२०८२ जेष्ठ २१ मंगलवार
LATEST NEWS
२०८२ जेष्ठ २१ मंगलवार

के हो सरकारले बजेट मार्फत अघि सारेको ‘नियो बैँक’ ?

काठमाडौँ । आजकल वित्तीय क्षेत्रमा ‘नियो बैंक’ (Neobank) भन्ने शब्द निकै सुनिन्छ । परम्परागत बैँकभन्दा फरक स्वरूपमा आएको यो कस्तो बैँक हो र यसले कसरी काम गर्छ भन्नेबारे धेरैलाई जिज्ञासा हुन सक्छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत आगामी आर्थिक वर्षभित्र नियो बैँक स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । ‘नियो बैँक’ स्थापना गर्ने घोषणा भएसँगै यो धेरैको चासोको विषय समेत समेत बनेको छ । आज हामी तपाईँलाई नियो बैँक के हो र यसले के-कसरी काम गर्छ भन्ने बारेमा बताउँदै छौँ:

के हो नियो बैँक ?

सरल भाषामा भन्नु पर्दा नियो बैँक भनेको भौतिक शाखा नभएका, पूर्ण रूपमा अनलाइन वा डिजिटल माध्यमबाट सञ्चालन हुने वित्तीय संस्था हुन् । यस्ता संस्थाले मोबाइल एप वा वेबसाइट जस्ता डिजिटल प्लेटफर्ममार्फत सबै प्रकारका बैङ्किङ सेवा प्रदान गर्छन् । यस्ता बैँकहरूले परम्परागत बैँकहरू (वाणिज्य बैँक, विकास बैँक) जस्तै वित्तीय सेवाहरू प्रदान गर्छन् । यिनीहरूलाई ‘फिनटेक बैँक’ वा ‘च्यालेन्जर बैँक’ पनि भन्ने गरिन्छ । किन कि नियो बैँकले परम्परागत बैँकलाई चुनौती समेत दिने गर्छन् ।

सरकारले आगामी आर्थिक वर्षमा नियो बैँक स्थापना गर्ने घोषणा गर्नुले नेपालको वित्तीय क्षेत्रमा डिजिटल रूपान्तरणलाई थप तीव्रता दिने सङ्केत गर्छ । यस घोषणाले बैङ्किङ सेवालाई अझ बढी मानिससम्म पुर्‍याउने र डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको देखिन्छ । अझै ठुलो जनसङ्ख्या यसबाट वञ्चित छ । नियो बैँकहरूले यो अन्तरलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ ।

नेपाल राष्ट्र बैँकले वित्तीय समावेशीकरण नीति, २०८१ मार्फत डिजिटल प्रविधिमा नवप्रवर्तन र डिजिटल वित्तीय सेवाको उपलब्धता, पहुँच र प्रयोग बढाउन प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ । नियो बैँक सम्बन्धी सरकारको घोषणालाई यही नीतिको एक हिस्साको रूपमा हेर्न सकिन्छ ।

परम्परागत बैँकभन्दा कसरी फरक छ नियो बैँक ?

नियो बैँकहरू पूर्ण रूपमा अनलाइनमा आधारित हुन्छन्, जसले गर्दा तिनीहरूको सञ्चालन खर्च कम हुन्छ । शाखा र जनशक्तिमा हुने ठुलो खर्च जोगिने भएकाले यस्तो बैँकले ग्राहकहरूलाई कम शुल्क वा राम्रो ब्याजदर उपलब्ध गराउन सक्छन् ।

यस्ता वित्तीय संस्था मूलतः प्रविधिमा आधारित हुन्छन् । जसले प्रयोगकर्ता अनुभव सहज बनाउँछ र सेवाहरू वास्तविक समयमा उपलब्ध हुन्छन् । परम्परागत बैँकहरूभन्दा यिनले कम शुल्क लिने र बचत खातामा उच्च ब्याज दर दिने हुन्छ ।

बजेटिङ, खर्च ट्य्राकिङ र बचत लक्ष्यहरू सेट गर्न सहयोग गर्ने उपकरणहरू पनि यस्ता संस्थाले प्रदान गर्छन् । धेरै नियो बैँकहरूले फ्रिल्यान्सर, साना तथा मझौला व्यवसाय , युवा वा कम बैँकिङ पहुँच भएका विशेष ग्राहक वर्गलाई लक्षित गरी सेवा दिन्छन् । डेटा र प्रतिक्रियाको आधारमा नियो बैँकले नयाँ सुविधाहरू छिट्टै ल्याउन सक्छन् ।

नियो बैँककै नाममा छुट्‍टै लाइसेन्स जारी नभए पनि इसेवा, फोनपे, खल्तीजस्ता डिजिटल वालेट तथा सेवा प्रदायक कम्पनीका साथै बैँक र केही फिनटेक कम्पनीहरूले नियो बैँकजस्तै सेवाहरू प्रदान गर्न थालेका छन् । धेरै बैँकहरूले आफूलाई डिजिटल बैँकमा रूपान्तरण गर्न आवश्यक पूर्वाधारमा लगानी समेत गरिरहेका छन् ।

नियो बैँकहरूले विभिन्न चुनौतीहरूको पनि सामना गर्नुपर्ने हुन सक्छ । जस्तै नाफा कमाउनु, परम्परागत बैँकहरूका लागि बनाइएका नियमनकारी प्रावधानहरूसँग अनुकूल हुनु, साइबर सुरक्षा र स्थापित बैँकहरूको तुलनामा ग्राहकको विश्वास जित्नु आदि । भौतिक शाखा नहुँदा नगद व्यवस्थापनमा समस्या हुने गरेको विश्वका केही बैँकको उदाहरणबाट देखिन्छ ।

नेपालमा डिजिटल साक्षरता प्रवर्द्धनका चुनौती पनि रहेका छन् । जसमा प्रविधिमा पहुँच, न्यून साक्षरता, ग्रामीण क्षेत्रमा पूर्वाधार अभाव, भाषागत समस्या र आर्थिक स्थिति आदि हुन सक्छन् । साइबर सुरक्षाका लागि दक्ष जनशक्तिको अभाव, नियमित परीक्षणको कमी र साइबर आक्रमणको बढ्दो परिष्कृत प्रविधि नेपालका बैँकहरूमा मुख्य समस्याका रूपमा देखिएका छन् ।

नियो बैँक डिजिटल युगको मागअनुसार उदाएको नयाँ वित्तीय संस्था हो, जसले प्रविधिको प्रयोग गरी बैङ्किङ सेवालाई अझ पहुँचयोग्य, किफायती र सुविधाजनक बनाइरहेको छ । सरकारले नियो बैँक स्थापना गर्ने घोषणा गर्नुले नेपालमा पनि औपचारिक रूपमा यस्ता बैँकहरूको प्रवेशका लागि मार्ग प्रशस्त गरेको छ, जसले वित्तीय समावेशिता र डिजिटल अर्थतन्त्रलाई थप टेवा पुर्‍याउने अपेक्षा गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ ७:४८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट