जनकपुर । लामो समयपछि बुधबार बसेको मधेश प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको छ। आजदेखि सुरु हुने भनिएको पाँचौ अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षले उभिएर विरोध जनाएपछि भोलीसम्मका लागि स्थगित भएको छ।

जसपा नेपालका सांसद रामअशिस यादवले १ महिना २४ दिन अघि सभामुखले नै छानबिन समिति बनाउने निर्णय गरेको स्मरण गराउँदै अहिलेसम्म सभामुखको निर्देशन कार्यान्वयन नभएको भन्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए। उनले अहिलेको जनमत नेतृत्वको सरकारले मधेश प्रदेशमा आर्थिक अनुसाशनको खुलेआम उलंघन गरेको आरोप लगाएका छन्।
संघीय छानबीन समिति गठन गर्ने निर्णय १ महिना बढी भइसक्दा पनि गठन नभएकोले सांसद यादवले सरकार सदनप्रती उत्तरदायी नरहेको आरोप लगाएका छन्। उनले संसदले पनि मधेश प्रदेश सरकारले गरेको भ्रष्टाचारलाई समर्थन गरेको आरोप लगाउँदै संसदीय छानबीन समिति गठन नगरेसम्म सदन अवरुद्ध गर्ने बताए ।
त्यसपछि सभामुख रामचन्द्र मण्डलले भोली दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जनाएका थिए। आजको बैठकमा प्रदेश प्रमुख सुमिन्त्रा सुवेदी भण्डारीले पाँचौ अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाउने कार्य सूची रहेको थियो।

त्यस्तै, प्रदेश प्रमुखको कार्यालयबाट विधेयक प्रमाणीकरण पत्र र मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र पढेर सुनाउने कार्य सूचीमा उल्लेख रहेको थियो। साथै दलका नेता/प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिने पनि कार्य सूचीमा रहेको थियो।
सामाग्री श्रोत :