई दिईने कार्यविवरणले नै निर्धारण गर्ने मेरो अनुमान छ। कार्यविवरण निर्माण गर्दा हाल स्थानीय तहमा रहेर काम गरिरहनु भएका स्वास्थ्यकर्मीहरुले नियमित गरिराख्नु भएको काम क्रियाकलाप भन्दा केहि फरक किसिमको जिम्मेवारी सहित, स्थानीय जनप्रतिनिधिहरुलाई स्वास्थ्यको तथ्य तथ्याँक र नीति, योजना, प्राथमिकता निर्धारणमा सहयोग गर्ने, पालिका स्वास्थ्य शाखालाई एउटा जनस्वास्थ्य विज्ञको रुपमा प्राविधिक सरसल्लाह दिने, र पालिकाको कार्य सम्पादनलाई विशेष सहयोग पुर्याउने किसिमको जिम्मवारी तय गर्नुपर्छ। जनस्वास्थ्य अधिकृत मार्फत सिधै स्वास्थ्य प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने, घरटोलमै जनचेतना फैलाउन, विद्यालय स्वास्थ्य, सरसफाइ, शुद्ध पिउने पानी, खाद्यन्न लगायत समुदायमा स्वास्थ्य कार्यक्रम गर्ने, सरुवा तथा नसर्ने रोग नियन्त्रणका क्रियाकलापहरु संचालन गर्ने भन्दा पनि यी सबै कार्यक्रमहरुलाई स्थानीय स्तरमा प्रभावकारी वनाउन गर्नुपर्ने तयारी, नीति निर्माण, योजना, कार्यान्वयनको खाका, मुल्यांकन, तथ्य तथ्याँकको विश्लेषण, स्वास्थ्य स्थीति प्रतिवेदन तयार, वकालत, नीति संवाद, वहस छलफल  आदि जस्ता insights प्रदान गर्ने Independent public health expert को रुपमा हाल खटाईने जनस्वास्थ्य अधिकृतको परिचालन गर्नु उपयुक्त हुन्छ।

३)    स्थानीय तहमा खटिने जनस्वास्थ्य अधिकृतहरूको एकीकृत कार्य विवरण तयार गरि प्रशिक्षण, अभिमुखीकरणको प्याकेज निर्माण गर्ने। कार्य विवरण निमार्ण गर्दा स्थानीय पालिकामा कार्यरत स्वास्थ्य शाखा प्रमुखहरुको समेत राय तथा सुझाव लिएर मात्रै अन्तिम रुप दिने।

४)    आर्थिक वर्षको प्रारम्भदेखि नै प्रत्येक गतिविधिको सूक्ष्म अनुगमन, अभिलेख व्यवस्थापन र समन्वयका लागि आवश्यक पर्ने खाका तयार गर्ने।

५)    जनस्वास्थ्य अधिकृतहरूको कार्य सम्पादन, अनुगमन, तथा सूक्ष्म मूल्याङ्कनको खाका तयार गर्ने।

६)    नवनियुक्त जनस्वास्थ्य अधिकृतहरुलाई स्थानीय सरकारको स्वास्थ्य शाखाबाट प्राप्त हुने ज्ञान, शीप, तथा क्षमता अभिवृदिका अलवा आवश्यक पर्ने थप प्राविधिक सहयोग गर्न जनस्वास्थ्यका प्राथमिकताका कार्यक्रमका विज्ञ जस्तै क्षयरोग नियन्त्रण, नीति योजना विज्ञजस्ता प्राविधिक विज्ञहरुको टीम राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा Pooled technical assistance platform स्थापना गरेर स्वास्थ्य क्षेत्रका साझेदार निकायहरुलाई समेत परिचालन गर्ने र आवश्यक पृष्ठपोषण, तथ्यांक संकलन, विश्लेषण, नियमित समिक्षा तथा समन्वय गर्ने काम थालनी गर्ने।

७)    यस कार्यक्रमलाई कार्यान्वयन, फ़िजिविलिटी, तथा Implementation research, कार्यक्रम कार्यान्वयनको संख्यात्मक र गुणात्मक मुल्यांकन गर्नको लागि विभिन्नसंग सस्थाहरुलाई आह्वान गर्दै सुरुवाती चरण मै सहकार्य गर्ने। 

आदि जस्ता विषयहरु अहिलेदेखि नै सोच विचार गर्न सकियो भने यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुने मात्रै नभई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कै समग्र नीति, निर्माणलाई सहयोग हुने तथा स्थानीय सरकारले भोगेका समस्याहरुलाई समन्वय गर्न समेत ठुलो भूमिका खेल्नेछ र स्थानीय सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दुरी समेत घट्नेछ।

