जनकपुर– कान्ति बाल अस्पतालको आयोजना तथा वल्ड चाइल्ड क्यान्सर र टुगेदर अगेन्स्ट चाइल्डहुड क्यान्सरको सहयोगमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरमा दुईदिने सेयर्ड केयर सेन्टर स्थापना तालिम सम्पन्न भएको छ।
जेठ १२ र १३ गते भएको तालिमको प्रमुख अतिथि मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या सचिव राजेन्द्रकुमार मिश्र थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सचिव मिश्रले भने, ‘यस्ता कार्यक्रमले बाल क्यान्सरका बिरामीको उपचार सहज र छरितो हुने तथा आर्थिक भार कम हुने विश्वास छ।’
कार्यक्रमको अध्यक्षता गरेका अस्पताल निर्देशक डा जामुन प्रसाद सिंहले बाल क्यान्सर उपचार कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक प्रावधानहरू व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।
तालिममा कान्ति बाल अस्पतालका बाल क्यान्सर विशेषज्ञ डा सुधीर सापकोटा र डा सनि सिपाई तथा स्टाफ नर्स वन्दना अधिकारी र कञ्चन देवकोटाले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
यसैगरी, जेठ १४ गते बाल प्रशामक स्याहार सम्बन्धी एकदिने तालिम पनि सम्पन्न भएको छ। उक्त तालिममा डा सुधीर सापकोटा र नर्स वन्दना अधिकारीलाई नेपालका प्रथम बाल प्रशामक स्याहार चिकित्सक डा विप्लव घिमिरेले सहजीकरण गरेका थिए।
दुवै तालिममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल रोग विभागमा कार्यरत चिकित्सक र नर्सहरूको सहभागिता रहेको थियो। यस्ता तालिमले बाल क्यान्सर उपचार र स्याहारमा गुणस्तरीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

