काठमाडौँ । एप्पलले एयरपड्समा नयाँ फिचर ल्याउने तयारी गरेको छ । आगामी हप्तादेखि सुरु हुने एप्पलको डेभलपर कन्फेरेन्स (डब्लूडब्लूडीसी) मा कम्पनीले एयरपड्समा आउने फिचरबारे जानकारी दिनेछ ।

म्याकर्युमर्सका अनुसार यस वर्ष कम्पनीले एयरपड्समा ‘नयाँ हेड जेस्चर’ फिचर सार्वजनिक गर्नेछ । यस फिचर अन्तर्गत एयरपड्स लगाएको प्रयोगकर्ताले टाउको हल्लाएकै भरमा फोन उठ्नेछ । साथै टाउकोको चालबाटै यस फिचरले कलको भोल्युम बढाउने वा घटाउने काम गर्नेछ ।
एयरपड्समा आउन लागेको अर्को फिचर हो ‘अटो पज फर स्लिप’ । यस फिचरले एप्पल वाचको स्लिप डेटा प्रयोग गरी प्रयोगकर्ता निदाएको थाहा पाउँछ । र, एयरपड्समा बजिरहेको म्युजिक वा अन्य सामग्री स्वतः पज (रोकिने) गर्छ ।
त्यस्तै एयरपड्समा आउन लागेको अर्को फिचर ‘क्यामेरा टिगर’ हो । जस्तो वायर्ड इयरपोड्स (इयरफोन) मा बटन थिचेपछि आईफोनले फोटो खिच्थ्यो, त्यस्तै यस फिचरले पनि छोएको थाहा पाउनासाथ फोटो खिच्नेछ ।

यस वर्षको डेभलपर कन्फेरेन्समा एप्पलले एयरपड्समा ‘माइक्रोफोन इन्ह्यान्समेन्ट’ फिचर ल्याउने बताइएको छ । आईफोन १६ मा एप्पलले अडियो मिक्स्ड गर्ने ‘स्टुडिओ क्वालिटी’ फिचर अब एयरपड्समा आउनेछ । यसले गर्दा प्रयोगकर्ताले एयरपड्सलाई स्तरीय माइक्रोफोनका रूपमा प्रयोग गर्न सक्ने बताइएको छ ।
एयरपड्सको नयाँ अपडेटमा ‘लाइभ ट्रान्सलेट’ फिचर पनि उपलब्ध हुनेछ । यो यस्तो फिचर हो, जसले रियल टाइममा एयरपड्समा आएको आवाज पहिचान गरी त्यसलाई कानसम्म पुर्याउने बेला अनुवादित भाषामा आवाज उपलब्ध गराउनेछ ।
यी सबै फिचर अहिले बजारमा उपलब्ध एयरपड्समा उपलब्ध हुने बताइएको छ । सोमबारको वर्ल्डवाइड डेभलपर कन्फेरेन्स (डब्लूडब्लूडीसी) मा कम्पनीले आईओएस २६ र म्याक ओएस २६ घोषणा गर्ने बताइएको छ । त्यही कार्यक्रममा एयरपड्समा आउने अन्य फिचरको बारेमा कम्पनीले जानकारी दिनेछ । कार्यक्रम ९ जुन बिहान १० बजे प्यासिफिक टाइम (नेपाली समय अनुसार राति १०ः४५ बजे) एप्पलको आधिकारिक वेबसाइटबाट हेर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ ११:१४
सामाग्री श्रोत :
टेक पाना