काठमाडौं- ‘मेरी ९२ वर्षीया हजुरआमाप्रति गर्व छ : हजुरआमाले स्कुलको पहिलो दिन प्रिन्सिपललाई बिन्ती गर्दै भन्नुभएको थियो , ‘यो नानीको आमा पनि छैन, बुवा पनि छैन ! जतिसम्म पढाइदिन सक्नुहुन्छ पढाइदिनु। आज त्यही नानी चिकित्सा नामदर्ता परीक्षा (लाइसेन्स) पास गरी रजिस्टर्ड डक्टर भएकी छिन्! जहिलेपनि पढ्नुपर्छ भन्ने मेरी हजुरआमा हजुरको आशिर्वाद तथा हरेक कदम कदममा सहयोग गर्नुहुने सम्पुर्ण मेरो अभिभावकहरुले गर्दा आज मेरो एउटा सपना पूरा भएको छ सबैजनालाइ धेरै धेरै धन्यवाद। मेरो सुख दुखलाई आफ्नै ठान्ने मेरा मित्र, मेरा गुरूवर्ग अभिभावक, जसले मलाई म बन्न सिकाउनु भयो। मलाई म बनाईदिनु भएकोमा हार्दिक नमन,’ डा लक्ष्मी रानाभाटले केही दिनअघि फेसबुकमा लेखिन्। जहाँ उनले लाइसेन्स परीक्षा पास भएको स्क्रिनसट समेत राखेकी थिइन्।
डा रानाटभाटको लगन र मेहनत, हजुरआमाको आँट र ‘आमा स्मृति प्रतिष्ठान’को सहयोगले उनले यो सफलता हासिल गरेकी छिन्। जसको सर्वत्र चर्चा भयो।
चर्चापछि उनले आफूलाई यहाँसम्म पुर्याउने सहयोगीहरु, आफ्नो प्रेरणा र जीवनबारे थप उल्लेख गरेकी छिन्। उनी लेख्छिन्, ‘कोही पनि मान्छे आमा हुनलाई जन्म नै दिनुपर्छ भन्ने छैन, एउटा बुवा पनि आमा हुन सक्छ। यस्तै करुणाले भरिएको मन भएको व्यक्ति हुनुहुन्छ, आदरणीय बुवा ‘बसन्त राज दवाडी’। उनले यहाँ उल्लेख गरेका दवाडी उनका आफ्नै पिता होइनन्, जसले आमाबुवाको भूमिका निर्वाह गरेर लक्ष्मीलाई डा लक्ष्मी बनाए।
आफूलाई जन्माउने बुवाआमाका विषयमा उनले उल्लेख गरेकी छिन्, ‘हुन त,न मलाई मेरो बुवाको अनुहार याद छ, न त आमाको नै तर मलाई कहिले पनि उहाँहरुको कमीको महसुस भएन। हरेक समय परिस्थितिमा जब-जब मलाइ मेरो बुवाआमाको आवश्यकता महशुस हुन्थ्यो, तब-तब सोही समयमा कोही न कोहीले त्यो जिम्मेवारी पूरा गरिदिनु भएको छ।’
डा लक्ष्मीका अनुसार दवाडीले आफ्नो आमाको सपना पछ्याउदै उनकी आमा यस संसारमा नरहेपछि सम्झनामा खोलेका रहेछन्, ‘आमा स्मृति प्रतिष्ठान’ । जसले धेरै बालबालिकाको अभिभावकत्व पूरा गर्दै आएको छ। ‘म गर्व गर्दछु छु कि म पनि यसै आमा स्मृति प्रतिष्ठानको छोरी भएर चिनिन पाएकी छु , आफ्नो सपनालाई पूरा गर्दै आज हजुरहरुको सामु डाक्टर लक्ष्मी बनेर आएकी छु,’ लक्ष्मी भन्छिन्।
उनले यस यात्रामा सघाउने संस्थाका दाताहरु माथियास मारिया डोल्ड्, एनेट कोबर, डा. भेलेस्का फिसर, डा. क्रिस्टा लगायत सम्पूर्ण अभिभावकलाई धन्यवाद दिएकी छिन्। साथै सम्पूर्ण गुरु र आमाबुवाहरुप्रति कृतज्ञता प्रकट गरेकी छिन्।
उनले सामाजिक सञ्जालमार्फत् विशेष अनुरोध गरेकी छिन्, ‘मलाई यहाहरु सबै जनाहरुसँग अनुरोध छ कि यदि तपाइको आफ्नो वरिपरि कोही बुवा आमा नभएको बच्चा देख्नुभयो भने केही समयको लागि भए तापनि बुवाआमा भएको महसुस गराई उनको जीवनमा आशाको दियो बाल्ने प्रयास गरिदिनु होला।’
उनले बुवाआमाको भूमिका निर्वाह गर्ने प्रतिष्ठानका संस्थापक बसन्तप्रति आभार प्रकट गर्दै अध्यनको यात्रा नटुंगिएको उल्लेख गरेकी छिन्। ‘यो त केवल सुरुवात हो। यो यात्रामा मलाई साथ दिनुहुने, माया र आशीर्वाद दिनुहुने सबैलाई कोटी-कोटी धन्यवाद। मेरो जीवन तपाईंहरूको दिएको प्रेमको ऋणले भरिएको छ,’ उनले भनेकी छिन्।
सामाग्री श्रोत :
swasthyakhabar

