काठमाडौं- निजामती कर्मचारी अस्पतालमा कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडाको प्रत्यारोपण गर्ने सेवा सुरु भएको छ। मुख्यसचिव एकनारायण अर्यालले सोमबार ‘नेभिगेसन सिस्टम फर नी आर्थोप्लाष्टी’ सेवाको सोमबार औपचारिक उद्घाटन गरेका छन्।
‘नेभिगेसन सिस्टम फर नी आर्थोप्लाष्टी’ सेवाको उदघाटनपछि मुख्यसचिव अर्यालले नयाँ प्रविधिसहितको उपचार सेवा विस्तार गरेर बिरामीका लागि राम्रो काम गरेको बताए। उनले अन्य अस्पतालमा नभएको प्रविधि निजामती अस्पतालमा हुनु खुसीको कुरा भएको पनि बताए।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मुख्यसचिव अर्यालले अस्पतालले उत्कृष्ट सेवा दिएका कारण नै आमनागरिकहरुको रोजाइमा समेत परेको जानकारी दिए।
अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले आफूले निर्देशक हुने समयमा पेश गरेको कार्ययोजना अनुसार नै अस्पतालमा काम अगाडि बढाइरहेको जानकारी दिए। उनले आगामी दिनमा पनि अस्पतालमा थप नयाँ सेवा सुविधाहरु थप गर्दै लैजाने बताए।
अस्पतालका घुँडा प्रत्यारोपण विशेषज्ञ डा सुमनबाबु मरहठ्ठाले कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडा प्रत्यारोपण गर्नु नेपालका लागि ऐतिहासिक भएको जानकारी दिए।’यो प्रविधिले घुँडा प्रत्यारोपण सेवालाई अझ प्रभावकारी बनाउनेछ। घुँडा खिइएका, बुढ्यौली, चोटपटकलगायतका घुँडाको जोर्नी बिग्रिएमा बिरामीहरुले जोर्नी प्रत्यारोपण गर्नुपर्छ। परम्परागत उपचार प्रविधिभन्दा यो निकै सहज र राम्रो छ,’ उनले भने।
सामाग्री श्रोत :
swasthyakhabar

