
ताप्लेजुङ। नेपाली कांग्रेसका नेता नैनसिंह महरले संविधानमाथि हमला गर्न खोज्नेविरुद्ध कांग्रेस एकजुट हुनुपर्ने बताएका छन्। संविधानलाई संकटमा पार्ने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले यस्ता गतिविधिको प्रतिवाद गर्नुपर्नेमा जोड दिए।
मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसद्वारा आयोजित कार्यक्रममा नेता महरले समावेशी अधिकारसहितको संविधान कांग्रेसकै नेतृत्वमा निर्माण भएको स्मरण गराउँदै त्यसको रक्षा गर्नु पार्टीको जिम्मेवारी भएको बताए।
‘समाजमा अराजकता मच्चाउन खोज्ने शक्तिहरूलाई समावेशी नेपालको अवधारणा मन परेको छैन,’ उनले भने, ‘जनजाति, दलित, महिलाले पाएको संवैधानिक अधिकार सहन नसकेर ती शक्ति संविधान संशोधनको नाममा वर्तमान व्यवस्थालाई नै संकटमा पार्न लागिपरेका छन्।’
राजावादीहरूको गतिविधितर्फ संकेत गर्दै नेता महरले संविधानको रक्षाका लागि अब सोच्ने र स्पष्ट आवाज उठाउने बेला आएको उल्लेख गरे। ‘नेपाली कांग्रेस संविधानको रक्षा गर्न चाहन्छ, दलित, महिला र जनजातिलगायतका समुदायको अधिकार खोसिएको हेर्न चाहँदैन’, उनले भने।
नेतृत्वमा रहेका कोहीकसैबाट साननतिना गल्ती हुन सक्ने स्वीकार गर्दै नेता महरले त्यो आधारमा सम्पूर्ण पार्टीलाई दोष दिनु उचित नहुने बताए। स्थानिक उत्पादनलाई प्रवर्द्धन गर्दै समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै उनले समावेशी विकास र आर्थिक समानता कांग्रेसको मुख्य प्राथमिकता भएको बताए। लोकतान्त्रिक अभ्यासलाई झुपडीबाट पनि नेतृत्व चयन हुने प्रणालीका रूपमा अझ सुदृढ गर्न कार्यकर्ताबीच ऐक्यबद्धता आवश्यक रहेको उनको भनाइ थियो।
सामाग्री श्रोत :
संविधानमाथि हमला गर्न खोज्नेविरुद्ध कांग्रेस एकजुट हुनुपर्छ: नेता महर
खोटाङ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको सुनिश्चितताका निम्ति आफू क्रियाशील रहेको बताएका छन्।
किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ-जायजुममा आज आयोजित बृहत् साकेला प्रदर्शनीमा उनले जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू पनि किरात समुदायसँगै रहेको बताए। ‘नेपाली काँग्रेसले सँधै द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने गर्छ। संविधानसभाबाट संविधान बन्ने समयमा मैले पहिचान, समावेशी र समानुपातिक प्रतिनिधित्वको कुरा उठाएको थिएँ। अहिले संविधानमा यी विषयहरु समेटिएका छन्’, उनले भने, ‘सबै जाति, धर्म र संस्कारको समान अधिकार हुनुपर्छ। एकले अर्कालाई सम्मान गरेमा मात्र सभ्य समाज निर्माण गर्न सकिन्छ।’
फरक सन्दर्भमा नेता कोइरालाले वर्तमान गठबन्धन सरकारलाई असफल हुने छुट नरहेको बताए। उनले भने, ‘सुशासन, सहज एवं पारदर्शी रुपमा सेवा प्रवाह, रोजगारी सिर्जना तथा आर्थिक सुधारमा ध्यान दिनुपर्छ। जनअपेक्षाअनुसारका धेरै काम गर्न जरुरी छ।’
जिल्लास्थित पार्टीका कार्यकर्तासँग अन्तरक्रियासमेत गरेका नेता कोइरालाले नेपाली कांग्रेसले सरकारको नेतृत्व नगरेसम्म देश अगाडि बढ्न नसक्ने बताए। उनले पार्टीको १५ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिरभित्रै सम्पन्न गराउन आफूहरु लागिपरेको जानकारी दिए।
सामाग्री श्रोत :
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापासहितका सांसदहरूले चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थलगत अध्ययन भ्रमण गरेका छन् ।
शुक्रबार र शनिबार भएको भ्रमणमा सांसदहरू देवेन्द्र पौडेल, छविलाल विश्वकर्मा, महेन्द्र कुमार राय, रामप्रकाश चौधरी, सरिता भुसाल र ज्ञानु बस्नेत सुवेदी सहभागी थिए । उनीहरूले विश्वविद्यालयको अनुसन्धान प्रयोगशाला अवलोकन गर्नुका साथै विद्यार्थी र प्राध्यापकहरूसँग अन्तर्क्रिया गरेका थिए ।
भ्रमणका क्रममा सांसदहरूले डिजिटल प्रविधि, जैविक स्रोत, च्याउ खेती, प्लान्ट प्याथोलोजी र दिगो पूर्वाधारसम्बन्धी अनुसन्धान कार्यबारे जानकारी लिए । विश्वविद्यालयका संयोजक डा. भुषण श्रेष्ठसहित विभिन्न अनुसन्धानकर्ताहरूले आफ्ना गतिविधि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष राजेन्द्र ध्वज जोशीले अनुसन्धानमैत्री नीति आवश्यक रहेको बताए । उनले जीडीपीको ०.४ प्रतिशत उच्च शिक्षामा र ०.४ प्रतिशत अनुसन्धानमा लगानी गर्नुपर्ने सुझाव दिए । हाल विश्वविद्यालयले पीएचडी तथा स्नातकोत्तर तहका विद्यार्थीलाई मासिक ३० हजार रुपैयाँसम्मको छात्रवृत्ति दिँदै आएको छ ।
पूर्व शिक्षामन्त्री समेत रहेका सांसद देवेन्द्र पौडेलले विश्वविद्यालयको प्रगतिमा सन्तोष व्यक्त गर्दै राष्ट्रको अनुसन्धान नीतिमा मदन भण्डारी विश्वविद्यालयले योगदान दिने अपेक्षा गरे । उनले चित्लाङ जस्तो स्थानमा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण बनाउन सकिने बताए ।
सांसद छविलाल विश्वकर्माले अनुसन्धानमा संलग्न विद्यार्थी र प्राध्यापकको प्रतिबद्धता प्रशंसायोग्य रहेको बताए ।
यात्राका क्रममा चित्लाङ पुग्ने गणेशमान सिंह राजमार्गको दुरावस्थाबारे सांसदहरूले सरोकारवाला निकायको ध्यानाकर्षण गराउने बताए ।
सभापति थापाले विश्वविद्यालयले लिएको अनुसन्धानमुखी दिशा सराहनीय रहेको भन्दै कृषि उत्पादनलाई नागरिकस्तरसम्म पुर्याउने उद्देश्यसहित अघि बढ्न आग्रह गरे ।
पछिल्लो अध्यावधिक: जेठ १७, २०८२ २१:३१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं। नेपाल सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय युवा परिषद्ले देशभरका युवा व्यवसायीहरूलाई एउटै संरचनामा आबद्ध गर्दै ‘राष्ट्रिय युवा उद्यमी सञ्जाल’ गठन गरेको छ।
सञ्जालको उद्देश्य युवा उद्यमशीलता प्रवर्द्धन गर्नु, नीति निर्माण प्रक्रियामा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्नु र व्यावसायिक गतिविधिमा संलग्न युवाहरूबिच सहकार्यको वातावरण तयार गर्नु रहेको छ।
गठन भएको सञ्जालको अध्यक्षमा सुशील पराजुली सर्वसम्मत चयन भएका छन्। पराजुली विगत लामो समयदेखि ई–कमर्स क्षेत्रमा संलग्न व्यवसायी हुन्।
अध्यक्षमा चयनपछि पराजुलीले युवाको व्यावसायिक संघर्षलाई संस्थागत आवाज दिने र देशभित्रै अवसर सिर्जना गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘व्यवसाय केवल पैसा कमाउने माध्यम होइन, यो राष्ट्र निर्माणको एउटा बलियो खम्बा हो। अब समय आएको छ, हामी युवाले नीति बनाउने तहमा पुगौं।”
सञ्जालमा तीन उपाध्यक्षहरू चयन भएका छन्। ई–कमर्स क्षेत्रमा सक्रिय युवा व्यवसायी राजकुमार अधिकारी, होटल तथा होस्टल व्यवसायमा क्रियाशील उद्यमी मनिष जंग शाही, र शैक्षिक परामर्श, भाषा तालिम तथा ट्राभल कम्पनी सञ्चालन गर्दै आएका सुदीप राज पुरी उपाध्यक्ष पदमा चयन भएका हुन्।
त्यस्तै, सचिव पदमा शिक्षा परामर्श क्षेत्रमा संलग्न आदर्श दाहाल चयन भएका छन्। दाहाल युवामाझ नेतृत्वदक्षता र सक्रियताका लागि परिचित छन्। सह–सचिवमा अनुज धिताल, कोषाध्यक्षमा सर्मीला खनाल र सह–कोषाध्यक्षमा सुरेन्द्र अधिकारी चयन भएका छन्।
सञ्जालको कार्यसमितिमा सदस्यका रूपमा संकर खनाल, राज तामाङ, सन्दिप केसी, इन्दिरा लोहनी, सुरेन्द्र गुरुङ, रबिन शाह, रेसम कट्वाल , प्रदीप लामिछाने र कल्पना बराल रहेका छन्।
सञ्जालको कार्यकाल दुई वर्षको रहनेछ। सञ्जाल गठन तथा पदाधिकारी चयनको अवसरमा आयोजित समारोहमा राष्ट्रिय युवा परिषदका बोर्ड सदस्य विनोद कुमार शाही, प्रमुख प्रशासनिक अधिकृत गेहनाथ गौतम, उपसचिव चन्दा थापा, शाखा अधिकृत रमेश भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
सामाग्री श्रोत :
राष्ट्रिय युवा उद्यमी सञ्जाल गठन, अध्यक्षमा सुशील पराजुली चयन
काठमाडौँ । मोबाइल सेवा प्रदायक एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लिग अफ क्रिएटर्स’ नामक अभियान सुरु गरेको छ । देशभर छरिएर रहेका नयाँ तथा भावी डिजिटल कन्टेन्ट क्रिएटरलाई पहिचान र सशक्तीकरण गर्ने लक्ष्यका साथ यो अभियान सुरु गरिएको हो ।
‘Create. Compete. Conquer.’ भन्ने नारासहित सुरु गरिएको यस अभियानले ‘माई नेटवर्क, माई कनेक्टिभिटी’ विषयवस्तुमा आधारित सामग्री प्रस्तुत गर्न इच्छुक डिजिटल क्रिएटरलाई आफ्नो प्रतिभा देखाउने प्लेटफर्म प्रदान गर्नेछ ।
यस प्रतियोगितामार्फत सहभागीहरूले आफूलाई चिनाउने मात्र नभई एनसेलसँग १० लाख रुपैयाँबराबरको एक वर्षे ब्रान्ड डिल जित्ने अवसर समेत प्राप्त गर्नेछन् । प्रतियोगीलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फुडी नेपाल, पराक्रम राणा, एकता तण्डुकार लगायतले मेन्टरशिप प्रदान गर्नेछन् ।
एनसेलकी मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भनिन्, “यो केवल प्रतियोगिता नभई एक सिर्जनात्मक विकास यात्रा हो । जहाँ मेन्टरशिप, कार्यशालाहरू, अभ्यासका अवसर, चुनौतीपूर्ण चरणहरू र रोमाञ्चक पुरस्कारहरू छन् । नेपाली डिजिटल क्रिएटरलाई अगाडि बढ्न, सिक्न र प्रभावशाली सामग्रीमार्फत परिवर्तन ल्याउन सशक्त बनाउने उद्देश्यका साथ यो अभियान ल्याएका हौं ।”
प्रतियोगिताका लागि दर्ता प्रक्रिया जेठ १८ गतेदेखि खुला गरिनेछ । १६ वर्षभन्दा माथिका सबै नेपाली डिजिटल क्रिएटरले सहभागिता जनाउन सक्ने उनले जानकारी दिइन् ।
सहभागीले ३० देखि ९० सेकेन्डको भर्टिकल भिडिओ तयार गरी टिकटक र इन्स्टाग्राम दुवैमा पोस्ट गर्नुपर्नेछ । भिडिओले आफ्ना नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक अनुभव झल्काउनुपर्नेछ । पोस्ट गर्दा @Ncell लाई ट्याग गर्नुपर्नेछ र #TeamSanjog, #NcellLeagueOfCreators2025 जस्ता ह्यासट्यागहरू प्रयोग गर्नुपर्नेछ । भिडिओ पोस्ट गर्ने अन्तिम म्याद २७ जेठ रहेको छ ।
देशभरिबाट प्राप्त भिडिओमध्येबाट उत्कृष्ट ५० जना क्रिएटर छानिनेछन्, जसलाई पाँच जना मेन्टरको नेतृत्वमा पाँच समूहमा विभाजन गरिनेछ । यी समूहले एनसेल आइकन अन्तर्गत आयोजना हुने कार्यशालामा भाग लिनेछन् । कार्यशालापछि ‘च्यालेन्ज राउन्ड’ हुनेछ । उक्त राउन्डमा सहभागीहरूले प्राप्त सिर्जनात्मक ब्रिफिङ अनुसार सामग्री तयार पार्नेछन् र विज्ञ निर्णायकहरूले त्यसको मूल्यांकन गर्नेछन् ।
‘लिग अफ क्रिएटर्स’ को ग्रान्ड फिनाले १४, असार २०८२ मा आयोजना हुनेछ । जहाँ उत्कृष्ट प्रतिभाहरूलाई सम्मान गरिनेछ भने मुख्य विजेताको घोषणा हुनेछ । मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षे ब्रान्ड डिल प्राप्त गर्नेछन् । साथै, नेपालका शीर्ष क्रिएटरहरूसँग विशेष प्रशिक्षण, देशव्यापी पहिचान र नेटवर्किङका अवसरहरू पनि प्रतियोगिताका विशेष आकर्षणहरू हुन् ।
साथै एनसेल र अमेरिकी दूतावासका प्रतिनिधिहरूले प्रतियोगी सामग्रीको मूल्यांकन गर्ने बताइएको छ । प्रतियोगिताबारे थप जानकारी र सहभागी बन्न यो लिङ्कमा क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: जेठ १७, २०८२ २०:५९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले लडेर ल्याएको गणतन्त्रबाट पछाडी फर्कन सम्भव नरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निरङ्कुश हुकुमी शासन व्यवस्थालाई अन्त्य गर्दै जनताले लडेर ल्याएको गणतन्त्रबाट पछाडी फर्कन सम्भव नरहेको बताएका हुन् ।
प्रधानमन्त्रीलाई लखेट्छौँ भनेको शान्तिपूर्ण त होला ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अढाइ सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो ? अहिले हामी कहाँ पुगेका छौँ भन्ने बुझ्न आग्रह गरे ।
उहाले राजतन्त्र पक्षधरहरुले पहिला दिन पैसा दिएको मान्छे ल्याएको भन्दै दोस्रो र तेस्रो दिन मान्छेहरु घट्दै गएको जिकिर गरे । अब राजतन्त्र फर्काउने नभइ देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउनेबाटोमा अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
उनले अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन खोजे लात्ताले हान्न सक्ने जिकिर गरे । प्रधानमन्त्री ओलीले संविधानभन्दा माथि बसेर पैत्रिक सम्पत्ति थुपार्ने फेरि राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने धारणा राखे ।
आफूले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्न उभिनुपर्ने उल्लेख गर्दै उनले प्रणालीमा केही कुरा फेर्न परे यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी फेर्ने उल्लेख गरे । उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओली चिकात्सा क्षेत्रकाे महत्व मान्छेको आयुसँग रहेकाले स्वास्थ्यकर्मीलाई सचेत रहन आग्रह गरेका छन्।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालकाे पाँचौ महाधिवेशन उद्घाटनमा बाेल्दै उनले स्वास्थ्यकर्मी पनि नागरिक भएकाले राष्ट्रिय दायित्वमा पनि लाग्न जोड दिए।
आफूले चिकित्सा क्षेत्रलाई श्रध्दा गर्ने बताए। उनले भने, `भगवानमा विश्वास गर्नेहरुको म चित्त दुखाउन चाहान्न तर मैले डक्टर र नर्सहरुले कठिन स्थिपतमा पनि विरामी जादुमयीरुपमा मान्छेलाई बचाएको देखेको छु । त्यस कारण म त भन्छु, डक्टरर्स आर द ग्रेटर द्यान द गर्डस् ।´
बिरामी भएमा उपचार गर्ने त छँदैछ, त्यो भन्दा पहिला विरामी हुन नदिन लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सस्तो र सजिलोसँग कसरी राम्रो उपचार दिन सकिन्छ भन्ने भावना बोक्न आग्रह गरे।
चिकित्सा विज्ञान यो तहमा नपुगेको भए र अस्पताल नभएको भए आफ्नो बिसौँ वार्षिक पुण्यतिथि सकिइसकेको हुने बताउँदै प्रधानमन्त्री ओलीले भने, `आज स्वास्थ्य क्षेत्रले असाधारण विकास गरेको छ । हामीले प्रतिरोधभन्दा अगाडि निरोधात्मक सचेतनामा लाग्नुर्छ । यस महासंघले भूमिका खेल्न सकोस् ।´
सामाग्री श्रोत :
swasthyakhabar
पाटन (ललितपुर)। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा कर्मचारीको क्षमताअनुसार परिचालन गरेमा न्यायपालिकाले उचित लाभ हासिल गर्ने बताएका छन्।
न्यायपालिका अधिकृत समाजको आज ललितपुरमा आयोजित पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा अधिकृत समाजलाई संस्थागत उन्नयन र सामूहिक एकतामा आधारित रहेर काम गर्ने क्षमता मिलोस् भनी शुभकामना व्यक्त गरे। देशभरिका अधिकृतले अपनत्व लिनसक्ने संस्थाको रूपमा अधिकृत समाज विकास हुनुपर्ने उनको भनाइ छ।
न्यायपालिकामा क्रियाशील अधिकृतमा व्यवस्थापनदेखि प्रशासकसम्म समन्वय गर्नसक्ने भूमिका रहेने बताउँदै राउतले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न सबै न्यायालयका कर्मचारीलाई आग्रह गरे। ‘अधिकृत न्यायपालिकाको आधारस्तम्भ हो, यसको आधारमा सुधार गर्दै जानु जरुरी छ। मर्यादित, प्रतिष्ठित र निष्ठावान् न्यायपालिकाको कर्मचारी हुँदा सबैको शिर उँचो हुन्छ, यसमा ध्यान दिनुहुन मेरो आग्रह छ’, उनले भने।
मुद्दा फर्छ्यौट, पेसी व्यवस्थापनमा उत्साह र क्रियाशीलता आवश्यक रहेको बताउँदै उनले संसदीय समितिमा दुई वर्षभित्र दुई वर्षभन्दा बढी अवधिका मुद्दा शून्यमा झार्ने प्रतिबद्धता जनाएकाले सो उपलब्धि हासिल गर्न समन्वय र सहयोग गर्न सबैलाई अनुरोध गरे।
प्रधानन्यायाधीश राउतले अधिकृत समाजले संस्थागत उन्नयन र सामूहिक एकताका आधारित रहेर काम गर्नुपर्नेमा जोड दिँदै न्याय क्षेत्रमा काम गर्ने अधिकृत समग्र न्यायपालिकाको ऐना भएकाले सोहीअनुसार कार्यसम्पादन गर्नुपर्ने धारणा राखे। न्याय क्षेत्र गरिमामय सेवा भएको बताउँदै उनले न्याय सेवाका कर्मचारीप्रति राष्ट्र र समाजले विश्वास गर्ने भएकाले हामी इमान्दार र निष्ठावान् हुनुपर्नेमा जोड दिए।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्यायपालिकाको गरिमा उच्च राख्न मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले संविधानले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच शक्ति सन्तुलन कायम गरेको जनाउँदै यसको गरिमालाई उच्च राख्न न्यायपालिका इमान्दार र पारदर्शी हुनुपर्ने धारणा राखे।
न्यायपालिका अधिकृत समाजका संस्थापक अध्यक्ष न्यायाधीश विनोद शर्माले न्यायपालिकाको मेरुदण्ड अधिकृत भएको भन्दै अधिकृत मजबुत भए मात्रै न्यायसम्पादन सहज हुने बताए। अधिकृतले आफ्नो आवाज प्रतिविम्बित गर्ने उपयुक्त माध्यम अधिकृत समाज रहेको उनको भनाइ छ।
सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकालले न्यायपालिकामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अधिकृतले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै तार्किक निष्कर्षमा पु¥याउने काम अधिकृतको भएको जानकारी दिए। उनले न्यायपालिकाका अधिकृतले काम र निष्ठाले न्याय सम्पादनलाई प्रभावकारी बनाउनुपर्ने भन्दै अधिकृतहरू न्यायपालिकाको कर्मशील व्यक्तित्व भएका धारणा राखे।
सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले न्यायसेवा क्षेत्रको कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले न्यायपालिका अधिकृत समाजको स्थापना भएको जानकारी गराउँदै अवसरमा भन्दा पनि जिम्मेवारीलाई ध्यान दिएर लगनशीलतापूर्वक काम गर्न सबै कर्मचारीलाई आग्रह गरे।
न्यायपरिषद्का सचिव यमबहादुर बुढाले ज्ञान, सीप र क्षमतालाई अधिकतम उपयोग गर्न न्यायपालिकाले ध्यान दिनुपर्ने बताए। उनले न्यायपालिकामा आउने सेवाग्राहीलाई सहज र शीघ्र, निष्पक्ष, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गरेर सकारात्मक छाप छोड्नुपर्नेमा जोड दिए।
सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले साधारणसभाले भावी नेतृत्व चयन गर्दै कर्मचारीमा आपसी सद्भाव र समन्वय कायम गर्न मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरे।
न्यायपालिका अधिकृत समाजका अध्यक्ष बाबुराम दाहालले न्यायपालिकाको निष्ठा र गरिमालाई उच्च राख्न सधैँ प्रयास गरिरहने प्रतिबद्धता जनाए। महासचिव अशोककुमार क्षेत्रीले विसं २०६५ मा स्थापित यस समाजको पाँचौँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन हुने जानकारी दिए।रासस
सामाग्री श्रोत :
‘कर्मचारीलाई क्षमताअनुसार परिचालन गरेमा उचित लाभ हासिल गर्न सकिन्छ’
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट अझै विनियोजन गर्न नसकेको बताएका छन् ।
नुवाकोटको सूर्यगढी गाउँपालिका- ३ स्थित वागेश्वरी माध्यमिक विद्यालयको हीरक जयन्तीलाई सम्बोधन गर्दै उनले अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा जोडबल गरेकै कारणले शिक्षा विधेयक संसदमा पेश भएको बताए ।
उनले शिक्षकहरूसँग भएको सहमतिअनुसार नै शिक्षा विधेयक पारित गर्नुपर्ने बताए । सरकारको नेतृत्वमा भएकाहरूले जनताको भावनालाई बुझेर काम नगर्दा जनतामा आक्रोश देखिएको उनको भनाइ छ ।
प्रचण्डले भने, ‘जनतामा देखिएको असन्तुष्टि र आक्रोश गणतन्त्रप्रति होइन । कतिपय नेताहरूले भ्रष्टाचारीको संरक्षण, विभेद गर्नेलाई संरक्षण गर्न खोजेको देख्दा जनता वाक्क छन् । आर्थिक समृद्धि जनअपेक्षाअनुसार हुन सकेको छैन, तर जनतामा देखिएको आक्रोश गणतन्त्रप्रति होइन, नेता र नेतृत्वहरूको कारणले हो ।’
उनले नेपाली जनता पछि हटेर फेरि वंशवादी, नेपाललाई गरिब देश बनाउने, हत्या र बलात्कार गर्नेहरूले फेरि आएर देश बनाउँछन् भन्ने कुरामा कुनै सत्यता नभएको दाबी गरे ।
उनले शान्ति सम्झौता र गणतन्त्रका पक्षधर एक ठाउँमा आएर खबरदारी गर्नेबित्तिकै राजावादीहरूको केही नरहने बताए ।
प्रचण्डले गणतन्त्रवादी नेताहरूको कारणले प्रश्न उठेको भए पनि राजावादीहरूबाट कुनै खतरा नभएको दाबी गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्ने `स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ सात जनालाई प्रदान गरिएको छ।
विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा उक्त अवार्ड प्रदान गरिएको हाे। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अवार्ड प्रदान गरेका हुन्।
पुरस्कार प्राप्त गर्नेमा सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणकाे कानुन निर्माणमा महत्त्वपूर्ण याेगदान गरेका भाइटल स्ट्राटेजी दक्षिण पूर्वी एसियाका निर्देशक डा तारासिंह बम, अनुसन्धानकर्ता लक्ष्मीनारायण देव, मेडिकल पत्र डटकमका सम्पादक बुद्धि कट्टेल, क्यान्सर काउन्सिल नेपालका रूद्र कडरिया, हेल्थ टिभी अनलाइनकी सम्पादक कल्पना आचार्य, नेपाली हेल्थ डटकमका सम्पादक, रामप्रसाद न्यौपाने, अनलाइनखबर डटकमका पत्रकार पुष्पराज चौलागाईंलाई सम्मान गरिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनिकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएकाहरूलाई सम्मान गर्दै आएकाे छ।
सामाग्री श्रोत :
swasthyakhabar