काठमाडौँ । नेपाललाई आधार बनाएर अन्तर्राष्ट्रिय स्तरमा अवैध अनलाइन सट्टेबाजी (बेटिङ) सञ्चालन गर्दै आएको आरोपमा एक गिरोह पक्राउ परेको छ । बेटिङ खेलाएको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राति ललितपुरका विभिन्न स्थानबाट १२ नेपाली र पाँच भारतीय गरी १७ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाबाट पछिल्लो पाँच महिनामा मात्रै ८१ करोड नेपाली रुपैयाँ बराबरको कारोबार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार ललितपुरको नख्खुस्थित सनराइज अपार्टमेन्ट र धापाखेल क्षेत्रमा ठुलो मात्रामा अनलाइन बेटिङ भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो ।
उनका अनुसार यो गिरोहका मुख्य सञ्चालक भारतीय नागरिक हुन् भने नेपालीहरू नेपालमा रहेर स्थानीय व्यवस्थापन र ‘कमान्डर’को भूमिकामा थिए । “खास सञ्चालक भारतीय हुन् । यहाँ पक्राउ परेका नेपालीहरू नेपालतिरबाट कारोबार हेर्ने मध्येका यहाँको कमान्डर जस्तै हुन्,” आचार्यले टेकपानासँग भने ।
उनका अनुसार गिरोहले मुख्यतया भारतीय नागरिकलाई लक्षित गरी बेटिङ खेलाउने गरेको र त्यसका लागि सम्पूर्ण बैंक खाता पनि भारतीय नागरिककै नाममा प्रयोग भएको पाइएको छ । “सबै बैंक अकाउन्ट भारतीय अकाउन्ट नै प्रयोग भएका छन्, नेपालको एउटा पनि छैन,” एसपी आचार्यले थपे ।

यो गिरोह करिब पाँच महिनाअघि नेपाल आएको र यसअघि दुबईबाट यस्तै अवैध गतिविधि सञ्चालन गर्ने गरेको खुलेको छ । प्रहरीका अनुसार उनीहरूले हरेक चार-पाँच महिनामा आफ्नो काम गर्ने स्थान परिवर्तन गर्ने ‘रोटेसन सिस्टम’ अपनाएका थिए ।
“यो टिम पाँच महिना पहिले नेपाल आएको रहेछ, योभन्दा पहिला यिनीहरूले दुबईमा यही काम चलाउने रहेछन्,” एसपी आचार्यले भने, “अब यिनीहरूको पनि अरू चार-पाँच महिनापछि अन्यत्र सर्ने योजना रहेछ, रोटेसनमा हुँदो रहेछन् । यिनीहरूको खेलाउने ठाउँ श्रीलंका पनि छ ।”
पक्राउ परेका नेपालीहरू सुरुमा भिजिट भिसामा दुबई पुगेको खुलेको छ । त्यहाँ उनीहरू भारतीय सञ्चालकको सम्पर्कमा आएर बेटिङसम्बन्धी तालिम लिई काममा संलग्न भएका थिए । पछि त्यही समूह नै दुबईबाट नेपालमा ‘सरुवा’ भएर आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
“नेपालीहरू जागिरको रूपमा सुरुमा भिजिट भिसामा दुबई गए,” एसपी आचार्यले घटनाको ब्रिफिङ गर्दै भने, “त्यहाँ यो काम गराउने सञ्चालकसँग यिनीहरूको सम्बन्ध भयो, त्यसमा जोडिए, प्रशिक्षण लिएर काम गरे, त्यसपछि दुबईबाट यिनीहरूको टिम नै सरुवा भएर नेपालमा आयो ।”
हाल चलिरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितालाई लक्षित गरेर बेटिङको कारोबार बढेको देखिए पनि यो गिरोहले पहिलेदेखि नै यस्तो धन्दा चलाउँदै आएको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ । “आईपीएललाई टार्गेट गरेको भन्दा पनि यिनीहरू पहिलेदेखि नै खेलाइरहेका हुन्, अहिले संयोगले आईपीएल भएको बेलामा ट्रान्जेक्सन र बेटिङको रकम बढ्ने मात्र हो,” प्रहरी उपरीक्षक आचार्यले थपे ।
पक्राउ पर्ने नेपालीमा डाइमन्ड कुँवर, मनोज बोगटी, राजेन्द्रबहादुर महता, अरविनकुमार खड्का, विष्णुकुमार राउत, ठक्कर कुँवर, तिलक खड्का, जोर्डन भन्ने जीतबहादुर महतो, सुवास खड्का, विकास थापा, हर्कबहादुर खड्का र पूर्णबहादुर दर्लामी मगर रहेका छन् ।
त्यस्तै भारतीय नागरिकहरु ऋषभ राज, दिपककुमार सिंह, अंकितकुमार सिंह, धिरजकुमार सिंह र मोहितकुमार सिंह पक्राउ परेका छन् ।
पक्राउ परेका व्यक्तिहरूमाथि म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २०, २०८२ १७:४७
सामाग्री श्रोत :
टेक पाना