
काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार गर्दै युवावर्गलाई डिजिटल सेवामा सशक्त बनाउने उद्देश्यले नेपाल टेलिकमले विद्यार्थी लक्षित निःशुल्क सिमकार्ड वितरण अभियान सञ्चालनमा ल्याएको छ । विशेषगरी, एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरू तथा ब्रिजकोर्स सञ्चालन गर्ने शैक्षिक संस्थाहरूमा अध्ययनरत युवाका लागि यो कार्यक्रम जारी राखिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो अभियान सिमकार्ड वितरणमा मात्र सीमित नभई डिजिटल सचेतना अभिवृद्धि गर्नेतर्फ केन्द्रित एक रणनीतिक प्रयास पनि हो । टेलिकमले विभिन्न सरकारी तथा वित्तीय कामकाज जस्तै; राष्ट्रिय परिचयपत्र बनाउँदा, बैंक खाता खोल्दा वा चलाउँदा, सवारी चालक अनुमतिपत्रको आवेदन दिँदा, नागरिक एपमा दर्ता हुँदा तथा सरकारी सेवामा ओटीपी आवश्यक पर्ने कामहरूमा सम्पर्क नम्बरको रुपमा आफैंको नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्नुपर्ने आवश्यकता उल्लेख गर्दै विद्यार्थीहरूलाई आफ्नै नाममा सिमकार्ड लिन प्रेरित गरेको छ । यसबाट उनीहरू जिम्मेवार डिजिटल नागरिक बन्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
यस अभियानअन्तर्गत निःशुल्क प्रदान गरिने सिमकार्डसँगै डेटा, भ्वाइस कल सुविधा र एसएमएसजस्ता सेवा प्याकेजहरू समावेश गरिएका छन् । साथै, एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि विशेष ‘एसईई अफर’ पनि यही सिमकार्डमार्फत सिधै सक्रिय गर्न सकिने व्यवस्था गरिएको छ ।

यो अभियान देशभरका विभिन्न ब्रिजकोर्स तथा अन्य शैक्षिक संस्थाहरूमा समेत चरणबद्ध रूपमा सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । नेपाल टेलिकमले सम्बन्धित शैक्षिक संस्थाहरूमा पुगेर सिमकार्ड वितरणका साथै विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उपलब्ध अफरबारे जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ ११:३३
सामाग्री श्रोत :
टेक पाना