२०८२ जेष्ठ २३ बिहीबार
२०८२ जेष्ठ २३ बिहीबार

टेकपाना फ्याक्टचेक: नझुक्किनुस् ! बैतडीमा नेपाल टेलिकमले बाँसको टावर बनाएको कुरा साँचो होइन

काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जालमा बाँसले बनाइएको टावरमा टेलिकमको उपकरण राखिएको एउटा तस्बिर भाइरल भइरहेको छ । सामाजिक सञ्जाल फेसबुकमा प्रयोगकर्ताहरूले उक्त तस्बिर बैतडीको पुर्चौडी नगरपालिका स्थित नेपाल टेलिकमको टावरको भएको दाबी गरेका छन् । तर टेकपानाले तथ्यजाँच गर्दा उक्त टावर पुर्चौडी नगरपालिकाको नरहेको पाइएको छ । 

दाबी 

आइतबार बिहान ९:१५ मा फेसबुकमा “बिरही” नामक फेसबुक पेजले उक्त बाँसको टावरको फोटो सार्वजनिक गर्‍यो । फोटोको क्याप्सनमा लेखिएको छ, “बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा रहेको नेपाल टेलिकमको ५ जी टावर ।” पोस्ट आर्काइभ लिङ्क

यस्तै आइतबार राति ११:०६ मा “समृद्धि मिडिया” नामक फेसबुक पेजमा उक्त फोटो राख्दै लेखियो, “यस्ता पनि टावर बन्छन् नेपालमा: पुर्चौडी नगरपालिका भित्र बनेको 4G , 5G को टावर यस्तो छ । थाहा छैन कति घण्टा सम्म नेटवर्क दिन्छ यस्ले कति दीर्घकालीन छ यो । सरकारलाई गिज्ज्याइरहेको छ जनतालाई कतिको सेवा दिइरहेको छ ।” पोस्ट आर्काइभ लिङ्क । 

सोमबार बिहान ६:०५ मा “खगराज कँडेल” नामक फेकबुक पेजबाट पनि सोही फोटो सार्वजनिक भयो । फेसबुकमा सार्वजनिक उक्त पोस्टमा क्याप्सन लेखिएको छ, “बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा बाँसबाट बनाइएको नेपाल टेलिकमको टावर।” पोस्टआर्काइभ लिङ्क

यस्तै पुर्चौडीमा बाँसको टावर बनाएको दाबी गरिएका अनेकौँ पोस्टहरू सामाजिक सञ्जालमा भेटिएका छन् । 

तथ्यजाँच 

सामाजिक सञ्जालमा दाबी गरिए जस्तो ‘पुर्चौडी नगरपालिकामा नेपाल टेलिकमले बाँस प्रयोग गरेर टावर बनाएको हो त ?’ भनेर बुझ्न हामीले नेपाल टेलिकमको दूरसञ्चार कार्यालय बैतडीका प्रमुख नारायणदत्त भट्टलाई सम्पर्क गर्‍यौँ । उनले नेपाल टेलिकमले हालसम्म कतैपनि बाँस प्रयोग गरेर टावर नबनाएको बताए । 

उनलाई हामीले सामाजिक सञ्जालमा पुर्चौडीको भनेर दाबी गरेर तस्बिर पनि पठायौँ । उनले उक्त तस्बिर भाइबर ग्रुपहरूमा पनि आइरहेको बताए । तर, सो तस्बिर बैतडीको भनेर अफबाह मात्र फैलाइएको उनले बताए । 

भट्टका अनुसार पुर्चौडीमा नेटवर्कको समस्या भने पहिलेदेखि नै रहेको छ । यसको समाधानका लागि अन्य सरकारी निकायबाट नयाँ परियोजना नआएसम्म टेलिकमले केही गर्न सक्ने अवस्था नरहेको उनले बताए । उनका अनुसार पुर्चौडीका अधिकांश क्षेत्रमा सौर्य ऊर्जाको प्रयोग गरेर बत्ती बालिन्छ ।  तर, खराब मौसम भएर लामो समय घाम नलाग्दा नेटवर्कमा पनि समस्या आउने गरेको छ । 

त्यसैले टावर सञ्चालन गर्ने ठाउँमा विद्युत्‌को व्यवस्था भएमा मात्र नेटवर्कको समस्या कम हुने उनले बताए । उनले भने, “अस्ति सीडीओसँगको छलफलमा टावर भएका ठाउँसम्म नगरपालिका र विद्युत् प्राधिकरण मिलेर बत्ती पुर्‍याएमा नेटवर्कको समस्या कम गर्न सक्छौँ भनेका थियौँ । बैठकमा उहाँहरूले यसका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।”

यस्तै पुर्चौडी नगरपालिकाका प्रवक्ता धिरेन्द्रबहादुर बमले पनि नगरपालिकामा बाँसको प्रयोगबाट टेलिकमको टावर बनाइएको कुरामा सत्यता नरहेको स्पष्ट पारे । पालिकाभित्र नेटवर्कको समस्या रहेको स्विकार्दै पछिल्लो समयमा यसलाई कम गर्ने गरी काम भइरहेको उनले बताए । 

उनका अनुसार पुर्चौडी नगरपालिकाभित्र नेपाल टेलिकमको एउटा फोरजी टावरसहित तीन ओटा टावर सञ्चालनमा छन् । यस्तै दुई ओटा टावर निर्माण सम्पन्न हुने क्रममा रहेको उनले बताए । बमले टेकपानासँग भने, “एक हप्ता पहिले यही समस्या समाधानका लागि मेयर साबसहित हाम्रो टोली काठमाडौँ दूरसञ्चार कार्यालयमा पुगेका थियो। प्रदेश कार्यालयमा पनि गएर २५ मिटरको टावरहरू प्रदेशस्तरबाट बनाउन माग गरेका छौँ ।”

पानी परेर लामो समयसम्म घाम नलाग्दा सोलार नचल्ने भएकाले हाल मौसम खराब हुँदा नेटवर्कको समस्याहरू हुने गरेको उनले बताए । तर, बाँसको टावर बनाइएको भन्ने दाबी सत्य नरहेको उनले बताए । 

दूरसञ्चार प्रदायक संस्थाहरू नेपाल टेलिकम र एनसेलले नेपालका कुनैपनि स्थानमा बाँसबाट टावर बनाउने काम नभएको जानकारी दिएका छन् । बाँसबाट टावर बनाउने सम्भाव्यताको विषयमा पनि हालसम्म अध्ययन नभएको उनीहरूको भनाई छ । 

यस्तै हामीले गुगल रिभर्स इमेजमा उक्त फोटो सर्च गर्दा भारत, म्यानमार लगायतका देशमा पनि सोही फोटो सार्वजनिक भएको पायौँ । दार्जिलिङका “रित्ज वान्तावा राई”ले शुक्रबार दिउँसो १:१७ मा फेसबुकमा सोही तस्बिर सार्वजनिक गरेका छन् । हेर्नुहोस् उनको पोस्ट। उनले लेखेका छन्, “अस्तिदेखि जीओलाई टावर देउन भनेको आज पठाइदिएछ ।”

आसामी भाषामा आफ्नै टावर भन्दै शनिबार “बिपुल बास्तोट देका” नामक फेसबुक प्रयोगकर्ताले उक्त तस्बिर सार्वजनिक गरेका छन् । आसामी भाषालाई नेपालीमा भावानुवाद गर्दा यस्तो लेखेको पाइयो, “चाहिएको बेलामा नेटवर्क पाइँदैन । त्यही भएर आँगनमा नै नेटवर्क बनाएको छु ।”

यस्तै शुक्रबार दिउँसो ३:११ मा बर्मेली भाषामा “ओएसएच म्यानमार” नामक फेसबुक पेजले फेसबुकमा बर्मेली भाषामा स्टाटस लेख्दै उक्त तस्बिर राखेको छ । उक्त स्टाटसलाई नेपालीमा भावानुवाद गर्दा टामु भन्ने सहरमा उक्त टावर बनाएको दाबी गरिएको पाइयो । उक्त पोस्टमा लेखिएको छ, “टामू सहरमा फोन र इन्टरनेट वाईफाई सेवा बन्द भएको लगभग ५ महिना हुन लागिसकेको छ । त्यसैले जनतालाई सहज होस् भनेर स्थानीय शैलीमा नयाँ टावर निर्माण गरिएको छ। टामूका बासिन्दाहरू चाँडै फोन सञ्जालमा जोडिन सकुन् भन्ने शुभकामना। स्रोत: उ क्यौ थिन”

यस्तै, फेसबुक, गुगलमा बाँसको टावर, बाँसकी मिनार, Bamboo Tower, Tower, Jio Tower, Airtel Tower जस्ता किवोर्डहरू राखेर खोज्दा उक्त तस्बिरलाई विभिन्न देशका सामाजिक सञ्जाल प्रयोगकर्ताले आआफ्नो क्षेत्रको भनेर दाबी गरेका कयौँ पोस्ट भेटिए । केहीले उक्त फोटो जिओ टेलिकमको टावर भएको दाबी गरेका छन् भने केहीले एयरटेलको टावर भएको बताएका छन् । केही प्रयोगकर्ताले नेटवर्कको समस्या भएपछि स्थानीय सीपको प्रयोग गरेर उक्त टावर बनाएको बताएका छन् । 

गुगल रिभर्स सर्च गर्दा बिहीबार (२९ मे) बेलुका ७:५४ मा “अचिक मुसिकल” नामक फेसबुक आईडीबाट  सार्वजनिक गरेको फोटोभन्दा पहिले सार्वजनिक भएका पोस्टहरू फेला पर्न भने सकिएन ।

