२०८२ जेष्ठ २५ शनिबार
२०८२ जेष्ठ २५ शनिबार

आमिर खानका आगामी फिल्म नेटफ्लिक्स-युट्युब जस्ता ओटीटीमा नआउने

काठमाडौँ । बलिउड अभिनेता आमिर खानले आफ्ना आगामी फिल्म कुनै पनि ओटीटी प्लेटफर्ममा नआउने बताएका छन् । केही दिनअघि प्रसारित एक पडकास्टमा उनले आफ्नो ‘सितारे जमीन पर’ चलचित्र केवल सिनेमाघरहरूमा मात्र लाग्ने, तर अन्यत्र कतै पनि नआउने स्पष्ट पारेका हुन् ।

“अब युट्युबको कुरा उठ्छ, त्यो त अफवाह मात्रै हो । म आफैँले मिडिया र विभिन्न थ्योरीहरूमा पढेको छु कि फिल्म कतै अरू प्लेटफर्ममा रिलिज हुने भनेर, तर त्यो सबै गलत हो,” खानले भनेका छन् ।

आफूलाई फिल्म रिलिज गर्ने विषयमा विभिन्न प्लेटफर्मबाट प्रस्ताव आएको उनले सुनाए । तर पे-पर-भ्यू, ओटीटी आदिबाट आएका सबै प्रस्तावहरूलाई आफूले साइडमा राखेको खानको भनाइ थियो । “किनकि अहिले म सिर्फ थिएटर रिलिजमा ध्यान दिइरहेको छु,” उनले भने ।

के साँच्चिकै ओटीटी प्लेटफर्मप्रति नकारात्मक छन् आमिर खान ?

फिल्म उद्योगले पछिल्ला १५-२० वर्षमा लिएका निर्णयहरू गलत भएको र त्यसले यस उद्योगको बिजिनेसलाई क्रमशः कमजोर बनाइरहेको खानको बुझाई छ । उनले भनेका छन्, “हामी आफैँ दोषी छौँ । हामीले सोचविचार गरेर यस्ता अभ्यासहरू अपनायौँ, जसले गर्दा बिजनेस घट्दै गयो । अहिले त फिल्म रिलिज भएको ४-६ हप्तामै ओटीटीमा आइदिन्छ, जसले थिएटर (फिल्म हल) को महत्त्व नै घटाएको छ ।”

“यो यस्तो कुरा हो कि म तपाईँलाई भन्छु, ‘यो मग १० रुपैयाँमा लिनुहोस्’ । तर तपाईँलाई थाहा छ कि ८ हप्तापछि त्यही मग तपाईँको घरमा निःशुल्क आइपुग्नेछ भने तपाईँ किन पैसा तिर्नुहुन्छ ?,” खानले ओटीटी प्लेटफर्मले फिल्म उद्योगमा पारेको प्रभावबारे स्पष्ट पार्दै भनेका छन् ।

भन्छन्ः म ओटीटी विरुद्ध छैन

यद्यपि आफू ओटीटी प्लेटफर्मको विरुद्ध नरहेको खानले बताए । “यस्ता प्लेटफर्मले राम्रो काम गरिरहेका छन् । म आफैँ पनि दर्शकको रूपमा ओटीटीबाट खुसी छु,” उनले भनेका छन्, “तर म फिल्म बनाउँदा थिएटरका लागि बनाउँछु । थिएटरमा आएको फिल्म केही हप्तामै ओटीटीमा आउँछ भन्ने सोच मलाई ठीक लाग्दैन ।”

त्यसैले, ‘सितारे जमीन पर’ यही २० जुनमा केवल सिनेमाघरहरूमा रिलिज हुनेछ । कतिपयले अबको १०/१५ वर्षमा थिएटरको भविष्य सकिने पूर्वानुमान समेत गरिरहेका छन् । तर आफूले भने सिनेमा र थिएटरमा विश्वास राख्ने खानले बताए । “हुन सक्छ म बेवकुफ छु, तर मेरो विश्वास त्यहीँ छ । त्यसैले मैले अरू प्लेटफर्महरूलाई सम्मानपूर्वक हुन्न भनिसकेको छु ।”

खानका अनुसार ‘सितारे जमीन पर’ रुवाउने नभई हँसाउने फिल्म हो । तर त्यो हाँसो सँगसँगै एउटा महत्त्वपूर्ण सन्देश पनि दिइने उनले बताए । “यो फिल्मले तपाईँलाई खुसी महसुस गराउनेछ- तपाईँको मन प्रफुल्ल पार्नेछ,” उनले भने ।

ओटीटीकै कारण ‘लापता लेडिज’ फिल्मले राम्रो व्यवसाय गर्न नसकेको खानको बुझाई छ । “त्यो फिल्ममा न त सलमान, न शाहरुख, न आइटम गीत, न एक्सन- केही थिएन । तसर्थ, दर्शकहरू त्यो फिल्म हेर्न थिएटरमा ‘वर्ड-अफ-माउथ’ कै कारण मात्र जाने थिए,” खानले अगाडि भने ।

“तर हामीलाई पहिले नै थाहा थियो कि केही हप्तापछि त्यो फिल्म नेटफ्लिक्समा आउने वाला छ । त्यसैले दर्शकहरूले सोचे- ‘केही दिनमा घरमै हेर्न पाइनेछ ।’ परिणामस्वरूप लापता लेडिजले थिएटरमा १८–२० करोड मात्रै कमायो । यदि ओटीटीमा नआएको भए १०० करोडभन्दा बढी कमाउन सक्थ्यो ।”

के यो आमिर खानको अन्तिम फिल्म हो ?

पडकास्टका क्रममा ६० वर्षका खानले एक अर्को फिल्म बनाउने आफ्नो धोको रहेको सुनाए । “मेरो एक सपना छ – म महाभारत बनाउन चाहन्छु । ‘सितारे जमीन पर’ को रिलिजपछि म त्यसमै लाग्नेछु । मलाई लाग्छ, त्यो प्रोजेक्ट सकेपछि अब केही बाँकी छैन भन्ने महसुस हुन सक्छ । महाभारत यति ग्रान्ड प्रोजेक्ट हो, जसमा स्केल, इमोसन, लेयर, क्यारेक्टर, सबै कुरा छ,” उनले भनेका छन् ।

“हो, म चाहन्छु म मेरो जीवनको अन्तिम दिनसम्म पनि काम गरिरहुँ – ‘आई डाई विद माई शुज अन’ । तर यदि केही अन्तिम काम गर्नु पर्‍यो भने, त्यो महाभारत हुनेछ ।”

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ १३:५६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट