२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

एमालेले सामाजिक सञ्जालमा किन चलायो ‘झोले’ ट्रेन्ड ? यसो भन्छन् महासचिव पोखरेल

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अगुवाइमा एमालेले ‘म झोले हो’ नारासहित सामाजिक सञ्जालमा नयाँ ट्रेन्ड जारी राखेको छ । सोमबारदेखि सुरु भएको यो ट्रेन्ड अहिले विशेषगरी फेसबुक र एक्समा चर्चामा छ । ‘झोले’ र ‘म झोले हो’ जस्ता शब्दहरू यी प्लेटफर्मका ‘पपुलर नाउ’ र ‘ट्रेन्डिङ’ मा देखिएका छन् ।

एमालेका नेता-कार्यकर्ता तथा समर्थकहरूले आफनो तस्बिरसहित ‘म झोले हो’ लेखिएको पोस्टर शेयर गरेका छन् । प्रधानमन्त्री ओली स्वयंले सामाजिक सञ्जालमा झोले भनेर खेदिएकै भरमा ‘सत्य अँगाल्न नछोडौँ’ भन्दै यो अभियान सुरु गरेका थिए ।

पछिल्लो समय आलोचकहरूले एमाले नेता-कार्यकर्तालाई व्यंग्य गर्दै ‘झोले’ भन्ने गरेको सन्दर्भमा यो अभियान पार्टीको रक्षात्मक र जवाफी रणनीतिको रूपमा आएको देखिन्छ । आलोचकहरूले ‘झोले’ शब्दलाई विवेकहीन, नेतापूजा गर्ने कार्यकर्ताको रूपमा अर्थ्याउँदै आलोचना गरिरहेका छन् । केहीले शब्दकोष र च्याटीजीपीटीले दिएको जवाफ भन्दै शेयर गरेका छन् ।

तर, एमाले कार्यकर्ताले यसै शब्दलाई गर्वको पहिचानका रूपमा अघि सार्दै प्रतिवाद गरेका छन् । कार्यकर्तालाई एकजुट पार्न यो साइबर अभियान उपयोगी हुने उनीहरूको विश्वास छ ।

यसैक्रममा एमाले महासचिव शंकर पोखरेलले बुधबार फेसबुकमा एक पोस्ट राख्दै एमाले नेता र कार्यकर्ताको झोलामा केके छन् भनेर एक ‘सूची’ नै प्रस्तुत गरेका छन् । उनले लेखेका छन्-

“नेकपा (एमाले)को नेता र कार्यकर्ताको झोलामा के छ ? भन्नेहरूका लागि-

१ मार्क्सवादी दर्शनः द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद

२ मार्क्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त

३ जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको नवीन मान्यता

४ असंलग्नता र पञ्चशिलको सिद्धान्तमा आधारित नेपालको हित केन्द्रित सन्तुलित परराष्ट्र नीति

५ जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रीकरणको नयाँ मान्यता

६ जनतासँगको घनिष्ठ सम्बन्धमा आधारित जीवनशैली र आचरणको गौरवपूर्ण परम्परा

७ प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र

आउनुहोस् ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि नेकपा(एमाले)को गौरवपूर्ण झोलालाई गौरवका साथ बोकौं । नेकपा (एमाले)का विरुद्धमा प्रतिकृयावादी, प्रतिगामी, अराजकतावादी र कम्युनिष्ट विरोधीहरुले सिर्जना गरेका सबै प्रकारका भ्रमहरुबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा जुटौं ।

पोखरेलले पार्टीको राजनीतिक धारणा, कार्यशैली र सैद्धान्तिक सम्पदालाई ‘झोला’सँग जोड्दै अभियानको अर्थ र सन्देश दिन खोजेका छन् । पछिल्लो समय एमाले र अध्यक्ष ओलीविरुद्ध सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेका बेला ओलीकै अगुवाइमा ‘म झोले हो’ अभियान सुरु गरिएको हो । यसअघि एमालेले सामाजिक सञ्जालमा प्रभाव बढाउन र आलोचकलाई जवाफ दिन ‘साइबर सेना’ समेत गठन गरेको थियो ।

पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ १६:१५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट