काठमाडौँ । के तपाईँ आईफोनको ब्याट्री छिटो सकिने समस्याबाट हैरान हुनुहुन्छ ? यस्तो भोगाई तपाईँको मात्र होइन । समय बित्दै जाँदा हरेक फोनको ब्याट्रीले चार्ज होल्ड गर्ने क्षमता गुमाउँने गर्छ ।

तर, यसको मतलब तपाईँले जहिले पनि चार्जरमा जोडिएर बस्नुपर्छ भन्ने पनि होइन । केही वर्ष पुरानो आईफोनमा सेटिङमा केही साधारण परिवर्तन गरेर पनि तपाईँ ब्याट्रीको आयु उल्लेखनीय रूपमा बढाउन सक्नु हुन्छ । धेरैजसो अवस्थामा फोनको ब्याट्री छिटो सकिनुमा केही आईओएस फिचरहरू जिम्मेवार हुन्छन् । जसले अदृश्य रूपमा ब्याट्री खपत गरिरहेका हुन्छन् ।
आज हामी तपाईँलाई यस्ता ३ महत्त्वपूर्ण सेटिङको बारेमा बताउँदैछौँ, जसले तपाईँको फोनको आईफोनको ब्याट्रीलाई तपाईँले सोचेभन्दा लामो समयसम्म टिकाउन मद्दत गर्नेछन् ।
१. लक स्क्रिनमा रहेका विजेट बन्द गर्ने

तपाईँको आईफोनको लक स्क्रिनमा रहेका सबै विजेटहरूले एपहरूलाई ब्याकग्राउन्डमा स्वचालित रूपमा चलाउन बाध्य पारिरहेका हुन्छन् । यी विजेटहरूले खेलकुदको स्कोर वा मौसमसम्बन्धी जानकारी जस्ता डेटा निरन्तर अपडेट गर्नका लागि डेटा फेच गरिरहेका हुन्छन् । विजेटका कारण एपहरू ब्याकग्राउन्डमा लगातार चलिरहने भएकाले तिनीहरूले ब्याट्री निरन्तर खपत गरिरहेका हुन्छन् ।
आईओएस १८ मा ब्याट्री जोगाउनका लागि लक स्क्रिन तथा होम स्क्रिनमा केही विजेटहरू प्रयोग नगर्नु नै सबैभन्दा राम्रो उपाय हो । यसको सबैभन्दा सजिलो तरिका भनेको अर्को लक स्क्रिन प्रोफाइलमा स्विच गर्नु हो ।
त्यसका लागि आफ्नो आईफोनको लक स्क्रिनमा औँलाले दबाएर होल्ड गर्नुहोस् र त्यसपछि विजेट नभएको अर्को लक स्क्रिन छान्नुहोस् । यदि तपाईँले विद्यमान लक स्क्रिनबाट मात्र विजेटहरू हटाउन चाहनुहुन्छ भने लक स्क्रिनमा औँला दबाएर होल्ड गर्नुहोस् ।
त्यसपछि ‘Customize’ मा ट्याप गरेर ‘Lock Screen’ विकल्प छान्नुहोस् । यति गरिसकेपछि विजेट बक्समा ट्याप गर्नुहोस् र एकएक गरी विजेट हटाउनका लागि “—” बटन थिच्नुहोस् । यदि तपाईँको ब्याट्री कम छ भने लक स्क्रिन विजेट नभएको वालपेपरमा स्विच गर्नु उत्तम हुन्छ ।
२. यूआईको मोसन कम गर्ने
आईफोनको युजर इन्टरफेस (यूआई) मा केही रमाइला र आकर्षक एनिमेसनहरू हुन्छन् । एप खोल्ने र बन्द गर्ने फ्लुइड मोसन र एप्पल इन्टेलिजेन्सको साथमा सिरी एक्टिभ गर्दा देखा पर्ने रङ्गको चमक त्यसका केही उदाहरणहरू हुन् । यी भिजुअल ट्रिकहरूले तपाईँको हातमा रहेको डिभाइसलाई जीवन्त बनाउन मद्दत गर्छन् । तर, यिनीहरूले तपाईँको फोनको ब्याट्रीको आयु पनि घटाउन सक्छन् ।
यदि तपाईँ आईओएसमा न्यूनतम एनिमेसन मात्रै चाहनुहुन्छ भने तपाईँ ‘Reduce Motion’ सेटिङ इनेबल गर्न सक्नुहुन्छ । यसका लागि Settings > Accessibility > Motion मा जानुहोस् र ‘Reduce Motion’ लाई अन गर्नुहोस् ।
पाराल्याक्स इफेक्टजस्ता भिजुअल ट्रिकहरू रमाइला किसिमका हुने भए पनि यिनीहरूले ब्याट्रीको खपत बढाउने काम गरिरहेका हुन सक्छन् ।
३. किबोर्ड भाइब्रेसन बन्द गर्ने
आईफोनको किबोर्डमा टाइप गर्दा भाइब्रेट हुने क्षमता पहिले थिएन । यो ‘ह्याप्टिक फिडब्याक’ भनिने सुविधा आईओएस १६ सँगै थपिएको हो । क्लिक-क्लाक आवाज मात्र सुन्नुको साटो ह्याप्टिक फिडब्याकले प्रत्येक किलाई भाइब्रेसन दिन्छ, जसले टाइप गर्दा अझ इमर्सिभ अनुभव प्रदान गर्छ । एप्पलका अनुसार यो फिचरले ब्याट्रीको आयुलाई पनि असर गर्न सक्छ ।
एप्पलको किबोर्डसम्बन्धी सपोर्ट पेजका अनुसार ह्याप्टिक फिडब्याकले तपाईँको आईफोनको ब्याट्रीको आयुमा असर पार्न सक्छ । किबोर्ड फिचरले कति ब्याट्री खपत गर्छ भन्नेबारे कुनै स्पष्ट विवरण दिइएको त छैन, तर यदि तपाईँ ब्याट्री जोगाउन चाहनुहुन्छ भने यो फिचरलाई निष्क्रिय राख्न सक्नु हुन्छ ।
यो डिफल्ट रूपमा इनेबल गरिएको भने हुँदैन । यदि तपाईँले यो फिचर इनेबल गर्नुभएको छ भने Settings > Sounds & Haptics > Keyboard Feedback मा जानुहोस् र किबोर्डका लागि ह्याप्टिक फिडब्याक बन्द गर्न ‘Haptic’ को टोगल अफ गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ १२:५६
सामाग्री श्रोत :
टेक पाना