काठमाडौं । ई-स्पोर्ट्स विश्वकप २०२५ मा स्थान बनाउने लक्ष्यसहित तीन नेपाली पब्जी मोबाइल टिम कजाखस्तान प्रस्थान गरेका छन् । नेपालका पब्जी टिम डीआरएस गेमिङ, होरा ईस्पोर्ट्स र एएसटी ईस्पोर्ट्स (ट्राइब एरोमेसी) आइतबार कजाखस्तानको अल्माटी सहरतर्फ उडेका हुन् ।

उनीहरूले त्यहाँ आयोजना हुने ‘पब्जी मोबाइल सुपर लिग (PMSL) मध्य तथा दक्षिण एसिया स्प्रिङ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् । यो ईस्पोर्ट्स विश्वकपको एक महत्त्वपूर्ण छनोट चरण हो ।
१२ देखि २२ जुन २०२५ सम्म अल्माटीमा आयोजना हुने यो प्रतियोगिताको कूल पुरस्कार राशि २ लाख अमेरिकी डलर (करिब २ करोड ७४ लाख रुपैयाँ) रहेको छ । प्रतियोगितामा मध्य तथा दक्षिण एसियाका कूल २० व्यावसायिक टिमले सहभागिता जनाउने छन् । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन टिमले सोझै साउदी अरबमा आयोजना हुने प्रतिष्ठित ईस्पोर्ट्स विश्वकप २०२५ मा स्थान सुरक्षित गर्नेछन् ।
यो प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ, जहाँ १२ देखि १८ जुनसम्म चल्ने समूह चरणबाट उत्कृष्ट १६ टिम फाइनलका लागि छनोट हुनेछन् । र, २० देखि २२ जुनसम्म हुने फाइनलले विजेताको टुङ्गो लगाउनेछ ।

यस पटक नेपालबाट सहभागी टिम डीआरएस गेमिङमा ग्यान्टे, किलर वाईटी , एक्सएमपीएल र डेल्टाएक्स रहेका छन् । त्यस्तै होरा ईस्पोर्ट्सको टिममा जिगल, स्काई, नोफियर र स्लिपी समावेश छन् । त्यसैगरी एएसटीमा ज्यो, रिग, भेनम र ट्रिक्स रहेका छन् ।
हालै सम्पन्न पब्जी मोबाइल नेसनल च्याम्पियनशिप (पीएमएनसी) दक्षिण एसियाबाट डीआरएस पहिलो र एएसटी दोस्रो भएर यस प्रतियोगिताका लागि छनोट भएका हुन् । उता होरा ईस्पोर्स्ट भने ‘इन्भाइट’ अन्तर्गत छनोट भएको हो ।
यी टिमले यसअघि पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेकाले यस पटक पनि उनीबाट ठुलो आशा राखिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ १८:५१
सामाग्री श्रोत :
टेक पाना