काठमाडौं । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार भएको भीषण आगलागीबाट ८ करोड ७७ लाख बढी मूल्यको धनमाल जलेर नष्ट भएको प्रारम्भिक मूल्याकंन गरिएको छ।

नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर विस्फोट भएपछि सुरु भएको आगोले बजार क्षेत्रका ३५ वटा पसलहरू जलेर पूर्णरूपमा नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन अनुसार करिब ८ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
आगजनीको घटनापछि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे शनिबार बिहान बाम्का बजार पुगेर घटनास्थलको निरीक्षण गरेका छन्।
काठमाडौँबाट विशेष टोलीसहित प्रस्थान गरेका मन्त्री पाण्डेले आगलागीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै जलेर नष्ट भएका पसल, घर र संरचनाहरूको जानकारी लिएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले आगलागीबाट ३५ वटा पसल पूर्णरूपमा क्षतिग्रस्त भएको पुष्टि गर्दै प्रारम्भिक विवरण अनुसार सबैभन्दा बढी योगनाथ न्यौपानेको किराना पसलमा करिब १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका छन्।
त्यसैगरी, तोयानाथ न्यौपानेको १ करोड ५० लाख, छत्र थापाको १ करोड ५० लाख र धनबहादुर साउँदको १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिएका छन्।
आगलागीबाट दिपक साउँद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाको पसलमा पनि ठूलो क्षति भएको भए तापनि हालसम्म क्षतिको मूल्यांकन कार्य सम्पन्न भइसकेको छैन।
प्रहरीको भनाइ अनुसार बाम्का बजारमा रहेको फेन्सी पसल, मेडिकल स्टोर, इलेक्ट्रोनिक्स पसल, पुस्तक पसल तथा होटलहरू समेत आगलागीबाट जलेर पूर्णरूपमा नष्ट भएका छन्। त्यस्तै, भगतराज गिरीको सु प प्र ०१–००१प ४६८१ नम्बरको मोटरसाइकलसमेत आगलागीमा जलेर नष्ट भएको पुष्टि भएको छ।
स्थानीय व्यापारीहरू, पीडित परिवार तथा सम्पूर्ण बजार क्षेत्र अहिले अत्यन्त पीडित र तनावग्रस्त अवस्थामा छन्। आगलागीको कारण लाखौंको लगानी गुमाएका व्यापारीहरूले राज्यबाट उचित राहत र पुनःस्थापना सहायता पाउने अपेक्षा गरेका छन।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले निरीक्षणका क्रममा पीडित व्यापारीहरूसँग भेट गर्दै सरकारले तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका कार्यक्रमहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले स्थानीय प्रशासनलाई समेत पीडितको तर्फबाट आवश्यक सबै किसिमको सहायता पुर्याउन निर्देशन दिएका छन्।
जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सक्रिय प्रयासबाट आगलागी नियन्त्रणमा लिइएको भए पनि आगोले पुर्याएको क्षति अत्यन्त ठूलो र पीडादायक रहेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन।
सामाग्री श्रोत :
बाजुराको बाम्का बजारमा भीषण आगलागी :आठ करोड ७७ लाख बढीको क्षति