काठमाडौं- नेकपा (एमाले) निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको नयाँ कार्यसमिति चयनमा विवाद भएको छ।
मातृ पार्टी एमालेका नेताहरुले महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु आफूखुसी घोषणा गरेपछि विवाद उत्पन्न भएको हो।
महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा जाने तयारीमा अधिकांश प्रतिनिधि तयार रहेको समयमा एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकाल र स्वास्थ्य तथा जनसंख्या विभागका इन्चार्ज कृष्णगोपाल श्रेष्ठले अध्यक्ष लगायतका पदाधिकारी र कार्यसमिति सदस्यहरुको नाम भनेपछि हलमा सहभागी प्रतिनिधिहरुले विरोध गर्दै नेताहरुले घोषणा गरेको नाम अस्वीकृत गरेका हुन्।
नेताहरुले महासंघको अध्यक्षमा डा सन्तोष पौडेल, महासचिव भिमराज सिंह, अमृता बराल र रामहरी ढकाल उपाध्यक्ष लगायतका नामहरु घोषणा गरेपछि एमाले पार्टी कार्यालय च्यासलमा सहभागी महासंघका प्रतिनिधिहरुले अस्वीकृत गरेका हुन्।
महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले मातृ पार्टीबाट हस्तक्षेप भएको भन्दै महासंघको नयाँ कार्यसमिति चयन निर्वाचनबाट नै हुनुपर्ने निर्णय गरेका छन्। बहुमत प्रतिनिधिले निर्वाचनमा जाने निर्णय गरेपछि यतिबेला महासंघमा नयाँ कार्यसमिति चयनका लागि मतदान लगायतका आवश्यक प्रक्रिया अगाडि बढेको छ।
नेताहरुले नाम पढ्नुअघि डा सन्तोष आफैंले भने उपाध्यक्षमा उम्मेदवारी दिएका थिए।
महासंघ नेपालको अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको थियो। डा झलक गौतम, रामहरि ढकाल, जगत नेपाली, भिमराज सिंह र त्रिलोक चन्द्र गुरुङले उम्मेदवारी दिएका छन्।
एक महिलासहित दुई उपाध्यक्ष पदमा निवर्तमान महासचिव डा सन्तोष पौडेल, पुष्पराज खनाल, रुपा केसी, शारदा खनाल, अन्जु बस्नेतले उम्मेदवारी दिएका छन्।
महासचिव पदमा निवर्तमान उपमहासचिव अमृता बराल र निवर्तमान निर्वाचन आयोगका अध्यक्ष रहेका मदन ओलीले उम्मेदवारी दिएका छन्। उपमहासचिव पदमा अनुप केसी र खगराज पोखरेलले उम्मेदवारी दिएका छन भने सचिव पदमा डा प्रशान्त आचार्य, चन्द्र सुनार, प्रकाश सेवा, डा धर्मेन्द्र यादव, सिद्ध ढुंगाना, सुशील शाही, कुरान अलि ठकुराइ, हरिलाल आचार्य, राजकुमार पौडेल गरी ९ जनाको उम्मेद्वारी परेको छ ।
सामाग्री श्रोत :
swasthyakhabar

