काठमाडौं— सरकारले उपत्यकाका थप तीन ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्रलाई दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको हो । यी क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा उल्लेख छ ।
यसअघि नारायणहिटी संग्रहालय आसपास क्षेत्रलाई प्रशासनले निषेधित क्षेत्र घोषणा गरिसकेको छ । पछिल्लो समय राजसंस्था पुनस्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाललगायत विभिन्न राजावादी दल र समूहले अनिश्चितकालीन आन्दोलन घोषणा गरेपछि प्रशासनले प्रदर्शन गर्ने क्षेत्रलाई खुम्च्याउँदै लगेको हो ।
राजावादी दल तथा समूह जेठ १५ देखि आन्दोलनमा छन् । आइतबार पनि उनीहरुले नक्साल-नारायणचौर क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यसक्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ । थापालाई भेट्न गएका राप्रपा सांसद दीपकबहादुर सिंहलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भद्रकालीस्थित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको छ ।

काठमाडौंका प्रजिअ तिवारीले निषेधित क्षेत्र तोकिएबाहेक प्रशासनको समन्वयमा हुने कार्यक्रमको हकमा सोहीअनुसार समन्वय गरिने बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