काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापासहितका सांसदहरूले चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थलगत अध्ययन भ्रमण गरेका छन् ।

शुक्रबार र शनिबार भएको भ्रमणमा सांसदहरू देवेन्द्र पौडेल, छविलाल विश्वकर्मा, महेन्द्र कुमार राय, रामप्रकाश चौधरी, सरिता भुसाल र ज्ञानु बस्नेत सुवेदी सहभागी थिए । उनीहरूले विश्वविद्यालयको अनुसन्धान प्रयोगशाला अवलोकन गर्नुका साथै विद्यार्थी र प्राध्यापकहरूसँग अन्तर्क्रिया गरेका थिए ।
भ्रमणका क्रममा सांसदहरूले डिजिटल प्रविधि, जैविक स्रोत, च्याउ खेती, प्लान्ट प्याथोलोजी र दिगो पूर्वाधारसम्बन्धी अनुसन्धान कार्यबारे जानकारी लिए । विश्वविद्यालयका संयोजक डा. भुषण श्रेष्ठसहित विभिन्न अनुसन्धानकर्ताहरूले आफ्ना गतिविधि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष राजेन्द्र ध्वज जोशीले अनुसन्धानमैत्री नीति आवश्यक रहेको बताए । उनले जीडीपीको ०.४ प्रतिशत उच्च शिक्षामा र ०.४ प्रतिशत अनुसन्धानमा लगानी गर्नुपर्ने सुझाव दिए । हाल विश्वविद्यालयले पीएचडी तथा स्नातकोत्तर तहका विद्यार्थीलाई मासिक ३० हजार रुपैयाँसम्मको छात्रवृत्ति दिँदै आएको छ ।

पूर्व शिक्षामन्त्री समेत रहेका सांसद देवेन्द्र पौडेलले विश्वविद्यालयको प्रगतिमा सन्तोष व्यक्त गर्दै राष्ट्रको अनुसन्धान नीतिमा मदन भण्डारी विश्वविद्यालयले योगदान दिने अपेक्षा गरे । उनले चित्लाङ जस्तो स्थानमा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण बनाउन सकिने बताए ।
सांसद छविलाल विश्वकर्माले अनुसन्धानमा संलग्न विद्यार्थी र प्राध्यापकको प्रतिबद्धता प्रशंसायोग्य रहेको बताए ।
यात्राका क्रममा चित्लाङ पुग्ने गणेशमान सिंह राजमार्गको दुरावस्थाबारे सांसदहरूले सरोकारवाला निकायको ध्यानाकर्षण गराउने बताए ।
सभापति थापाले विश्वविद्यालयले लिएको अनुसन्धानमुखी दिशा सराहनीय रहेको भन्दै कृषि उत्पादनलाई नागरिकस्तरसम्म पुर्याउने उद्देश्यसहित अघि बढ्न आग्रह गरे ।
पछिल्लो अध्यावधिक: जेठ १७, २०८२ २१:३१
सामाग्री श्रोत :
टेक पाना