काठमाडौँ । राइड-हेलिङ सेवा प्रदायक इनड्राइभले नेपालमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ । कम्पनीले स्थानीय बजारमा सेवा विस्तारका साथै चालक साझेदारहरूलाई प्रत्यक्ष रूपमा सहयोग पुर्याउने उद्देश्यसहित ललितपुरस्थित कुपन्डोलमा कार्यालय सञ्चालनमा ल्याएको हो ।

नयाँ कार्यालय चालक समुदायलाई सशक्त बनाउने र सेवा गुणस्तर सुधार गर्ने केन्द्रको रूपमा कार्यालय सञ्चालन हुने इनड्राइभले जनाएको छ । कार्यालयमार्फत व्यक्तिगत रूपमा चालक सपोर्ट र तालिम, सुरक्षा-केन्द्रित कार्यक्रम, स्थानीय बजारअनुकूल सेवा सञ्चालन र समुदायसँगको सम्बन्ध विस्तारका पहल गरिने बताइएको छ ।
“हामी हाम्रा चालक साझेदारहरू र काठमाडौँ उपत्यकामा यहाँका समुदायका लागि हाम्रा ढोका खोल्न पाउँदा उत्साहित छौं,” इनड्राइभमा एपीएसीका क्षेत्रीय निर्देशक मार्क टोलीले भने, “यो कार्यालय केवल कार्यस्थान मात्र नभई चालकहरूलाई सफल बनाउन र इनड्राइभसँग जोडिन सघाउने सपोर्ट सेन्टर पनि हो ।”
नयाँ कार्यालयमा चालकहरूलाई व्यावसायिक दक्षता बढाउन र उच्चस्तरीय सेवा प्रदान गर्न नियमित प्रशिक्षण सत्र सञ्चालन गरिनेछ । समस्या परेका अवस्थामा चालकहरूले कार्यालयमै आएर सहयोग लिन सक्ने व्यवस्था गरिएको छ ।

इनड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले नेपाललाई कम्पनीका लागि प्रमुख बजारका रूपमा उल्लेख गर्दै भनिन्, “स्थानीय चालकहरूसँग बलियो साझेदारी निर्माण गर्नु हाम्रो प्राथमिकता हो । ललितपुरमा कार्यालय सुरु गर्नु हाम्रो गहिरो प्रतिबद्धताको संकेत हो ।”
कार्यालय उद्घाटनको अवसरमा बोल्दै पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले यातायात क्षेत्रमा कुनै पनि प्रकारको सिन्डिकेट हुनु नहुने धारणा व्यक्त गरे ।
“अहिलेको युग प्रतिस्पर्धाको हो । नयाँ प्रविधि प्रयोग गर्दै राइड शेयरिङ सेवाहरू सहज रूपमा प्रयोग गर्न पाउनु सबैको हक हो । सिन्डिकेट हुनुहुँदैन । सार्वजनिक यातायात र राइड शेयरिङ दुवैलाई व्यवस्थित गर्न संघीय सरकारले छिटोभन्दा छिटो आवश्यक कानुन ल्याउनुपर्छ । राइड शेयरिङलाई रोक्ने होइन, यसले सहयोग गरिरहेको छ- त्यसैले यसलाई प्रोत्साहन गर्नुपर्छ,” ज्वालाले भने ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ १५:१३
सामाग्री श्रोत :
टेक पाना