२०८२ जेष्ठ २३ बिहीबार
२०८२ जेष्ठ २३ बिहीबार

पाकिस्तानमा १७ वर्षीया टिकटक स्टारको घरमै गोली हानी ह*त्या

काठमाडौँ । पाकिस्तानकी चर्चित टिकटक स्टार सना युसुफको आफ्नै घरमा गोली हानी हत्या गरिएको छ । १७ वर्षीया युसुफको घटनास्थलमै मृत्यु भएको र यसबारे प्रहरीले अनुसन्धान गरिरहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार साँझ इस्लामाबादको जी–१३ सेक्टरमा रहेको युसुफको घरमा एक अज्ञात व्यक्ति प्रवेश गरी निकै नजिकबाट दुई गोली प्रहार गरेको बताइएको छ । छातीमा गोली लागेकी युसुफलाई तत्काल पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज लगिएकोमा डाक्टरहरूले मृत घोषणा गरेका थिए ।

स्थानीय प्रहरी अधिकारी मलिक आसिफले हत्यारा पहिलेदेखि चिनजानको व्यक्ति हुनसक्ने अनुमान गरेका छन् । घटनाको बेला सना युसुफकी आमा र काकी घरमै रहेको र १५ वर्षे भाइ गाउँ गएको बताइएको छ । आमाले हत्याराको पोशाक कालो सर्ट र पाइन्ट रहेको, शरीर सामान्य र उचाइ मध्यम रहेको बयान दिएकी छन् । 

सना युसुफको हत्या भएको केही समयपछि उनको अन्तिम इन्स्टाग्राम भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त भिडिओमा उनी जन्मदिनको केक काट्दै साथीहरूसँग रमाइरहेकी देखिन्छिन् । यो भिडिओ नै उनको अन्तिम साझा क्षण बन्यो ।

चितरालकी युसुफ सामाजिक सञ्जालमार्फत चर्चामा आएकी थिइन् । टिकटकमा उनका करिब आठ लाख फलोअर थिए भने इन्स्टाग्राममा झन्डै पाँच लाख फलोअर थिए । उनी प्रायः हास्य र प्रेरणादायी भिडिओ, महिला अधिकार, सांस्कृतिक पहिचान र शैक्षिक सन्देशहरू प्रस्तुत गर्थिन् । आमा सामाजिक अभियन्ता भएकाले युसुफले सामाजिक मुद्दामा पनि सक्रिय आवाज उठाउने गर्थिन् ।

घटनापछि सामाजिक सञ्जालमा #JusticeForSanaYousaf ट्रेन्डिङ भएको छ । प्रयोगकर्ताहरूले दोषीको खोजी गरी न्याय दिलाउन माग गरेका छन् ।

यसअघि पनि पाकिस्तानमा सामाजिक सञ्जाल प्रयोगका कारण महिलाहरू हिंसाको सिकार भएका छन् । गत जनवरीमा क्वेटामा एक बुवाले टिकटकमा सक्रिय भएकी आफ्नी छोरीको गोली हानी हत्या गरेका थिए ।

पाकिस्तानमा हाल पाँच करोड ४० लाखभन्दा बढी टिकटक प्रयोगकर्ता छन् । राज्यले केही समय टिकटक प्रतिबन्ध लगाए पनि अहिले कडा निगरानीसहित सशर्त सञ्चालनमा ल्याइएको छ । तर महिला कन्टेन्ट क्रियटरको सुरक्षाका विषयमा उठेका प्रश्नहरूको उत्तर भने अझै अस्पष्ट देखिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ २०, २०८२ २०:५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट