काठमाडौँ । एआई तथा मसिन लर्निङ प्लेटफर्म हगिङ फेसले दुई नयाँ रोबोट बजारमा ल्याउने घोषणा गरेको छ । यीमध्ये एउटा मानवरूपी (humanoid) रोबोटको मूल्य लगभग तीन हजार डलर (चार लाख रुपैयाँ हारहारी) मात्रै हुनेछ ।

हगिङ फेसले फ्रान्सेली रोबोटिक्स कम्पनी ‘द रोबोट स्टुडियो’ सँगको सहकार्यमा ‘होपजेआर’ (HopeJR) नामक ओपन सोर्सको मानवरूपी रोबोट बनाएको हो । यो रोबोट अन्य प्रतिस्पर्धी कम्पनीका रोबोटभन्दा निकै सस्तो छ ।
युनिट्री (Unitree) को जी१ रोबोटको मूल्य १६ हजार डलर र एलन मस्कको टेस्लाको अप्टिमस जेन २ (Optimus Gen 2) मानवरूपी रोबोटको मूल्य कम्तीमा २० हजार डलर पर्ने अनुमान गरिएको छ ।
हगिङ फेसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्लेम डेलान्ग्युले भनेका छन्, “महत्त्वपूर्ण कुरा के हो भने यी रोबोटहरू ओपन सोर्समा आधारित छन् । यसले गर्दा जो कोहीले पनि यसलाई जोड्न, फेरि बनाउन र यसले कसरी काम गर्छ भनी बुझ्न सक्छन् ।”

होपजेआरमा ६६ भन्दा बढी स्वतन्त्र डिग्री अफ फ्रिडम छन्, जसको अर्थ यसले हिँड्न र वस्तुहरू समात्न सक्छ । यद्यपि, यसमा स्वचालित (अटोनमस) हिँडडुलको सुविधा भने देखिँदैन । एउटा भिडिओमा यसलाई मानिसले टाढैबाट नियन्त्रण गरिरहेको देखिन्छ।
Meet HopeJr, a full humanoid robot lowering the barrier to entry!
Capable of walking, manipulating many objects, open-source and costs under $3000 🤯
Designed by @therobotstudio and @huggingface 👇 pic.twitter.com/wCwo8YPOGV
— Remi Cadene (@RemiCadene) May 29, 2025
एआई परीक्षणका लागि डेस्कटप रोबोट ‘रिची मिनी’
हगिङ फेसले ‘रिची मिनी’ (Reachy Mini) नामक अर्को रोबोट पनि बनाएको छ । जुन डिज्नीको चर्चित एनिमेटेड फिल्म ‘वाल-ई’ (Wall-E) को पात्रजस्तो देखिन्छ । यो पनि ओपन सोर्समै आधारित छ । यसलाई एआई एप्लिकेसनहरू परीक्षण गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
रिची मिनी एउटा डेस्कटप युनिट हो । यसले बोल्न, सुन्न र टाउको हल्लाउन सक्छ । यसको मूल्य २५० देखि ३०० डलरसम्म पर्ने अनुमान गरिएको छ।
जेनरेटिभ एआई क्रान्तिको गतिले रोबोटिक्सको क्षेत्रमा नयाँ चासो बढाइरहेको समयमा यी सस्ता रोबोट आएका छन् । यद्यपि, मानवरूपी रोबोटहरूलाई वास्तविक संसारमा विश्वसनीय रूपमा प्रयोग गर्न अझै केही प्राविधिक चुनौतीहरू समाधान गर्न बाँकी छन् । उदाहरणको रूपमा युनिट्रीको जी१ रोबोटको ब्याट्री दुई घण्टासम्म मात्र चल्छ ।
हगिङ फेसले यी दुई रोबोट कहिलेबाट उपलब्ध हुनेछन् भन्नेबारे निश्चित समयसीमा दिएको छैन । सीईओले होपजेआर र रिची मिनी किन्नका लागि वेटलिस्ट खुला रहेको बताएका छन् ।
पछिल्लो समय, हगिङ फेसले रोबोटहरूलाई शक्ति दिने विभिन्न एआई मोडलहरू र थ्रीडी-प्रिन्ट गर्न मिल्ने रोबोटिक हातहरू पनि ल्याएको छ । यसै वर्षको सुरुमा कम्पनीले फ्रान्समा रहेको मानवरूपी रोबोटिक्स कम्पनी ‘पोलन रोबोटिक्स’ लाई पनि खरिद गरेको खबर छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ ७:१०
सामाग्री श्रोत :
टेक पाना