काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले भिजिट भिसा प्रकरणमा हालसम्म आफूलाई १२ सयभन्दा बढी पीडितका प्रमाण प्राप्त भएको दाबी गरेका छन् । मंगलबार संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै उनले पीडितहरूले मोबाइल नम्बर, सामाजिक सञ्जाल, ईमेल लगायतका माध्यममार्फत रकम बुझाएको प्रमाण पठाएको बताए ।

“हामीले एक प्रकारको क्याम्पेन नै चलाएका थियौं । त्यसपछि मेरोमा मात्रै १२०० भन्दा बढी प्रमाण आएका छन् । सांसदहरू शिशिर खनाल, सोविता गौतम र मनिष झाले पनि यस्तै प्रमाण प्राप्त गर्नुभएको छ,” उनले भने ।
आफूले पाएको प्रमाणमा दुबई, कुवेतजस्ता खाडी मुलुक जान भिजिट भिसा प्रयोग गरेर दलालमार्फत नगद वा बैंकमार्फत रकम बुझाएको विवरण रहेको उनले खुलाए । दलालहरूलाई बुझाइएको रकमका ट्रान्जेक्सन विवरणसमेत प्राप्त भएको दाबी गर्दै उनले अनुसन्धानले ती कारोबारको जरो पत्ता लगाउने तर्क गरे ।
“दिनमा करोडौंको र्याकेट चलिरहेको छ । त्यस्तो अवस्थामा हामीसँग प्राप्त प्रमाणहरू अनुसन्धानको आधार बन्न सक्छन्,” उनले भने ।

गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीको नाम यस प्रकरणमा मुछिएपछि रास्वपा लगायत प्रतिपक्षी दलहरूले लेखकको राजीनामा माग गरिरहेका छन् । “यस प्रकरणको जड गृह मन्त्रालयमै रहेको देखिन्छ । त्यसैले गृहमन्त्रीले पद छोडेर निष्पक्ष छानबिनमा सहयोग गर्नुपर्छ,” ढकालले भने ।
उनले भिजिट भिसा प्रकरणको गाम्भीर्यता बुझ्दै उच्चस्तरीय छानबिन आयोग गठनको माग पनि दोहोर्याए । “पीडितहरूले प्रमाणसहित भिडिओ, फोटो, रकमी कारोबारका कागजातहरू पठाएका छन् । यसमा कुनै पनि बहानाबाजी नचली गहिरो छानबिन हुनैपर्छ,” उनले भने ।
“ठगी र मानव तस्करीको यस्तो जालोमा संलग्नलाई कारबाही नभएसम्म संसद र सडकमा निरन्तर आवाज उठाइनेछ,” उनले थपे ।
पछिल्लो अध्यावधिक: जेठ २०, २०८२ १४:४९
सामाग्री श्रोत :
टेक पाना