काठमाडौँ । चीनले आफ्नो दुर्लभ खनिज र चुम्बकीय कच्चा पदार्थको निर्यातमा लगाएको प्रतिबन्धका कारण विश्वभरको विद्युतीय सवारी उत्पादन प्रभावित हुने संकेत देखिएको छ । हालै जर्मनका सवारी निर्माता कम्पनीहरूले चीनले आफ्नो खनिज निर्यातमा प्रतिबन्ध लगाउदा उनीहरूको कार उत्पादन नै बन्द हुने जोखिममा पुगेको खुलासा गरेका छन् ।

गत अप्रिलमा चीनले दुर्लभ खनिज मिश्रण, अलोय (alloy) र म्याग्नेटहरूको निर्यातमा प्रतिबन्ध लगाएपछि अटोमोबाइल, एरोस्पेस, सेमिकन्डक्टर कम्पनी तथा सैन्य क्षेत्रमा असर परेको छ । अमेरिकासहित भारत, जापान र युरोपेली देशहरूका कम्पनीहरूले चीनको निर्णयले आपूर्ति श्रृंखला बिग्रिएको भन्दै तत्काल समाधानको माग गरिरहेको रोयटर्समा प्रकाशित एक समाचारमा उल्लेख छ ।
चीनको यो कदमलाई अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धमा चीनले प्रयोग गरिरहेको कूटनीतिक हतियारको रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने आयातमा उच्च दरको कर लगाएका छन् भने चीनले पनि जवाफमा विभिन्न उपायहरू अपनाइरहेको छ ।
रोयटर्सका अनुसार जापान, भारत र युरोपका कूटनीतिज्ञ तथा उद्योगीहरूले चीनको वाणिज्य मन्त्रालयसँग आपूर्ति सहज गराउन आपतकालीन बैठकको आग्रह गरेका छन् । जापानको प्रतिनिधिमण्डल यसै साता बेइजिङ भ्रमण गर्ने तय भएको छ भने भारतका अटो कम्पनीहरू पनि छिट्टै चीन जाने तयारीमा छन् ।

भारतीय अटो निर्माता बजाज अटोले यदि चाँडै आपूर्ति सहज नभए आफ्नो इलेक्ट्रिक सवारीसाधन उत्पादन गम्भीर रूपमा प्रभावित हुने चेतावनी दिएको छ ।
उता, अमेरिकाको जेनरल मोटर्स, टोयोटा, फक्सवागन, हुन्डाईलगायतका अटो कम्पनीहरूलाई प्रतिनिधित्व गर्ने संगठन अलायन्स फर अटोभोटिभ इनोभेन ‘Alliance for Automotive Innovation’ ले ट्रम्प प्रशासनलाई पत्रचार गर्दै दुर्लभ खनिज र म्याग्नेटहरूको सुनिश्चित आपूर्ति बिना सवारीसाधनका महत्वपूर्ण उपकरणहरूको उत्पादन सम्भव नहुने भन्दै आवश्यक कदम चाल्न आग्रह गरेको छ ।
पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ ९:४८
सामाग्री श्रोत :
टेक पाना