\

यस्तै उक्त तस्बिरसँग सम्बन्धित कुनै समाचारहरू पनि सार्वजनिक भएको भेटिएन ।  उक्त फोटो वास्तवमा कहाँको हो भन्ने पुष्ट जानकारी प्राप्त भएमा हामीले यही सामग्रीमा अपडेट गर्नेछौँ ।

तर, बङ्गलादेश र भारतमा प्रयोगमा छन् बाँसका टावर 

फोटोमा देखाइएको टावर कहाँको भन्ने यकिन नभए पनि बाँस प्रयोग गरेर टेलिफोन टावर बनाइएका दृष्टान्त भने भेट्न सकिन्छ  । बङ्गलादेशको ढाकामा सबैभन्दा पहिला बाँसबाट बनेको टावर प्रयोग गरिएको थियो ।

बङ्गलादेशको अङ्ग्रेजी भाषाको न्युज पोर्टल ‘द डेली स्टार’ ले २९ मे २०१७ मा बाँसबाट बनेको पहिलो टेलिकम टावरको बारेमा समाचार  लेखेको छ । उक्त समाचार अनुसार टावर व्यवस्थापन कम्पनी इडटकाले ढाकाको उत्तरी क्षेत्रस्थित एक घरको छतमाथि बाँसबाट बनेको पहिलो दूरसञ्चार टावर स्थापना गरेका हो ।

उक्त टावर बङ्गलादेश इन्जिनियरिङ तथा प्रविधि विश्वविद्यालयसँगको सहकार्यमा तयार पारिएको थियो । सो टावरसँग २१० किलोमिटर प्रतिघण्टाको दरले चल्ने हावाको बहाव झेल्न सक्ने क्षमता र १० वर्षसम्म भन्दा बढी आयु रहेको छ । 

यस्तै भारतको छत्तिसगढस्थित बेमेतरा जिल्लामा गत सेप्टेम्बरमा संसारकै सबैभन्दा अग्लो बाँसको टावर निर्माण गरिएको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार यसको उचाइ १४२ फिट र तौल ७ हजार ४०० किलोग्राम रहेको छ । टेलिफोन लगायतका प्रयोजनमा आउने गरी करिब ११ लाख भारुमा तयार पारिएको उक्त बाँसको टावरको आयु २५ वर्षसम्म रहने दाबीसहितको समाचार बिजनेस स्ट्यान्डर्डले लेखेको छ । 

दाबी

बैतडीको पुर्चौडी नगरपालिकामा नेपाल टेलिकमको बाँसको टावर राखियो । 

दाबीकर्ता 

“बिरही”, “समृद्धि मिडिया”, “खगराज कँडेल”, “जनक बोहोरा” लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य

विगत केही दिनदेखि एउटा बाँसको टावरको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त फोटोलाई बैतडीको पुर्चौडी नगरपालिकामा रहेको नेपाल टेलिकम टावर भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले शेयर गरिरहेका छन् । तर, टेकपाना तथ्यजाँचले यो तस्बिर पुर्चौडीको नभएको, भारत र म्यानमारमा पनि उक्त तस्बिर भाइरल भइरहेको फेला पारेको छ । तर यो तस्बिर कहाँको हो भनेर हालसम्म स्पष्ट भइसकेको छैन । 

निष्कर्ष 

फेसबुक लगायतका सामाजिक सञ्जालमा बैतडीको पुर्चौडी नगरपालिकामा नेपाल टेलिकमको बाँसको टावर बनाइएको दाबी गर्दै एउटा तस्बिर भाइरल भइरहेको छ । तर उक्त तस्बिर पुर्चौडीको भने होइन । पुर्चौडीमा नेटवर्कको समस्या भए पनि बाँसको टावर बनाउने काम भने नभएको नेपाल टेलिकमको दूरसञ्चार कार्यालय बैतडीका प्रमुख नारायणदत्त भट्ट र पुर्चौडी नगरपालिकाका प्रवक्ता धिरेन्द्रबहादुर बमले बताए । त्यसैले यो दाबी भ्रामक हो ।

भारत र म्यानमारका विभिन्न ठाउँको दाबी गर्दै बाँसको उक्त टावरको तस्विर त्यहाँका सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत शेयर गरिरहेका छन् । टेकपानाको खोजले यो फोटो विगत केही दिन यता मात्र सामाजिक सञ्जालमा भाइरल भएको देखियो ।

तर, भाइरल उक्त तस्बिर वास्तवमा कुन ठाउँको हो र कहिले खिचिएको हो भनेर एकिन गर्न सकिने कुनैपनि प्रमाण भने फेला पार्न सकिएन । यद्यपि बाँसको प्रयोग गरेर टावर बनाउने काम भने भएका छन् । सन् २०१७ मा पहिलो पटक बङ्गलादेशको ढाकामा बाँसको टावर बनाइएको थियो ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: जेठ २०, २०८२ १८:५७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट