काठमाडौँ । जापानका वैज्ञानिकहरूले समुद्री प्रदूषण र समुद्री जीवजन्तुमाथि पर्ने असर न्यूनीकरण गर्न सक्ने नयाँ प्रविधिको विकास गरेका छन् । राइकेन सेन्टर फर इमर्जेन्ट म्याटर साइन्स र टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ताले तयार पारेको यो प्लास्टिक समुद्री पानीमा एक घण्टाभित्रै घुल्ने दाबी गरिएको छ ।

टोकियो नजिकैको वाको सहरमा रहेको प्रयोगशालामा परीक्षणका क्रममा वैज्ञानिकहरूले प्लास्टिकको सानो टुक्रा नुनपानीमा राखेर झोलाइदिँदा करिब एक घण्टामा पूरै घुलिएको देखाएका हुन् ।
अनुसन्धान टोलीका प्रमुख ताकुजो आइडाका अनुसार यो प्लास्टिक पेट्रोलियमबाट बनेको प्लास्टिकजत्तिकै बलियो भए पनि नुनमा परेपछि घुलिन्छ र हानिकारक अवशेष छोड्दैन । पानीमा घुलेपछिका अंशहरू प्राकृतिक जीवाणुले सजिलै पचाउन सक्ने भएकाले यसले सूक्ष्म प्लास्टिक (माइक्रोप्लास्टिक) बन्ने सम्भावना हटाउँछ ।
हालसम्म यसको व्यावसायिक उत्पादन सुरु नभए पनि प्याकेजिङ लगायतका क्षेत्रमा चासो बढिरहेको अनुसन्धान टोलीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रम (यूएनईपी) का अनुसार २०४० सम्ममा प्लास्टिक प्रदूषण तीन गुणा बढ्ने र वार्षिक २३ देखि ३७ मिलियन मेट्रिक टन प्लास्टिक फोहोर समुद्रमा जाने अनुमान गरिएको छ ।
“हामीले भविष्यका पुस्तालाई राम्रो वातावरण सुम्पनुपर्छ भन्ने सोचका साथ यो प्रविधिको विकास गरेका हौं,” आइडाले भने ।
वैज्ञानिकहरूका अनुसार माटोमा पनि नुनको मात्रा हुने भएकाले झन्डै पाँच सेन्टिमिटरको प्लास्टिक टुक्रा जमिनमा राख्दा करिब २०० घण्टापछि विघटन हुन्छ । साथै, यो प्लास्टिक विषादीरहित, अघुलनशील र कार्बन डाइअक्साइड नउत्सर्जन गर्ने भएकाले वातावरणमैत्री हुने दाबी गरिएको छ ।
-रोयटर्सको सहयोगमा
पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ ७:१९
सामाग्री श्रोत :
टेक पाना