प्रदेशलाई अनुरोध:
प्रदेश सरकार तथा मातहतका निकायहरूले प्रदेशस्तरीय आयोजना, विविध गतिविधि र कार्यक्रमहरूलाई नियमित प्रक्रिया अनुसार समन्वय र सहकार्य गर्दै आइरहेका छन्, जुन सराहनीय छ। तथापि, ‘एक पालिका, एक जनस्वास्थ्य अधिकृत’ कार्यक्रम भने विशिष्ट प्रकृतिको कार्यक्रम भएको हुँदा यसलाई संघीय अनुदानको कार्यक्रम हो, स्थानीय तहले कार्यक्रम गर्छ हाम्रो भूमिका छैन भने तरिकाले नहेरेर समग्र स्वास्थ्य प्रणालीमा सकारात्मक प्रभाव पार्ने सम्भावना भएको कार्यक्रम हुँदा यसलाई कार्यान्वयन गर्न, मुल्यांकन गर्न तथा पृष्ठ पोषण प्रदान गर्न प्रदेशका स्वास्थ्य निकायहरुको विशेष भूमिका रहन्छ। यस कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकारले स्थानीय तहमा सञ्चालन भएका कार्यक्रमहरूको प्याकेज, विगतमा देखिएका स्वास्थ्य समस्या र अवस्थाको विश्लेषणलाई आधार बनाएर नव नियुक्त जनस्वास्थ्य अधिकृतहरूलाई अभिमुखीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्न आवश्यक छ। साथै प्रदेशमा खटिएका जनस्वास्थ्य अधिकृतहरुलाई जिल्ला स्थित स्वास्थ्य कार्यालयहरु मार्फत आवश्यक प्राविधिक ज्ञान शीप तथा पृष्ठ पोषण प्रदान गर्ने कामलाई व्यवस्थित रुपमा गर्नुपर्ने देखिन्छ। यसले नव नियुक्त जनस्वास्थ्य अधिकृतहरूको क्षमता अभिवृद्धिमा मात्र होइन, हाल कार्यरत स्वास्थ्य शाखा प्रमुख तथा अन्य स्वास्थ्यकर्मीहरूलाई पनि प्राविधिक सशक्तीकरणमा ठोस सहयोग पुर्याउनेछ।

स्थानीय तहहरू र स्वास्थ्यकर्मीहरलाई विशेष अनुरोध:
संघीयताको कार्यान्वयनसँगै स्थानीय तहहरुमा खटिएर काम गर्नुभएका स्वास्थ्यकर्मीहरुको योगदानले नै हामी अहिले यहाँसम्म आईपुगेका छौ। यहाँहरुकै अनुभव, भोगाई र मागले गर्दा एक पालिका एक जनस्वास्थ्य अधिकृत कार्यक्रम डिजाईन भई कार्यान्वयनसम्म आईपुगेको छ, यहाँहरुको माग पुरा भएको छ। अब यहाँहरुले नै स्थानीय स्तरमा नीति योजना तर्जुमा तथ्य तथ्याङ्क विश्लेषण संकलन तथा अभिलेखीकरण गर्न सक्ने व्यक्ति छनोट गरेर राख्ने भएको हुँदा अरु किसिमको जनशक्तिलाई करारमा राखेर सेवा लिने दिने, जागिर लिने जागिर खुवाउने जस्तो हल्का तरिकाको कार्यक्रमको रुपमा मात्रै नहेरी विशेष किसिमको स्वास्थ्यको एउटा महत्वपूर्ण कार्यक्रमको रुपमा लिएर स्थानीय तहमा राखिने जनस्वास्थ्य अधिकृतको शीप, ज्ञान र क्षमतालाई स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने एउटा अवसरको रुपमा लिनुहुन विशेष अनुरोध छ।

कुनै एक जना व्यक्ति मात्रै थपिएर समग्र स्वास्थ्य क्षेत्रको सुधार भई हाल्ने भन्ने पक्कै पनि होइन यदपी यो पटक राखिएको एक पालिका एक जनस्वास्थ्य अधिकृतलाई अरु किसिमको करारको जनशक्ति राख्ने तरिकाले नहेरिकन यसलाई समग्र स्वास्थ्य प्रणालीको एउटा रिफर्म गर्ने प्रक्रियाको पहिलो परीक्षण कार्यक्रमको रुपमा हेर्दै स्थानीय तहमा राखिने जनस्वास्थ्य अधिकृतलाई विशेष तरिकाले परिचालन गरी आवश्यक मुल्यांकन, निर्देशन, समन्वय, पृष्ठपोषण प्रवाह गर्नुहुनको लागि स्थानीय तहमा रहनुभएका स्वास्थ्य शाखा प्रमुख लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई विशेष अनुरोध गर्न चाहन्छु। एउटा पालिकामा जनस्वास्थ्य अधिकृत राखिनुपर्छ भन्ने विषयवस्तु यहाँहरुले भोग्दै गरेको, यहाँहरुले अनुभव गरेको र यहाँहरुकै अनुभवबाट सृजित एउटा एजेन्डा थियो जुन आज कार्यान्वयनको चरणमा पुगेको छ, यसको लागि यहाँहरुलाई हार्दिक वधाई पनि व्यक्त गर्दछु।

स्वास्थ्य क्षेत्रका साझेदार निकायहरुलाई अनुरोध: 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस आर्थिक वर्षमा कार्यान्वयन गर्न लागेको भविष्यमा दीर्घकालीन रुपमा स्थानीय तहको स्वास्थ्य प्रणालीलाई सुदृढ गर्नसक्ने सम्भावना रहेको अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नको लागि आवश्यक पर्ने सहयोग, कार्यक्रम मूल्यांकन गर्नको लागि अनुसन्धान तथा तथ्यांकहरुलाई विश्लेषण गर्नको लागि आवश्यक पर्ने  प्राविधिक सहयोगको लागि स्वास्थ्य क्षेत्रका साझेदार निकायहरुले साझा एजेण्डाको रुपमा लिएर अगाडी वढ्नुपर्छ। एकातिर स्वास्थ्य क्षेत्रका साझेदार निकायहरुको सहयोग घट्दो क्रममा रहेको छ, अर्को तिर स्वास्थ्य क्षेत्रका साझेदार निकायहरुको ठुलो रकम स्वास्थ्य जनशक्ति मै गईरहेको छ।प्राविधिक सहयोगको रुपमा सधै जनस्वास्थ्यको विज्ञलाई पालिकाहरुमा दिइराख्नु पनि दीर्घकालिन समाधान र परियोजनाहरुको सोच भित्र पर्दैन। त्यसैले सरकारले नै राख्न खोजेको जनशक्तिको विकास, विस्तार र स्थाईत्वोको लागि रचनात्मक भूमिकामा स्वास्थ्य क्षेत्रका साझेदार निकायहरुले विशेष भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। जनस्वास्थ्य अधिकृत खटाइएका पालिकाहरूमा विशेष किसिमको अनुसन्धान गर्ने र प्रभावकारिता बारेमा परिचालन भए पश्चात भएका फाइदाहरू तथा स्थानीय तहमा भएका सुधारहरू, कमीकमजोरीहरू सबै कुरालाई औल्याएर एउटा तथ्य प्रस्तुत गर्नको लागि आवश्यक पर्ने परियोजनाहरू डिजाइन गरेर स्थानीय स्वास्थ्य प्रणाली लागि थप सुधार गर्न हातेमालो गर्नु अहिलेको आवश्यकता छ।

नेपाल जनस्वास्थ्य संघलाई अनुरोध:
नस्वास्थ्य अधिकृतको एजेण्डालाई निरन्तर उठाईरहने नेपाल जनस्वास्थ्य संघलाई पनि हार्दिक वधाई छ। अब नेपाल जनस्वास्थ्य संघले स्थानीय तहमा खटिने जनस्वास्थ्य अधिकृतहरुलाई आवश्यक पर्ने ज्ञान शीप र प्राविधिक सहयोग पुर्याउन समेत त्यतिकै सक्रिय भूमिका आवश्यक छ। आफ्नो नेटवर्कलाई थप मजवुत वनाउदै स्थानीय स्तरमा खटिएका जनस्वास्थ्य अधिकृतको नेटवर्क निर्माणमा सहजीकरण गर्दै, peer -learning, mentorship opportunities र competency development मा आवश्यक सहयोग पुर्याउन नेपाल जनस्वास्थ्य संघलाई अनुरोध छ।

अन्त्यमा,
एक पालिका, एक जनस्वास्थ्य अधिकृत” कार्यक्रम नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणको दिशामा गरिएको ऐतिहासिक र दूरदर्शी पहल हो। स्थानीय तहमा सशक्त प्राविधिक नेतृत्वद्वारा नीति, योजना र सेवा प्रवाहलाई संस्थागत गर्दै जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने आधार निर्माण गर्ने प्रक्रिया हो। यस कार्यक्रमको सफल कार्यान्वयन सबै तहका सरकार, स्वास्थ्यकर्मी, साझेदार संस्था, अनुसन्धानकर्ता, जनप्रतिनिधि र नीतिनिर्माताहरूको साझा प्रयास, स्वामित्व र प्रतिबद्धता बिना सम्भव छैन।

त्यसैले, हामी सबैले आ-आफ्नो स्थानबाट जिम्मेवारी वहन गर्दै यो कार्यक्रमलाई परिणाममुखी बनाउन हामी सबै लागि परौं, कार्यक्रमलाई सफल बनाऔं र नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन र रूपान्तरणात्मक परिवर्तन ल्याऔं।

जय जनस्वास्थ्य! 

-(सगुन पौडेल जनस्वास्थ्यकर्मी हुन्। हाल उनी लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन र लण्डन स्कूल अफ ईकोनमिक्स एण्ड पोलिटिकल साइन्स, बेलायतमा हेल्थ पोलिसी, प्लानिङ् एण्ड फाइनान्सिङ अध्ययनरत छन्।)


 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट