एआइको सहयोगमा बनाइएको तस्बिर
काठमाडौं- सरकारले राष्ट्रिय न्यूरो साइन्सेस केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा मस्तिष्क, मेरुदण्ड र स्नायु रोगका बिरामी बढ्दो क्रममा रहेका कारण उनीहरुको उपचारका लागि छुट्टै विशिष्टकृत अस्पताल आवश्यक रहेको भन्दै यसका लागि आवश्यक पहल लिएका थिए।
मन्त्री पौडेलको पहलमा सरकारले राष्ट्रिय न्यूरो साइन्सेस केन्द्र स्थापनाका लागि मुर्त रुप दिन यस वर्षको बजेट मार्फत आवश्यक प्रक्रिया अगाडि बढाएको हो।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा राष्ट्रिय न्यूरो साइन्सेस केन्द्र स्थापनाको विषय परेको छ। बजेटमा उक्त केन्द्र स्थापनाका लागि पहिलो चरणमा डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) र इन्भायरमेन्टल इम्प्याक्ट एसेस्मेन्ट (ईआए)का लागि ९० लाख रुपैयाँ प्राप्त गरेको छ।
स्वास्थ्य मन्त्री पौडेलले केन्द्र स्थापनाका लागि गत कात्तिकमा सात सदस्यीय सम्भाव्यता अध्ययन समिति गठन गरेका थिए। त्रिवि शिक्षण अस्पतालका सह प्राध्यापक डा गोपाल सेढाईंको संयोजकत्वमा राष्ट्रिय न्यूरो उपचार केन्द्र स्थापना सम्भाव्यता अध्ययन समिति गठन भएको थियो।
समितिमा वीर अस्पतालका डा विनोद राजभण्डारी, चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका डाक्टर राजिव ओझा, नेप्लिज एसोसिएसन अफ न्यूरोलोजिष्टका प्रतिनिधि, साइकियाट्रिक्स एसोसिएसन अफ नेपालका प्रतिनिधि र जाकोल्स स्कुल अफ मेडिसिन एन्ड बायोमेडिकल साइन्स अमेरिकाका सहप्राध्यापक डा अमित कणेल सदस्य रहेका छन्।
यसैगरी समितिको सदस्य सचिवमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डा पुष्पराज पौडेल सदस्य सचिव रहेका छन्।
नेपालमा सरकारी सेवा तर्फ हालसम्म मस्तिष्क, मेरुदण्ड र स्नायु रोगको उपचार गर्ने छुट्टै विशिष्टकृत अस्पताल छैन। निजी स्तरबाट सञ्चालनमा रहेका अस्पतालहरुमा निकै महँगो भएकाले सरकारी स्तरमा एक सुविधासम्पन्न राष्ट्रिय न्यूरो उपचार केन्द्र स्थापना गरी सञ्चालन गर्न अत्यावश्यक रहेकाले उक्त काम अगाडि बढाइएको मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

