काठमाडौँ । बेलायतले युक्रेनलाई २०२६ अप्रिलको अन्त्यसम्म एक लाख ड्रोन उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको छ । यो अघिल्लो वर्षको तुलनामा दश गुणाले बढि हो । रोयटर्समा प्रकाशित एक समाचारका अनुसार, ड्रोनले युद्धको स्वरूप नै परिवर्तन गरेको भन्दै बेलायतले युक्रेनलाई ड्रोन उपलब्ध गराउने भएको हो ।

यसै साता सोमबार बेलायती सरकारले तयार पारिएको ‘Strategic Defence Review’ (रणनीतिक रक्षा समीक्षा) अनुमोदन गरेको छ, जसमा सम्भावित रुसी आक्रमण लगायत नयाँ खालका खतराहरूको सामना गर्न प्रविधि आधारित, घातक र बलियो सेनाको आवश्यकता औँल्याइएको छ ।
बेलायतले युक्रेनलाई सशक्त रूपमा समर्थन गर्दै आएको पश्चिमी राष्ट्रहरूमध्ये एक हो । तीन वर्षभन्दा बढी समयदेखि युक्रेनले रुसी आक्रमणको सामना गरिरहेको छ, जहाँ ड्रोनले युद्धको स्वरूप नै परिवर्तन गरेको छ । यही अनुभवबाट पाठ सिक्दै बेलयातले ड्रोनमार्फत आफ्नो सैन्य सहयोग विस्तार गर्न लागेको हो ।
रोयटर्समा उल्लेख भए अनुसार, बेलायतले ३५ करोड पाउन्ड (६५ अर्ब रुपैयाँ भन्दा बढी) बराबरको ड्रोन युक्रेनलाई प्रदान गर्नेछ ।

बेलायतले सन् २०२५ जनवरीदेखि हालसम्म युक्रेनलाई १ लाख ४० हजार तोप गोला बारुद पठाइसकेको छ । साथै, यसै वर्ष युक्रेनी सैनिकहरूको तालिमका लागि थप २४ करोड ७० लाख पाउन्ड खर्च गर्ने घोषणा पनि गरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ ८:५६
सामाग्री श्रोत :
टेक पाना