काठमाडौं । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभर सार्वजनिक सवारी साधन ग्यारेजमै थन्किएका छन् । अनिश्चितकालीन यातायात बन्दको घोषणा भएसँगै विशेष गरी काठमाडौं उपत्यकामा सार्वजनिक सवारी ठप्प हुँदा यात्रुहरू गन्तव्यमा पुग्न निकै सास्ती खेपिरहेका छन् ।

राजधानीका सडकहरूमा सार्वजनिक बस नचल्दा बिहानैदेखि स्कुल जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी र अस्पताल जाने बिरामीहरू प्रभावित भएका छन् । वैकल्पिक सवारी साधन कम हुँदा हिँडेरै यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ ।
यता, यातायात व्यवसायीहरूले भने सरकार र ट्राफिक प्रशासनद्वारा भइरहेको ‘दमन’ र ‘अत्याचार’विरुद्ध आन्दोलन गर्नुपरेको बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अन्तर्गत अरनिको बस इकाइ कमिटीका सदस्य राजन गिरी भन्छन्, ‘नेपाल सरकारले हामीलाई दमन गरिरहेको छ । ट्राफिक र प्रहरी प्रशासनले व्यवसायी तथा मजदुरमाथि ज्यादती गर्दै आएका छन् अहिले हामी एकजुट भएर सडकमा उत्रन बाध्य भएका हौं ।’

उनको भनाइमा सरकारले पठाओ लगायतका राइड सेयरिङ सेवामाथि नियन्त्रण गर्नुपर्ने माग पनि छ ।
त्यस्तै, यातायात व्यवसायी अर्जुन श्रेष्ठले आन्दोलन आफ्नो अस्तित्वको रक्षाका लागि भएको बताए । ‘हामी यातायात व्यवसायी भएनौं भने राज्य नै चल्दैन,’श्रेष्ठले भने, ‘सरकार र प्रहरी प्रशासनको दमनविरुद्ध हाम्रो यो आन्दोलन जारी रहनेछ । वार्ताले समाधान निकाल्दैन भने आन्दोलन थप चर्किन्छ ।’
हालसम्म सरकार र संघर्ष समितिबीच औपचारिक वार्ता भने सुरु भइसकेको छैन । यात्रुहरु भने तत्काल सेवा पुनः सञ्चालन गरियोस् भन्ने अपेक्षामा छन् ।
सामाग्री श्रोत :
यातायात बन्द : यात्रु सास्तीमा, व्यवसायी भन्छन्, ‘दमन र ज्यादतीविरुद्धको संघर्ष हो’