काठमाडौँ । हालै सामाजिक सञ्जालमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सार्वजनिक शौचालयको लोगो परिवर्तन गरेको भन्दै एउटा पोस्ट भाइरल बनिरहेको छ । टिकटकमा ‘स्वाटस्नाइपर१’ नामक प्रयोगकर्ताले शनिबार यस्तो दाबी सहितको सामग्री पोस्ट गरेका थिए । टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचमा यो मिथ्या सूचना भएको खुलेको छ । राजनीतिक दलका शीर्ष नेताहरूको आलोचना गर्न भ्रामक पोस्ट बनाएको देखिन्छ ।

दाबी
शनिबार, ३१ मार्च २०२५ टिकटकमा ‘swatsniper1’ युजरनेम भएका प्रयोगकर्ताले क्याप्सनमा #बालेनशाह र #बालेनफरमेयर राख्दै भिडिओ राखेका छन् । भिडिओको सबैभन्दा माथि ‘मेयर बालेन शाह द्वारा शौचालयको नयाँ लोगो र फोटो सार्वजनिक’ लेखिएको छ । तलपट्टि फोटोमा ‘सार्वजनिक शौचालय चिनाउन प्रयोग हुने बोर्ड’ मेयर शाहले हातमा लिएर अगाडि राखेको देखिन्छ । बोर्डमा भने महिलाको ठाउँमा काङ्ग्रेस नेतृ एवम् पराराष्ट्र मन्त्री डा. आर्जु राणा र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो राखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा साढे १९ हजार बढी लाइक, ११०० बढी कमेन्ट, ४५८ शेभ, १५६२ शेयर र ४ लाख २२ हजार भ्युज पुगेको छ । हेर्नुहोस् ओरिजिनल लिंक, अर्काइभ लिंक र स्क्रिनशट ।
अनुसन्धान

टिकटकमा पोस्ट आएको फेला परेपछि टेकपाना फ्याक्टचेक डेस्कले अनुसन्धान सुरु गर्यो । त्यस क्रममा सोही फोटो फेसबुकमा ‘मनिश जङ्ग कार्की’ले ‘लु जा त … सार्वजनिक शौचालय …महिला, पुरूष’ राखेका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, अर्काइभ पोस्ट र स्क्रिनशट ।
त्यस्तै ‘एकथरीको भनाई’ नामक फेसबुक पेजले ‘फोटो सहितको शौचालय’ क्याप्सन राख्दै पोस्ट राखेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, अर्काइभ पोस्ट र स्क्रिनशट ।
त्यसैगरी फेसबुकमा ‘भट्टी गफ’ नामक फेसबुक पेजले पनि सोही फोटो राखेको छ । ‘काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सार्वजनिक शौचालयको फोटो सहितको लोगो सार्वजनिक गरेका छन् ’ पेजले क्याप्सनमा लेखेको छ । सो पोस्टमा ५७४ बढी रियाक्सन, २० कमेन्ट र १५ शेयर भएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, अर्काइभ पोस्ट र स्क्रिनशट ।
यस बाहेक अन्य फेसबुक पेजले पनि सोही फोटो राखेको फेला पर्यो । ‘शैचालय’, ‘सौचालय’, ‘बालेन’ जस्ता कीवर्ड फेसबुकमा खोज्दा यस्ता पोस्ट भेटिन्छन् ।
यसरी भाइरल भइरहेको देखिएपछि टेकपाना फ्याक्टचेक डेस्कले फोटो विश्लेषण गर्न थाल्यो । फोटोमा मेयर शाहले हातमा लिएको बोर्डको ‘प्रतिबिम्ब’ टेबुलमा देखिएको छ । प्रतिबिम्बमा मन्त्री राणा र प्रधानमन्त्री ओलीको फोटो देखिन्छ । तर, त्यो प्रतिबिम्ब स्वाभाविक देखिँदैन ।
यसैलाई लिएर कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले काठमाडौँ मेयर बालेनप्रति आक्रोश पोख्दै कमेन्ट लेखिरहेका देखिन्छन् । केहीले भने काम ‘राम्रो’ भन्दै उनको प्रशंसा पनि गरिरहेका छन् ।
फोटो डाउनलोड गरेर गुगलमा रिभर्स इमेज सर्च गरी हेर्दा ६ जुन २०२२ मा मेयर शाहले आफ्नै एक्स ह्यान्डलमा फोटो शेयर गरेको फेला पर्यो । उनले ‘काठमाडौँ महानगरपालिकाले होटेल, रेस्टुरेन्ट, बैँक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेका छन् ।’ उक्त क्याप्सनसहित मेयर शाहले सार्वजनिक शौचालयको बोर्ड समातेको फोटो राखेका थिए ।
आधिकारिक फोटोमा महिलाको ठाउँमा महिलाको आइकन र पुरुषको ठाउँमा पुरुषको आइकन देखिन्छ ।
त्यस बाहेक ‘सार्वजनिक शौचालय’ किवर्ड राखेर समाचार खोज्दा पछिल्लो समय काठमाडौँ महानगरपालिकाले लोगो फेरेको भन्ने समाचार फेला पार्न सकिएन । महानगरपालिकाको वेबसाइटमा रहेको ‘सार्वजनिक शौचालय’को सेक्सनमा राखिएको लोगो पनि पहिलेकै यथावत् छ । महानगरपालिका र बालेनको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमा कतै पनि लोगो परिवर्तन भएको पोस्ट फेला परेनन् ।
यी सबै पक्षलाई विश्लेषण गर्दा फोटो एडिट गरी महिला र पुरुषको आइकन हटाएर त्यसको ठाउँमा मन्त्री राणा र प्रधानमन्त्री ओलीको फोटो राखेको देखिन आउँछ ।
दाबी
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सार्वजनिक शौचालयको लोगो परिवर्तन गरी परराष्ट्रमन्त्री डा. आरजु राणा र प्रधानमन्त्री ओलीको फोटो राखे ।
दाबीकर्ता
‘स्वाटस्नाइपर१’ नामको टिकटक आईडी, ‘भट्टी गफ’, ‘एक थरीको भनाई’, ‘मनिश जङ्ग कार्की’ लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ।
तथ्य
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सार्वजनिक शौचालयको लोगो परिवर्तन गरेका छैनन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको फोटो एडिट गरी तयार पारिएको हो ।
निष्कर्ष
टेकपाना फ्याक्टचेक डेस्कले गरेको विस्तृत तथ्यजाँच र काठमाडौँ महानगरपालिकाका वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल लगायतका स्रोतबाट प्राप्त जानकारीअनुसार मेयर बालेन्द्र शाहले सार्वजनिक शौचालयको लोगो परिवर्तन गरेका छैनन् । काठमाडौँ महानगरपालिका वा मेयर बालेन्द्र शाहको सचिवालयबाट सार्वजनिक शौचालयको लोगो परिवर्तन गरिएको कुनै पनि आधिकारिक सूचना, निर्णय वा घोषणा हालसम्म सार्वजनिक भएको छैन । काठमाडौँ महानगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक शौचालयमा पहिलेदेखि प्रयोग हुँदै आएको लोगो नै यथावत् छ । नयाँ लोगो प्रयोगमा ल्याइएको छैन । टेकपाना फ्याक्टचेकका अनुसार भाइरल भएको पोस्ट राजनीतिक दलका शीर्ष नेताहरूप्रति असन्तुष्टि व्यक्त गर्ने मनसायले सिर्जना गरेको देखिन्छ । यी सबै तथ्यबाट मेयर शाहले सार्वजनिक शौचालयको लोगो परिवर्तन गरी शीर्ष दलका राजनीतिज्ञको फोटो राखेको भन्ने दाबी पूर्णतः मिथ्या भएको पुष्टि हुन्छ ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ १५:१४
सामाग्री श्रोत :
टेक पाना